देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बजेटको आकारमा संशोधन, १३ खर्ब ४४ अर्ब मात्र खर्च गरिने

0

काठमाडौं – सरकारले चालू आर्थिक वर्षको बजेटमा आम्दानी र खर्चमा संशोधन गरेको छ । चालू आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले १४ खर्ब ४६ अर्ब रुपैयाँको आयव्यय विवरण सार्वजनिक गरेको थियो ।

अर्थ मन्त्रालयमा मंगलबार आयोजित चालू आवको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले आम्दानी र खर्चमा संशोधन गरिएको  जानकारी दिए ।

६ महिनाको बजेट खर्चको अनुमानका आधारमा यस आर्थिक वर्षको बजेट १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँको मात्र हुने अर्थ मन्त्रालयले जनाएको छ । यो कुल बजेटको ९१.१९ प्रतिशत मात्र हो ।

गत जेठमा सरकारले तत्कालीन सङ्घीय संसद्मा पेश गरेको बजेट १४ खर्ब ४६ अर्ब रुपैयाँ थियो । यो अनुमान गर्दा प्रतिनिधि सभा निर्वाचन खर्च, कोभिड-१९ विरुद्धको खोप खर्च, अनिवार्य दायित्व, पूर्वसहमति दिइएका ठूला आयोजनाको सम्भावित दायित्वलाई मध्यनजर गरिएको मन्त्री पौडेलले जानकारी दिए ।

उनका अनुसार चालूतर्फ नौ खर्ब १४ अर्ब ७८ करोड रुपैयाँ, पूँजीगत तर्फ दुई खर्ब ८३ अर्ब चार करोड रुपैयाँ र वित्तीय व्यवस्थातर्फ एक खर्ब ४६ अर्ब ८६ करोड रुपैयाँ हुने अनुमान गरिएको छ ।

चालू आवको अन्त्यसम्म सरकारको स्रोतबाट १० खर्ब ७४ अर्ब ६८ करोड, वैदेशिक अनुदानतर्फ ३५ अर्ब र वैदेशिक ऋणतर्फ दुई खर्ब ३५ अर्ब रुपैयाँ खर्च हुने संशोधित अनुमान रहेको छ ।

चालू आवको राजश्व लक्ष्य अनुमान गर्दा हालको राजश्व सङ्कलन अवस्था र विगतको प्रवृत्तिलाई आधार बनाइएको अर्थमन्त्री पौडेलले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार