देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानमन्त्री देउवाले गलाए प्रचण्डलाई, को-कस्ता खेलाडी ?

0

काठमाडौं – प्रमुख प्रतिपक्षी एमालेद्वारा रोस्ट्रममा नारावाजी। सत्ता गठबन्धनकै सांसदहरूबाट विरोध। तापनि अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी आइतबार प्रतिनिधिसभाबाट बहुमतले अनुमोदन। यो प्रक्रियामा चार राजनीतिज्ञको मुख्य भूमिका रह्यो। यसमा प्रधानमन्त्री शेरबहादुर देउवा बलिया सावित भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली रणनीतिक हिसाबले अघि देखिएका छन्। माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कमजोर र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल पछुवा देखिएका छन्।

विश्लेषक लोकराज बराल एमसीसीको विषयमा देउवाको अडान प्रशंसायोग्य भएको बताउँछन्। ‘म पास गराएरै छोड्छु तिमीहरू गए जाऊ नभनेको भए यो पास नै हुँदैन थियो। म त देउवालाई स्यावास भन्छु’, विश्लेषक बराल भन्छन्।

दाहाल र नेपाल ‘यु टर्न’ हुनुपर्ने अवस्था आउनु दुर्भाग्य भएको उनको भनाइ छ। ‘उनीहरूले सुरुवातदेखि नै मध्यमार्गी बाटो अपनाएको भए आज यसरी लतारिएर पास गर्छु भन्नु त पर्दैन थियो। हिजो यो राष्ट्रघाति भने, अहिले आफैंले भोट हाल्नु पर्‍यो,’ उनी भन्छन्, ‘कसैको लहै लहैमा लागेर नेगेटिभ हुँदा यो दसा भयो।’

नेताको यही चरित्रका कारण राजनीतिक विकृत भएको उनको भनाइ छ। यो मामिलामा  डा. बाबुराम भट्टराई जिम्मेवार नेताका रूपमा लिएको उनको भनाइ छ।
ओलीले पनि आफूले दर्ता गरेको प्रस्तावको विषय स्पष्ट धारणा नराख्नुलाई राम्रो भन्न नसिकने उनी बताउँछन्। ‘ओलीको खोचे थाप्ने कुरा गलत हो,’ उनी भन्छ्न्, ‘आफूले दर्ता गरेको प्रस्ताव स्पष्ट धारण राख्नुपथ्र्यो।’

देउवा : बलिया 
प्रधानमन्त्री देउवा आँटिलो र संसदीय राजनीतिका माहिर खेलाडी मानिन्छन्। आँटेको पुर्‍याएरै छोड्ने नेताका रूपमा स्थापित छन। भलै, परिणाम जस्तोसुकै होस्। सर्वोच्चको परमादेशबाट गत असारमा प्रधानमन्त्री बने। एमसीसी संसद्बाट अनुमोदन गराएरै छाड्ने एकसूत्रीय अभियानमा लागे। त्यसका लागि असहमति राख्ने सत्ता साझेदार दलको संगत छाडन तयार भए। बरु एमालेसँग काँध मिलाउन अघि सरे। अन्ततः गठबन्धनकै दलबाट नयाँ जुक्ति निकालियो– एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा। यसले माओवादी केन्द्र र एकीकृत समाजवादीमा ‘भुइँचालो’ ल्याएको छ। राष्ट्रिय जनमोर्चाले त विपक्षमै मतदान गर्‍यो। तापनि देउवाले खेल जिते।

गठबन्धनमा सहमति नजुटेपछि देउवाले एमालेसँग सहकार्यको पहल गरेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटक–पटक वार्ता गरे। एकातिर गठबन्धनमा भित्रि तयारी, अर्कोतिर विपक्षीसँग पनि सहकार्यको ‘समानान्तर सहकार्य’को पहल जारी नै राखे। तर, न गठबन्धनको विश्वास थियो न विपक्षी एमालेको भर। आफूलाई जसले साथ दिन्छ उसँग सहकार्य गर्ने र साथ नदिनेलाई बीच बाटोमा छोड्न तयार भए।

उनले कांग्रेस महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेतालाई संवादमा खटाइरहे। एमसीसीका पक्षमा नउभिने भए सत्ता छोड्न गठबन्धनका नेताहरूमाथि दबाब बढाइरहे। ओलीलाई पनि उनका मागमा सकारात्मक रहेको सन्देश प्रवाह गरिरहे।  अन्तिममा माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीकै पक्षमा उभिए। देउवाले एमालेलाई पनि बीचमै छोडे। सुरुमा जस्तोसुकै शर्त मान्न तयार भएजस्तो व्यवहार देखाए। तर, एमसीसी अनुमोदन गर्न ‘संसद्को ढोका खोलिदिन’ एमालेले राखेको माग त्यसै लत्याइदिए।

अमेरिकाले एमसीसी अनुमोदन गर्न फागुन १६ गतेसम्मको समयसीमा तोकेको थियो। संसद्ले एक दिनअगावै अनुमोदन गरेको छ।

रणनीतिक खेलाडी ओली 
एमाले अध्यक्ष ओली एमसीसी अनुमोदनमा रणनीतिक खेलाडीका रूपमा देखिएका छन्। कांग्रेसले आफ्ना माग पूरा गरे एमसीसीका पक्षमा मतदान गर्ने र गठबन्धन भत्किन सक्ने सन्देश दिन ओली सफल भए। देउवा र ओली मिल्न सक्ने त्रासले दाहाल र नेपाल एमसीसीका पक्षमा उभिन बाध्य भए। उनीहरूलाई एमसीसीभन्दा पनि गठबन्धन जोगाउनुपर्ने बाध्यता थियो।

ओली प्रधानमन्त्री हुँदा सरकारले एमसीसी संसद्मा दर्ता गरेको थियो। उक्त सम्झौताको विषयमा विरोध नगरे पनि ओलीले स्पष्ट धारणा भने ल्याएनन्। आफूले कारबाही गरेका १४ सांसदलाई कारबाहीको निक्र्योल नभएसम्म यो विषयमा धारणा बनाउन नसक्ने अडान लिइरहे। एमसीसीमा सहयोग माग्न आएका देउवालाई १४ सांसदलाई पदमुक्त गर्नुपर्ने, सभामुखले राजीनामा दिनुपर्ने र गठबन्धन भत्काउनुपर्ने अडान राखे।

देउवा र ओलीबीच छलफल तीव्र भएपछि दाहाल र नेपाल झस्किए। ‘मुख पनि नहेर्ने’ भन्दै आएका दाहाल ओलीलाई भेट्नै पर्ने अवस्थामा पुगे। उनको रणनीति नै दाहाल र नेपाललाई एमसीसीका पक्षमा मतदान गराउनु थियो। पुरानै नारा दिएर पार्टीका सांसदलाई नारावाजीमा उतारे। एमसीसीको पक्ष÷विपक्षमा पार्टीलाई मत हाल्न दिएनन्। यद्यपि, आफ्नै नेतृत्वको सरकारले संसद्मा दर्ता गरेको प्रस्तावमा मौनताप्रति कांग्रेसले प्रश्न उठाएको छ।

कमजोर खेलाडी प्रचण्ड 
माओवादी केन्द्र अध्यक्ष दाहालले एमसीसीबारे द्वैध चरित्र देखाए। आफूले एमसीसी मुख्यालयलाई पत्र पठाएर पार्टीमा भने एमसीसी विरोधी निर्णय गराए। प्रधानमन्त्रीसँग मिलेर एमसीसीलाई पठाएको पत्र सार्वजनिक भएपछि मात्रै दाहाल चेपुवामा परे। तर, त्यसपछि पनि एमसीसी अनुमोदन गर्न नहुने निर्णय संसदीय दलबाट गराए। एमसीसी जबर्जस्ती संसद्मा टेबल गरे सत्ता छोड्ने र एमसीसीका विपक्षमा मतदान गर्ने निर्णय गरी देउवालाई हच्काउन खोजे। तर, देउवा अघि बढ्ने देखेपछि एमसीसी पेस गर्न दिने निर्णय गराए। तर, त्यो निर्णयमा टिक्न सकेनन्। पार्टीभित्रै तीव्र विवाद र असन्तुष्टिबीच एमसीसीका पक्षमा मतदान गर्ने निर्णय गराए। त्यसका लागि व्याख्यात्मक घोषणाको सहारा लिए।

उनले सभामुख अग्निप्रसाद सापकोटा प्रयोग गरेर प्रतिनिधिसभा बैठक सारिरहन लगाए। दायित्वबाट च्यूत भएको भन्दै सभामुखको व्यापक आलोचना भयो। पार्टीको निर्णयविपरीत प्रस्ताव संसद्मा पेस गर्न दिन सहमत भए। तर, टेबल गर्नुपर्ने दिन अर्थमन्त्री जनार्दन शर्मालाई संसद्मा अनुपस्थित गराए।

माओवादी केन्द्रकै प्रमुख सचेतक देव गुरुङलाई टेबल गरेकोमा विरोध जनाउन लगाए। प्रवक्ता कृष्णबहादुर महरालाई विज्ञप्ति निकाल्न लगाएर टेबल गरेको भन्दै आपत्ति जनाउन लगाए। यो सिलसिला त्यसै रहेन। एमसीसी टेबल भए पनि पास नहुने भन्दै बोल्दै गए। कार्यकर्ता सडकमा उतारे, एमसीसीको विरोध गर्न लगाए।

देउवा र ओलीबीच बाक्लो संवादपछि भने उनी छटपटाउन थाले। ओलीलाई भेटेर राष्ट्रिय सरकारको नेतृत्व गर्न प्रस्ताव गरे। ओलीले विश्वास नगरेपछि पुनः देउवासँग सहकार्य अघि बढाए। एमालेसँग कांग्रेस सहमतिनजिक पुगेको अवस्थामा उनी एमसीसी अनुमोदन गर्न सहमत भएको सन्देश लिएर देउवातिर  पुगे। केन्द्रदेखि प्रदेश सरकार हुँदै सभामुख पनि गुमाउनुपर्ने संकेत पाएपछि उनले एमसीसी अनुमोदन गराउन लबिङ गरे। गठबन्धन पनि नरहने भएपछि नजिकिँदो चुनावलाई ध्यानमा राखेर विरोधबीच एमसीसीका पक्षमा उभिने निष्कर्षमा पुगे।

यसबाट उनी राजनीतिक रूपमा कमजोर खेलाडी सावित भए। आफैंले राष्ट्रघाती भनेको एमसीसी अनुमोदन गर्नुपर्ने अवस्थामा पुगे। उनले यसबीच बुनेका कुनै योजना सफल भएनन्। उनले निर्वाचनपछि मात्रै एमसीसी पास गराउने प्रस्ताव पनि गरेका थिए। त्यो पूरा भएन। सभामुखलाई प्रयोग गरेर संसद्बाटै अस्वीकृत गराउने योजना पनि विफल भयो।

नेपाल पछुवा 
एकीकृत समाजवादी अध्यक्ष नेपाल पनि दाहालझैं कमजोर खेलाडीका रूपमा देखा परे। पार्टीका अधिकांश नेता एमसीसीको विपक्षमा थिए। युवा तथा विद्यार्थी नेता सडकमा उत्रेका थिए। त्यति हुँदा पनि दाहालको पछुवा बनेर नेपालले एमसीसीका पक्षमा पार्टीका सांसदलाई मतदान गर्न लगाए। जबकी पार्टीकै नेता झलनाथ खनालले कुनै पनि हालतमा एमसीसी अनुमोदन गर्न नहुने अडान संसद्मै राखेका थिए।

नेपाल पार्टीका नेताभन्दा पनि मन्त्रीहरूको दबाबमा परेको चर्चा छ। केही मन्त्रीले एमसीसीका पक्षमा निर्णय नगरे पार्टी नै छोड्ने धम्की नेपाललाई दिएका थिए। पार्टीको स्वविवेकभन्दा पनि दाहालकै पछि लागेर नेपालले निर्णय गर्ने गरेको आरोप छ। दाहालले एमसीसी पास गर्न नदिने निर्णय गराएपछि नेपालले पनि पार्टीबाटै एमसीसी टेबल गर्न दिने र पास गर्न नदिने निर्णय गराए। दाहालले पार्टीबाट निर्णय गर्न लगाउनुअघि एमसीसीको विषयमा नेपाल नरम नै थिए। अन्नपुर्णपोष्ट दैनिक बाट ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार