देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बजेटप्रति मिश्रित प्रतिक्रया, के भन्छन् विज्ञ ?

0

काठमाडौं – आर्थिक वर्ष २०८१/०८२ का लागि सरकारले सार्वजनिक गरेको १८ खर्ब ६० अर्ब बजेटको विषयमा वित्त तथा पूर्वअर्थमन्त्रीहरूले मिश्रित प्रतिक्रिया दिएका छन् ।

मंगलबार संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेटमा विभिन्न प्रतिक्रिया प्राप्त भएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले ल्याएको बजेटमा प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै सुधारको संकेत नदेखेको टिप्पणी गरेको छ । सरकारले आगामी वर्षको बजेट सार्वजनिकपश्चात् पूर्व अर्थमन्त्री एवं पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बजेट वितरणमुखी भएको प्रतिक्रिया दिए ।

‘बजेटमा सुधारका केही कुरा उल्लेख छैनन्’, उनले भने– ‘बजेट निर्माणमा बेथिति थियो, बजेट विनियोजन भई ठेक्का लगाउने प्रवृत्ति थियो बजेट कनिका छर्ने प्रवृत्तिलाई हामीले कार्यविधि बनाएर तीन करोडभन्दा तलको आयोजना नराख्ने भनेका थियौं उहाँ मौन हुनुहुन्छ, मैले बुझेअनुसार तीन करोडको कार्यविधिलाई तिलाञ्जली दिइसक्नुभयो ।’

नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बजेट समग्रमा सुधारोन्मुख र विकृति सम्बोधन गर्ने खालको रहेको प्रतिक्रिया दिएका छन् । उनले नेपाल भने – ‘अघिल्ला वर्षहरूमा देखिने गरेका बजेटका विकृतिहरू यो बजेटले सम्बोधन गरेको जस्तो देखिन्छ। सरकारको नीति तथा कार्यक्रमलाई सम्बोधन गर्ने र नीति कार्यक्रममा छुटेका कतिपय विषयहरू समेत बजेटले समेटेको देखिन्छ।’

अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत बजेटमा नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेट लगानीमैत्री आएको प्रतिक्रिया दिए।

ढकालले भने -‘महासंघले प्रवर्द्धन गरेको सानो बचतबाट लगानी कम्पनी खोल्ने र विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनीलाई प्रवर्द्धन गर्ने भनिएको छ, कृषिमा करार खेती र पहाडमा फलफूल खेतीको विषय आएको छ, पर्यटन प्रवद्र्धन, वैवाहिक पर्यटन विकास गर्ने विषय आएका छन् र सूचना प्रविधि र नवप्रवर्द्धन बचत गाउँमा केही सहुलियत र विस्तारका योजना छन् ।’

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार