देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बढी शुल्क असूल्ने चितवनका दुई अस्पताललाई कारबाही

0

चितवन – भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ । परीक्षणका लागि सरकारले तोकेको भन्दा अतिरिक्त शुल्क असूल गरेको भन्दै प्रशासनमा यी दुई अस्पताललाई कारबाही गरेको हो ।

सरकारले पीसीआर परीक्षणका लागि दुई हजार शुल्क तोके पनि त्यसलाई अटेरी गर्दै बढी शुल्क लिएको भन्दै प्रशासनमा यी दुई अस्पताल विरुद्ध उजुरी परेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा दोषी देखिएपछि प्रशासन कार्यालयले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजका सञ्चालकहरूसँग बयान लिएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार कार्यालयले क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमलाई थप अनुसन्धानका लागि पुर्पक्षमा राख्न आदेश दिएको थियो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको आदेशसँगै गौतम आठ लाख रुपैयाँ धरौटी राखेर तारेखमा रिहा भएको शर्माले जानकारी दिए ।

गौतमले निजी रकम जम्मा गरेर रिहा भएको अस्पतालले जनाएको छ । धरौटीका लागि सञ्चालक समितिको निर्णयबिना अस्पतालको रकम निकासा गर्न नमिल्ने भएपछि गौतमले निजी रकमको व्यवस्था गरेको जनाएको छ । प्रशासनले दुई साताअघि चितवन मेडिकल कलेजका सञ्चालकहरुसँग बयान लिएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी शर्माले उनीहरू १८ लाख रुपैयाँ धरौटी राखेर तारेखमा रिहा भएको जानकारी दिए । यी दुई अस्पतालले सरकारले तोकेको भन्दा ५ सय रुपैयाँ बढी शुल्क लिएको पाइएको थियो । बयानका क्रममा दुवै अस्पतालका सञ्चालकहरुले बढी शुल्क लिएको स्वीकार गरेको प्रशासनले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार