देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘प्रधानमन्त्री मोदीजीलाई नेपालमा स्वागत गर्न म प्रतीक्षारत छु’ – प्रधानमन्त्री देउवा

0

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नयाँदिल्लीको हैदराबाद हाउसमा शनिबार भएको द्विपक्षीय एकल र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा दुवै देशका प्रधानमन्त्रीले आपसी सम्बन्ध थप बलियो बनाउने विषयलाई प्राथमिकतामा राखेका हुन् ।

बैठकपछि भारतीय विदेश मन्त्रालयद्वारा जारी संयुक्त वक्तव्यमा दुवै नेताले दुई देशबीचको भूगोल, इतिहास, संस्कृति, वाणिज्य र जनस्तरको सम्बन्धलाई अझ गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरेको उल्लेख छ । बैठकपछिको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले नेपाल–भारतको पुरानो सम्बन्धबारे चर्चा गरे । उनले मोदीलाई कोभिड महामारीका बेला भारतले गरेको सहयोगका लागि धन्यवाद दिए ।

उनले सन् २०१४ मा मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याएको चर्चा गर्दै उच्चस्तरीय भ्रमण आदानप्रदानका लागि आफूहरू सहमत भएको बताए । देउवाले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिए । ‘हामी दुवै जना उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिन सहमत छौं, प्रधानमन्त्री मोदीजीलाई नेपालमा स्वागत गर्न म प्रतीक्षारत छु,’ उनले भने ।

प्रधानमन्त्री देउवाले सीमा संयुक्त चेकपोस्ट निर्माणलाई गति दिन र चाँदनी–दोधारामा समेत त्यस्तो चेकपोस्ट निर्माणका लागि सहयोग गर्न आफूले आग्रह गरेको बताए । यस्तै, थप हवाई रुट उपलब्ध गराउन पनि आफूले भारतलाई आग्रह गरेको देउवाको भनाइ थियो ।

देउवाले सीमा विवादलगायत अन्य धेरै विषयमा छलफल भएको बताए । देउवाभन्दा अघि सम्बोधन गरेका भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतको जस्तो सम्बन्ध विश्वमा कतै पनि नभेटिने बताए । मोदीले नेपाल–भारतको सभ्यता, संस्कृति र आदानप्रदानको धागो प्राचीनकालदेखि जोडिएको बताए । ‘परापूर्वकालदेखि नै भारत र नेपाल सुख, दुःखका साथी हौं, साझेदारीको आधार पनि त्यही हो,’ उनले भने, ‘दुई देशबीचको मित्रता र नागरिकबीचको यस्तो विशाल सम्बन्ध विश्वमा कतै देख्न पाइँदैन ।’ उनले नेपालको सम्बन्धमा भारतको नीति त्यही आत्मीयताले प्रेरित रहेको बताए । नेपालको शान्ति, प्रगति र विकासको यात्रामा भारत दृढ साथीका रूपमा रहेको र रहने उनको भनाइ थियो ।

संयुक्त पत्रकार सम्मेलन गर्नुअघि दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट जयनगर–जनकपुर–कुर्था रेल्वे लाइन उद्घाटन गरे । दुवै प्रधानमन्त्रीले हरियो झन्डा देखाएपछि जनकपुरमा रेल कुदेको थियो । त्यस्तै, दुवैले ९० किलोमिटर लामो सोलु करिडोर विद्युत् प्रसारण लाइनको पनि भर्चुअल उद्घाटन गरेका थिए । भारतको एक्जिम बैंकको ऋणमा निर्माण गरिएको प्रसारण लाइनको दिल्लीस्थित हैदराबाद हाउसबाट दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । सिरहाको मिर्चैयादेखि सोलुको तिङ्लासम्मको ९० किलोमिटर लामो प्रसारण १३२ केभी डबल सर्किट लाइनको निर्माण गत पुसमा सम्पन्न भएको थियो, जसमा ३ सय २ वटा टावर छन् ।

भारतले विकास गरेको ‘रुपे’ कार्डको नेपालमा प्रयोगको शुभारम्भ पनि दुवै प्रधानमन्त्रीले गरेका छन् । भारतीय बैंकहरूले भिसा र मास्टर कार्डजस्तै ‘रुपे’ कार्ड जारी गरेका छन् । भारतीय नागरिकले नेपालमा उक्त कार्ड प्रयोग गर्ने बाटो खुलेसँगै नेपालको पर्यटन क्षेत्रलाई टेवा पुग्ने विश्वास गरिएको छ । कार्यक्रममा भूकम्पपछि भारतको सहयोगमा भइरहेको १ सय ३२ वटा हेल्थपोस्ट पुनर्निर्माणको पनि दुवै प्रधानमन्त्रीले भर्चुअल अवलोकन गरेका थिए ।

देउवा र मोदीकै उपस्थितिमा चारवटा विषयमा समझदारी र सम्झौता सम्पन्न भएको छ । ती समझदारी र सम्झौतामा दुई मुलुकका सम्बन्धित मन्त्रालयका उच्च अधिकारीले हस्ताक्षर गरेका थिए । इन्टरनेसनल सोलार एलाइन्समा नेपालको प्रवेशसम्बन्धी समझदारी, इन्डियन आयल कर्पोरेसन र नेपालको आयल निगमबीच पेट्रोलियम पदार्थ आपूर्ति सम्झौता, इन्डियन आयल कर्पोरेसन र नेपाल आयल निगमबीच प्राविधिक सहयोग सम्झौता तथा सीमापार रेलसम्बन्धी प्राविधिक सहयोग समझदारीपत्रमा हस्ताक्षर भएको हो । कान्तिपुर दैनिक बाट ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार