देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बैठक ‘बंक’ गर्दै सांसद, हाजिर गर्दै भाग्दै

0

काठमाडौं – कार्यकाल सकिनै लाग्दा सांसदहरूले बैठक ‘बंक’ गर्ने क्रम पनि बढेको छ । महत्वपूर्ण छलफल चलिरहँदासमेत धेरै सांसद हाजिर गरेर ‘टाप कस्ने’ गरेका छन् । जसका कारण संसद्को कामकारबाही नै प्रभावित हुने गरेको छ ।

आइतबार त गणपूरक संख्या नपुगेर एकै दिन दुईपटक प्रतिनिधिसभा बैठक स्थगित भयो । बैठकमा हाजिरी जनाएपछि प्रत्येक सांसदले दुई हजार भत्ता पाउँछन् ।

आइतबारको बैठकमा एक सय ८८ सांसदले हाजिरी जनाएका थिए । दिउँसो १ बजे बैठक सुरु भएपछि गृहमन्त्री बालकृष्ण खाणले राज्य व्यवस्था तथा सुशासन समितिको संशोधन प्रतिवेदनसहित कारागार विधेयक छलफलका लागि पेस गरे । त्यतिखेरसम्म अधिकांश सांसद उपस्थित थिए । तर, छलफल चल्दै जाँदा सांसदको संख्या पनि घट्दै गयो । हाजिर गरेका सांसद एक–एक गर्दै बाहिरिए । छलफलमा उठेका प्रश्नको गृहमन्त्री खाणले जवाफ दिने पालो आउँदासम्म त धेरै सांसद बैठक छाडेर हिँडिसकेका थिए ।

गृहमन्त्रीको जवाफपछि सभामुख अग्निप्रसाद सापकोटाले संशोधन प्रतिवेदनसहित विधेयक निर्णयार्थ पेस गर्न लाग्दा नेमकिपाका सांसद प्रेम सुवालले बैठकमा गणपूरक संख्या नरहेको भन्दै नियमापत्ति गरे । उनको मागअनुसार सभामुखले सांसदको संख्या गणना गर्न लगाए । संविधानको धारा ९४ अनुसार प्रतिनिधिसभाको बैठकमा कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा कुल संख्याको एकचौथाइ अर्थात् ६९ सांसदको अनिवार्य उपस्थिति चाहिन्छ । तर, यो विधेयक निर्णयार्थ प्रस्तुत गर्दा ६७ सांसद मात्रै उपस्थित थिए । त्यसपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरे ।

१५ मिनेटपछि सुरु भएको बैठकमा भने बल्लबल्ल गणपूरक संख्या पुग्यो । संसद् परिसरमै रहेको चमेनागृहमा बसिरहेका र बानेश्वरवरिपरि रहेका केही सांसद बैठकमा फर्किएका थिए । यो बैठकमा विधेयक निर्णयार्थ प्रस्तुत गर्न लाग्दा पनि गणपूरक संख्या नपुग्ने भन्दै नियमापत्ति गरेका थिए । तर, गणना गर्दा सांसदको संख्या ७१ रहेको यकिन भयो । यो बैठकले संशोधन प्रतिवेदनसहित कारागार विधेयक, २०७८ सर्वसम्मतिले पारित गर्‍यो ।

त्यसपछि राष्ट्रिय सभाबाट संशोधनसहित आएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकमाथि बैठकमा छलफल भयो । यसलाई पनि आइतबार नै पारित गर्ने कार्यसूची थियो । तर, बल्लबल्ल जुटेका सांसदमध्ये केहीले फेरि सुइँकुच्चा ठोकिसकेका थिए । संख्या गणना गर्दा बैठक कक्षमा ५७ सांसद मात्रै देखिए । आवश्यक संख्या ६९ पुग्न १२ सांसद अपुग भए । दोस्रो बैठकमा पनि गणपूरक संख्या नपुगेपछि सभामुख सापकोटाले कार्यसूचीमा रहेका बाँकी कार्यक्रम हटाएर मंगलबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको घोषणा गरे ।

प्रमुख प्रतिपक्षी एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफूले ल्याएका विधेयकप्रति सत्तापक्षका सांसद गम्भीर नभएका कारण समस्या आएको बताए । ‘खासगरी सरकारले ल्याएका विधेयक पास गर्ने दायित्व सत्तापक्षको हुन्छ । आफूले ल्याएका विधेयक पास गर्न सत्तापक्ष गम्भीर हुनुपर्ने हो, तर त्यो देखिएन । विपक्षीले पास गरिदिनुपर्ने जस्तो उहाँहरू गर्नुहुन्छ । यसको अर्थ हामी उत्तरदायित्वबाट भाग्न खोजेको चाहिँ होइन,’ उनले भने ।

सत्तारूढ कांग्रेसकी प्रमुख सचेतक चित्रलेखा यादवले संसद्को काम नै प्रभावित हुने विषयमा सांसदहरू जिम्मेवार बन्नुपर्ने बताइन् । ‘महत्वपूर्ण विधेयक अगाडि नबढे काम गर्न अप्ठ्यारो हुन्छ । संघीय संसद्को काम नै कानुन निर्माण गर्ने हो । कहिलेकाहीँ प्राविधिक कारणले कोरम पुग्दैन, तर काम नै प्रभावित हुन्छ । यसमा हामी सबै जिम्मेवार हुनुपर्छ,’ उनले भनिन्, ‘कमी–कमजोरीमा हाम्रो ध्यान गएको छ । सच्याउन पनि लाग्छौँ ।’

माओवादीका प्रमुख सचेतक देव गुरुङले आगामी दिनमा जिम्मेवार भएर अगाडि बढ्ने बताए । ‘कहिलेकाहीँ कोरम पुगेन भने पनि अर्काेपटक पुग्छ । संख्यामा कम–बेसी त भइरहन्छ नि ! कहिलेकाहीँ भन्ने कुरा अपवाद न हो । तैपनि हामी जिम्मेवार भएर जान्छौँ,’ उनले भने । एकीकृत समाजवादीकी सचेतक सरलाकुमारी यादवले यो समस्या सुधार्न पार्टीभित्र समन्वय गर्ने बताइन् । उनको भनाइ छ, ‘पार्टीको काम पनि हुन्छ । कार्यसूची ढिलो आएर पनि यस्तो भएको हो । मान्छेको अन्य काम पनि हुन्छ । टाढा हुँदा तुरुन्तै आउन पनि गाह्रो हुन्छ । यसलाई सुधार्न सबैले आफ्नो पार्टीमा समन्वय गर्नुपर्छ ।’

कारागार विधेयक पारित गरिसकेपछि राष्ट्रिय सभाबाट संशोधनसहित आएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकमाथि छलफल भयो । यसलाई पनि आइतबार नै पारित गर्ने कार्यसूची थियो । छलफलमा उठेका प्रश्नको शिक्षामन्त्री देवेन्द्र पौडेलले जवाफ दिइसकेपछि ‘राष्ट्रिय सभाबाट भएको संशोधन स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने तयारी भयो ।

सभामुख अग्निप्रसाद सापकोटाको निर्देशनअनुसार सचिवालयका कर्मचारीले संख्या गणना गर्दा बैठक कक्षमा ५७ सांसद मात्रै देखिए । आवश्यक संख्या ६९ पुग्न १२ सांसद अपुग भए । कारागार विधेयक पारित गर्दा उपस्थित ७१ मध्ये १४ सांसद हिँडिसकेका थिए । दोस्रो बैठकमा पनि गणपूरक संख्या नपुगेपछि सभामुख सापकोटाले कार्यसूचीमा रहेका बाँकी कार्यक्रम हटाएर मंगलबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको घोषणा गरे । नयाँपत्रिका दैनिक बाट ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार