देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइनको अवरोध हटाउन कार्यदल गठन

0

काठमाडौं – मर्स्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणका क्रममा देखिएको अवरोध हटाउन सरकारले पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रसारण लाइनको अवरोध हटाउन कार्यदल गठन सहसचिव प्रवीण राज अर्यालको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो । सो कार्यदलमा नेपाल विद्युत् प्राधिकरण र जिल्ला प्रशासन कार्यालय धादिङका प्रतिनिधि, सिद्धलेक गाउँपालिका–७ का वडाध्यक्ष र प्रभावितमध्येबाट एक प्रतिनिधि रहेका छन् ।

ऊर्जा मन्त्री वर्षमान पुनले आयोजना प्रभावितलाई पुनःस्थापना र पुनःवाससहितका कार्यक्रम समेटेर दुई साताभित्र सुझाव पेश गर्न कार्यदललाई निर्देशन दिएका छन् । कार्यदलको सुझाव अनुसार प्राधिकरण सञ्चालक समितिबाट राहतको निर्णय हुने मन्त्री पुनले जानकारी दिए ।

मर्स्याङ्दी नदी जलाधारका आयोजनाबाट काठमाडौँ उपत्यकामा विद्युत् ल्याउन तनहुँको मार्कीचोकबाट काठमाडौँको मातातीर्थसम्म सो प्रसारण लाइन निर्माण भइरहेको छ । बयासी किलोमिटर लामो प्रसारण लाइनमा २३१ टावर बन्नेछन् । स्थानीयवासीको अवरोधका कारण दुई वटा टावर निर्माणको काम रोकिएको छ भने ७५ किलोमिटर भन्दा बढी तार तानी सकिएको प्राधिकरणले जनाएको छ ।

प्रसारण लाइन बनेपछि मस्र्याङ्ङी र मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादित ७०/७० मेगावाटका साथै अन्य साना र निर्माणका चरणमा रहेका आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँ ल्याउन सकिनेछ । हाल १२० केभी प्रसारण लाइन मार्फत मर्स्याङ्दी नदी जलाधारबाट उत्पादित विद्युत् उपत्यका आइरहेको छ ।

निर्माणाधीन २२० केभी प्रसारण लाइनबाट एक हजार मेगावाट विद्युत् आउने भएकाले उपत्यकाको विद्युत् प्रणाली भरपर्दो हुने नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार