देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बडा दशैंको सातौं दिन फूलपाती भित्र्याइँदै

0

काठमाडौं – बडा दशैंको सातौं दिन अर्थात् फूलपाती । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैंघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज  शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नौदेवीको विधिपूर्वक पूजाराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने धर्मशास्त्रविद् प्रा डा गौतमले जानकारी दिए ।

हनुमानढोका दरबारको दसैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैंघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने र त्यहाँबाट काठमाडौंको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रहिआएको छ ।

यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण सीमित व्यक्तिले भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर फूलपाती ल्याउन लागेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगान सहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिएकामा यसवर्ष विधि मात्र पूरा गरिने जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार