देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेविसंघले भन्यो, ‘बुटवल आन्दोलनमा दमन पराजित मानसिकताको उपज’

0

काठमाडौं – प्रदेश ५ को राजधानीको विषयमा बुटवलमा जारी आन्दोलनमा दमन गरिएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विरोध जनाएको छ । प्रदेशको स्थायी राजधानी र नामबारे वार्ता र सहमतिको माध्यमबाट समाधान निकाल्न नेविसंघले आग्रह गरेको छ ।

प्रदेश ५ को प्रदेशसभामा स्थायी राजधानी दाङको देउखुरी र नाम लुम्बिनी राख्ने प्रस्ताव दर्ता भएसँगै केहीदिन यता बुटवलमा प्रदर्शन भइरहेका छन् ।

नेविसंघ महामन्त्री बलदेव तिमल्सीनाले सोमबार निकालेको विज्ञप्ति जारी गर्दै छलफल, संवाद, वार्ता र सहमतिको माध्यमबाट निकास खोज्ने र सकारात्मक एवं यथोचित मागलाई उचित सम्बोधन गर्न माग गरेका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा बुटवलबाट पक्राउ परेका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल लगायतलाई विनाशर्त रिहा गर्न पनि नेविसंघले माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण ढंगबाट छलफल गरीरहेको अबस्थामा नेपाल बिद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल तथा नेपाली कांग्रेसका नेताहरू हरिलाल पाण्डे, शिव गैरे, बिष्णु पोखरेल,ज्ञानेन्द्र कार्की, नेपाल तरुण दलका क्षेत्रीय सभापति प्रकाश गैरे र पत्रकार कमला पाण्डे लगायतलाई गरिएको गिरफ्तारी प्रति घोर भर्त्सना गर्दै तत्काल बिनासर्त रिहाईको माग गर्दछु ।’

आन्दोलनमा दमन गर्नु सरकारको पराजित मानसिकता भएको नेविसंघको टिप्पणी छ । विज्ञप्तिमा भनिएको छ, ‘छलफल, संवाद, वार्ता र सहमतिको माध्यमबाट निकास खोज्ने र सकारात्मक एवं यथोचित मागलाई उचित सम्बोधन गर्नको सट्टा उल्टै धरपकड, दमन, कर्फ्यु र सत्ताको आडमा बर्बरतापूर्वक बल प्रयोग गर्न उद्धत हुनु सरकारको पराजित मानसिकताको उपज हो ।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार