देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बडादशैंको चौथो दिन कुष्माण्डा देवीको पूजा गरिँदै

0

काठमाडौं – बडादशैंको चौथो दिन आज (मंगलबार) कुष्माण्डा देवीको पूजा गरिँदैछ । कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।

घटस्थापनाका दिनदेखि शुरू भएको नवरात्रको चौथो दिनको पूजा विधि पनि घटस्थापनाको जस्तै हो । घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा सिंचित गरिन्छ ।

आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिन्छ । यी देवीमा तातो रक्तसमूह भएका मानव, चराचरुङ्गी तथा चिसो रगत भएका माछा, सर्प लगायतका सारा प्राणीको सिर्जना गर्ने शक्ति रहेको शास्त्रहरुमा उल्लेख छ ।

कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतल हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ । त्यसैले शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डोको विधिपूर्वक पूजा गरी त्यसैको बलिसमेत चढाउने गरिन्छ ।

दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं पर्व मनाउने चलन छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार