देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा

0

(काठमाडौं) – शुक्रबारबाट सुरु हुने बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ । कोरोना भाइरस (कोभिड–१९) कारण उत्पन्न विषम परिस्थितिमा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको सबै मापदण्ड पालना गरेर बैठक सञ्चालनका सबै तयारी पूरा भएको सचिवालयले जनाएको हो ।

सचिवालयले सभामुख अग्नि प्रसाद सापकोटालाई सबै माननीय सदस्यहरुको बसाई व्यबस्थापन, सभाकक्ष, कुर्सी र टेबुल, माइक व्यबस्थापन, सफाई, लगायतका सबै तयारी पूरा भएको जानकारी गराएको हो । सभामुख सापकोटाले बिहीबार अपराह्न सभाहलको स्थलगत अवलोकन गरी तयारीबारे जानकारी लिएका थिए ।

सभाहलमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार दुरी कायम गरी सीट प्लान गरिएको छ । हरेक दुुइ सीट खाली गरेर बसाई व्यबस्थापन गरिएको छ । संयुक्त सदन बस्दा एक सय जना हाराहारीको संख्यामा सांसदहरुका लागि माथिल्लो हलमा बस्ने व्यबस्था मिलाईएको सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको एकल बैठक हुँदा ४० जना सांसदलाई माथिल्लो भागमा बस्ने व्यवस्था मिलाइएको छ ।

यसअघि बिहीबार सिंहदरबारस्थित कार्यकक्षमा बसाई व्यवस्थापन लगायत विषयमा सभामुख सापकोटाले संसदमा प्रतिनिधितव गर्ने राजनीतिक दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए । छलफलमा सहभागीहरुले कोरोनाको परीक्षण गराउनुपर्ने, परीक्षण गराउन छुटेका, सांसदलाई परीक्षण र त्यसको रिपोर्ट आएपछि मात्रै सभाहलमा प्रवेश दिनुपर्ने सुुझाव दिएका थिए ।

संसद बैठक अघि कोरोना भाइरसको संक्रमण भए नभएको बारे पीसीआर विधिबाट परीक्षण गर्ने कार्यव्यवस्था समितिको निर्णय अनुसार आज बिहीबार संघीय संसदमा सांसद, कर्मचारी र मर्यादापालक गरी ४ सय ४१ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । जसमा १७९ जना प्रतिनिधिसभाका सांसद, ३३ जना राष्टिय सभाका सांसद गरी २१२ जनाको स्वाब संकलन गरिएको छ ।

बिहीबार संकलन गरिएका सबैको स्वाबको रिपोर्ट भोलि आईसक्ने संसद सचिवालय अन्तरगत स्वास्थ्य ईकाका डा. पुुष्प रिजालले जानकारी दिए । बिहान १० बजेदेखि दिउँसो २ बजे सम्म स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गर्न छुटेका सांसद, संसद भवनमा अनिवार्य उपस्थित हुनुपर्ने सुरक्षाकर्मी र कर्मचारीको परिक्षण भोलि बिहान ८ बजे देखि १० बजे सम्म संसद भवनको लोत्से हलमै स्वाब संकलन गरिने पनि संसद सचिवालयले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार