देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बहुमतको निर्णय सच्याउन जिल्ला सभापतिहरुको माग

0

(काठमाडौं) – नेपाली कांग्रेसका संस्थापनइतर समूहका जिल्ला सभापतिले पार्टी नेतृत्वले विधान विपरीत गरेका निर्णय सच्याउन माग गरेका छन् ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार वरिष्ठ नेता रामचन्द्र पौडेल सहितका नेतासँगको छलफलमा उनीहरुले बहुमतको आधारमा पार्टी नेतृत्वले गरेको महाधिवेशन लगायत निर्णय मान्य नहुने भन्दै सच्याउन माग गरेका हुन् ।

यही पुस ११ गते केन्द्रीय कार्यसमितिको पार्टीको १४ औं महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म गर्ने र केन्द्रीय समितिको समयावधि एकवर्ष थप गर्ने लगायत महत्वपूर्ण निर्णय गरेको थियो ।

सो बैठकले महाधिवेशनको प्रयोजनार्थ विधानका केही दफा निलम्बन गर्ने, विधानमा उल्लेख २८ केन्द्रीय विभागको सङ्ख्या ४७ पुर्याउने, तरुण दलको म्याद छ महिना थप गर्ने लगायत निर्णय पनि गरेको थियो । त्यसपछि झनै असन्तुष्ट बनेको वरिष्ठ नेता पौडेल समूहले आगामी रणनीति तय गर्न जिल्ला सभापतिको भेला बोलाएको हो ।

बैठकमा वरिष्ठ नेता पौडेल र महामन्त्री शशाङ्क कोइरालाले पार्टीको पछिल्लो अवस्था र केन्द्रीय नेतृत्वसँग भएका छलफलका बारेमा जानकारी गराएको नुवाकोटका सभापति जगदिशनरसिंह केसीले बताए ।

विधानका केही दफा निलम्बन गरिएका, एकता र सहमतिका साथै पारदर्शी रूपमा महाधिवेशनका निर्णय हुनुपर्नेमा एकलौटी ढङ्गले निर्णय गरिएको बताउँदै आगामी दिनमा कसरी अघि बढ्ने भन्ने बारेमा छलफल भएको बताए । बैठकमा पूर्वमहामन्त्री प्रकाशमान सिंहले वार्तामा भएका सहमतिका प्रयास बारेमा जानकारी गराएका थिए ।

सञ्चारकर्मीसँग कुरा गर्दै प्यूठानका सभापति अमरप्रसाद भण्डारीले पार्टी विधानसम्मत र सर्वसम्मत नचलेको भन्दै पार्टीलाई एक ढिक्का बनाउन भेला बोलाइएको बताए । उनले केन्द्रीय समिति बैठकमा एक पक्ष बाहिरिने अवस्था आएको भन्दै विधान विपरीत गरिएको निर्णय सच्याउनुपर्ने र निलम्बन गरिएका पार्टी विधान दफा फुकुवा गर्नुपर्ने माग गरे ।

त्यस्तै, सिन्धुपाल्चोका सभापति विकास लामाले पार्टी विधानले पूर्णता नपाउँदै नेतृत्व तहबाटै विधान मिच्ने काम भएको, विशेष परिस्थिति नभए पनि केन्द्रीय समितिको एक वर्ष म्याद थपेको, भ्रातृ र शुभेच्छुक संस्थाको समयमै महाधिवेशन नगरेको आरोप लगाउँदै पार्टी विधानतः चल्नुपर्ने माग गरेका छन् ।

भेलामा नेता पौडेल समूहका ४१ जिल्ला सभापति र दुई जिल्ला सभापतिका प्रतिनिधि सहभागी थिए । भोलिसम्म चल्ने भेलामा थप ११ जिल्ला सभापति नेता पौडेल समूहका केन्द्रीय सदस्य र पदाधिकारी पनि उपस्थित थिए ।

यही पुष ११ गते केन्द्रीय समितिले बहुमतका आधारमा गरेका निर्णयको विरोधमा त्यसपछिका पार्टीका कुनै पनि बैठकमा सहभागिता नजनाएको पौडेल पक्षले आज जिल्ला सभापतिहरुसँग छलफल गरेको हो । बाँकी जिल्ला सभापतिहरुले भोलि विहान साढे ११ बजे बस्ने बैठकमा सुझाव राखेपछि धारणा तय गर्ने संस्थापन इतर पक्षले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार