देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बाल मन्दिरको २९ रोपनी जग्गा ‘सेटिङ’ मा बृहस्पतिलाई

0

काठमाडौँ – नेपाल बाल संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीको मिलेमतोमा नक्सालस्थित बाल मन्दिरको २९ रोपनी ४ आना जग्गा ५९ वर्षसम्मका लागि सस्तो भाडा दरमा भोगचलन गर्न दिइएको खुलेको छ । संगठनले २०७२ सालमा उक्त सरकारी जग्गा वार्षिक ९० लाख रुपैयाँ भाडा बुझाउने गरी विसं २१३१ सम्मका लागि बृहस्पति विद्या सदनलाई दिएको हो ।

यसअघिको सम्झौता नसकिँदै संगठनले बृहस्पतिलाई उक्त जग्गा बैंकमा ‘लियन’ (एक किसिमको धितो, जुनबापतको रकम चुक्ता नगरेसम्म बैंकले स्वामित्व ग्रहण गर्न/राख्न सक्छ) राखेर कर्जा निकाल्न पनि स्वीकृति दिएको छ । कानुनअनुसार सरकारी जग्गा धितो राखेर बैंकबाट कर्जा लिन पाइँदैन । स्रोतका अनुसार बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्य, अन्य पदाधिकारी र कर्मचारीको मिलेमतोमा बैंकबाट कर्जा लिन पाउने गरी बृहस्पतिसँग सम्झौता भएको थियो । बृहस्पतिका ‘अपरेसन डिपार्टमेन्ट’ प्रमुख विनोद बडालले बाल संगठन र सदनबीच भएको सम्झौताका आधारमै बैंक अफ काठमान्डुमा जग्गाको भौतिक संरचना, आर्थिक कारोबार र संस्था जमानत बसेर ३१ करोड ३३ लाख रुपैयाँ कर्जा लिएको स्वीकार गरे ।

सरकारी जग्गा कानुनी प्रावधानविपरीत भोगचलनका लागि दिइएकोमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । ‘बाल संगठनको हकहितमा प्रयोग गर्नुपर्ने जग्गा कानुनी प्रावधान कुल्चेर अस्वाभाविक रूपमा सस्तोमा लिजमा दिएको देखिएपछि विस्तृत अनुसन्धान गरिरहेका छौं,’ अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले कान्तिपुरसँग भने ।

तत्कालीन अध्यक्ष वैद्यकै अगुवाइमा २०४९ मा विभिन्न जिल्लामा रहेको बाल संगठनको जमिन निजी सम्पत्तिसरह भोगचलन र किनबेच गर्न पाइने विवादास्पद प्रावधानसहित संगठनको विधान तयार गरिएको थियो । पछि त्यही विधानको आधारमा वैद्यले बृहस्पतिलाई सस्तोमा जग्गा भाडामा दिने निर्णय गरेकी थिइन् । २०४१ मा स्थापना भएको बृहस्पति २०४९ मा सरकारी जमिन हात पारेर बाल मन्दिर परिसर छिरेको हो । बृहस्पतिलाई २०५९ सम्म पटक–पटक पूरक सम्झौता गरी जग्गाको क्षेत्रफल बढाएर १४ रोपनीसम्म भोगचलन गर्न दिइएको थियो । २०५९ भदौ ११ मा भने थप १३ रोपनी १२ आना १ पैसा जग्गा भाडामा दिने गरी ३० वर्षे सम्झौता गरियो । कागजमा १३ रोपनी १२ आना देखाइए पनि बृहस्पतिलाई १४ रोपनी ९ आना भोगचलन गर्न दिएको पाइएको अख्तियार स्रोतले बताएको छ ।

जग्गा भाडामा दिँदा कहिल्यै प्रतिस्पर्धा गराइएन । ३० वर्षे सम्झौता हुँदा प्रत्येक २ वर्षमा ५ प्रतिशतका दरले भाडा वृद्धि हुने तर सुरु र अन्तिम ५/५ वर्ष बढेको भाडा तिर्नु नपर्ने उल्लेख थियो । सम्झौताको म्याद २०८८ सम्म थियो तर म्याद सकिन १६ वर्ष बाँकी रहँदै २०७२ जेठ २१ मा संगठनले प्रतिवर्ग फिट ६ रुपैयाँ कायम गरी २९ रोपनी ४ आना जग्गा बृहस्पतिलाई भाडामा दिने सम्झौता गरेको हो । थप ४३ वर्षका लागि जग्गा बृहस्पतिलाई सुम्पन संगठनले पूरक सम्झौता गरेको अख्तियार स्रोतको दाबी छ । ‘बृहस्पतिकै प्रस्तावमा २९ रोपनी ४ आना जग्गाको भाडा वार्षिक ९० लाख रुपैयाँ कायम गरिएको छ । यो प्रक्रिया अघि बढ्दा पनि बोलकबोल गराएको पाइएन,’ अख्तियार स्रोतले भन्यो ।

संगठनबाट लिएको जग्गामध्ये ५ रोपनी मात्रै बृहस्पतिले ५० वर्षका लागि राय स्कुललाई दिएको छ । तर २०७६ यता बृहस्पतिले राय स्कुलसँग उक्त जग्गाको भाडा मासिक ५ लाख रुपैयाँका दरले वार्षिक ६० लाख रुपैयाँ उठाउँदै आएको छ ।

राय स्कुल भारतीय बोर्डअन्तर्गत सञ्चालित छ । बृहस्पति र राय स्कुल अहिले एउटै व्यवस्थापनबाट सञ्चालन भइरहेको बृहस्पतिका अपरेसन विभाग प्रमुख बडालले बताए । ‘हामीले बाल संगठनबाट कानुनअनुसार नै लिजमा लिएर २१३१ सालसम्मको भोगाधिकार पाएका हौं । भोगाधिकार पाएपछि २०७६ यता राय स्कुल पनि त्यही परिसरमा आएको हो,’ उनले भने, ‘दुवै स्कुलको व्यवस्थापन एउटै हो ।’

बाल मन्दिरको सम्पत्ति चरम दोहन भएको पाइएपछि सरकारले २०७६ कात्तिकमा पूर्वन्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा जाँचबुझ आयोग बनाउँदै वैद्य नेतृत्वको कार्यसमिति भंग गरेको थियो । जाँचबुझ आयोगले पनि २०४९ बाटै तत्कालीन कार्यसमितिका पदाधिकारी, सदस्य र कर्मचारीको मिलेमतोमा बाल संगठनको सम्पत्ति दोहन गरेर व्यक्तिको भोगाधिकारमा लगिएको निष्कर्ष निकालेको थियो । त्यही प्रतिवेदनका आधारमा अहिले अख्तियारले अनुसन्धान गरिरहेको हो ।

२०७७ साउनमा गठित बाल संगठनको तदर्थ समिति अध्यक्ष विद्या न्यौपानेले संस्थाको चलअचल सम्पत्ति पटक–पटकको ‘सेटिङ’ बाट वृहस्पतिले ‘कौडीको भाउ’ मा हत्याएको बताइन् । ‘बृहस्पतिले पहिलेको लिज अवधि नसकिँदै थप ४३ वर्षका लागि जग्गा लिएको, राय स्कुललाई सबलिजमा ५० वर्षका लागि जग्गा भोगाधिकार दिएको लगायत विषयमा अख्तियारले मसँग सोधपुछ गरेको थियो,’ न्यौपानेले भनिन्, ‘३/४ पटक अख्तियारमै गएर बयान दिइसकेकी छु ।’ उनले सरकारी प्रयोजनका लागि पञ्चायतकालमा व्यक्तिबाट अधिग्रहण गरी असहाय बालबालिकाको हकहित र संरक्षण गर्न ल्याएको जग्गा सस्तो भाडामा दिनुमा बदनियत रहेको दोहोर्‍याइन् । ‘यसमाथि सूक्ष्म अनुसन्धान गरी कसुरमा संलग्नलाई कारबाही हुनुपर्छ,’ उनले भनिन् ।

तत्कालीन अध्यक्ष वैद्य भने बयानका लागि पटक–पटक ताकेता गर्दा पनि अख्तियारमा हाजिर भएकी छैनन् । पछिल्लो पटक बयानमा बोलाउँदा उनले कोरोना संक्रमणको जोखिम कम भएपछि आउने जानकारी गराएकी थिइन् । भाडासम्बन्धी निर्णयमा संलग्न २०४९ देखि २०७६ सम्म संगठनमा आवद्ध पदाधिकारी, सदस्य र कर्मचारीसमेत अनुसन्धानको दायरामा तानिएको र अध्यक्ष वैद्यबाहेक सबै व्यक्तिमाथि बयान लिइसकेको अख्तियारले जनाएको छ । कान्तिपुर दैनिक बाट ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार