देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बालिकाको हत्या आरोपितको घरमा स्थानीयद्वारा आगजनी

0

बर्दिवास – महोत्तरीको बर्दिवास नगरपालिका-१४ की ६ वर्षीया बालिकाको हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा शव फेला परेको छ ।

बर्दिवास नगरपालिका-१४ निवासी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको आइतबार साँझदेखि बेपत्ता थिइन् । उनको शव सोमबार राति घर नजिकैको खेतमा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए ।

आइतबार साँझदेखि बस्तीबाटै हराएकी गुलाब साह खातुनको हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा शव फेला परेको हो ।

शुभम् बस्तीमा रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालय भन्दा पश्चिमतर्फ रहेको खाली जग्गामा बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ ।

बालिकाको बलात्कारपछि हत्या गरिएको आशंका स्थानीयले गरेका छन् । यद्यपि प्रहरीले पोष्टमार्टमको रिपोर्ट नआएसम्म केही भन्न नसकिने जनाएको छ ।

हत्या अभियोगमा एक पक्राउ :

बालिकाको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौशाला नगरपालिका-५ घर भई बर्दिवासमा किराना पसल सञ्चालन गर्दै आएका अरुण कुमार साह छन् ।

प्रहरी नायब उपरीक्षक चापागाईंका अनुसार महोत्तरीको गौशाला नगरपालिका-५ का २५ वर्षीय अरूणकुमार साहलाई नियन्त्रणमा लिएको हो । चापागाईंका अनुसार ती युवकले हत्या गरेको स्वीकारेका छन् ।

चकलेट किन्न गएकी बालिकालाई लुकाएर साहले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनले बलात्कार गरेर हत्या गरेका हुन् कि होइनन् भन्ने बारे पोष्टमार्टमको रिपोर्ट नआएसम्म केही भन्न नसकिने प्रहरीले जनाएको छ ।

आरोपितको घरमा स्थानीयद्वारा आगजनी :

बालिकाको हत्याको आरोपमा पक्राउ परेका गौशाला नगरपालिका-५ घर भई बर्दिवासमा किराना पसल सञ्चालन गर्दै आएका अरुण कुमार साहको घर अगाडि तथा बर्दिवासस्थित मुख्य चोकमा प्रदर्शन गरिरहेका छन् ।

साहको बर्दिवास नगरपालिका १४ स्थित घरमा स्थानीयवासीले तोडफोड गर्दै आगजनी गरेका हुन् । प्रदर्शनलाई नियन्त्रणमा लिनका लागि अश्रु ग्यास समेत प्रहार गरेको स्थानीयले जानकारी दिएका छन् । प्रहरीले ५ राउण्ड अश्रु ग्यास प्रहार गरेको बताइएको छ ।

बालिका हत्याको बिरोध गर्दै स्थानीयले महोत्तरीको बर्दिबास नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्ग अवरुद्ध हुँदा सवारी साधनहरूको लाम लागेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार