देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बाबुराम भट्टराईको अभिव्यक्ति गैरजिम्मेवार : प्रधानमन्त्री ओली

0

काठमाडौं – बूढीगण्डकी जलविद्युत आयोजनामा घूस बाँडेर खाएको भन्ने जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईको अभिव्यक्ति गैरजिम्मेवार भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

नेपाल प्रहरीको ६५ औं स्थापना दिवसका अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाएको दोहोऱ्याएका छन् ।

सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाए पनि केही गैरजिम्मेवार तत्वले गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिँडेको प्रधानमन्त्रीले बताए । भट्टराईले आफूसहित अन्य पूर्वप्रधानमन्त्रीमाथि लगाएको आरोपमा सत्यता नभएको भन्दै खण्डन गर्दै ओलीले आफूले त्यस्तो गैरजिम्मेवार काम गर्न नसक्ने बताए ।

‘एउटा निर्णय नभएको, कसैले नलिएको कार्यारम्भ नभएको, हुन्छ हुँदैन भन्ने टुंगो नभएको आयोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीसमेतले यति अर्ब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएकोसमेत सुनेको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी यस्ता गैरजिम्मेवार र निराधार अभिव्यक्तिको एउटा कुरा हो तर हामी त्यति गैरजिम्मेवार र अनुत्तरदायी हुन सक्दैनौं ।’

केही दिन अघि गोरखामा आयोजित एक कार्यक्रममा नेता भट्टराईले बूढीगण्डकी आयोजनामा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्डले ९ अर्ब रुपैयाँ बाँडेर कमिसन खाएको आरोप लगाएका थिए ।

बूढीगण्डकी आयोजनामा अर्बौं भ्रष्टाचार भयो भनेर देश र जनतालाई गलत सूचना दिएर भड्काएर गलत बाटोमा लैजाने कुचेष्टा भएको पनि प्रधानमन्त्री ओलीले बताए ।

उक्त प्रमाण आफूसँग भएको पनि भट्टराईले बताएपछि नेकपा र कांग्रेसले विज्ञप्ति निकालेर प्रमाण पेश गर्न चुनौती दिइरहेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार