देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भण्डारण केन्द्र निर्माणमा ढिलाइ, कोभिड खोप गाडीभित्रै

0

काठमाडौँ – चीनबाट पछिल्लो पटक आएको भेरोसेल खोप राजधानीको टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा गाडीमै थन्किएको छ । बुधबार आएको १६ लाखमध्येकै खोप रेफ्रिजेरेटर जडित गाडीमा छ भने एक साताभित्रै थप ३० लाख डोज ल्याउने तयारी छ ।

राजधानीमा केन्द्रीयस्तरको अत्याधुनिक र सातै प्रदेशमा खोप भण्डार केन्द्र बनाउन सरकारले २०७६ कात्तिकमै प्रक्रिया सुरु गरेको थियो । राजधानीको टेकुसहित बाराको पथलैयामा केन्द्रीयस्तरको र विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा प्रदेशस्तरको भण्डार केन्द्र बनाउने भनिएको थियो ।

टेकुस्थित स्वास्थ्य विभाग परिसरमा दुई वर्षमा सक्ने गरी ८ करोड ४० लाख २० हजार रुपैयाँ बजेटमा भण्डारण केन्द्र बनाउन २०७६ फागुनमा कौशल बस्नेत र कुँवर जेभीले ठेक्का पाएका थिए । तर, डेढ वर्ष बितिसक्दा जगसमेत खनिएको छैन । राजधानीबाहिर भौतिक संरचना सम्पन्न भए पनि ‘कोल्ड चेन’ जडान भएका छैनन् । उपत्यकाबाहिर कोल्ड चेन जडानको जिम्मेवारी खोपसम्बन्धी विश्वव्यापी सञ्जाल (गाभी) को सहयोगमा युनिसेफले लिएको विभागले जनाएको छ ।

सरकारले वैशाखसम्ममा कुल २ करोड ५१ लाख ३९ हजार डोज खोप ल्याउने लक्ष्य राखेको छ । १८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार जनालाई खोप लगाउन अझै बाँकी छ । नेपाललाई आवश्यक खोप दिन उत्पादक कम्पनी सकारात्मक छन् । तर ल्याएका खोप राख्ने ठाउँ नहुँदा खोप अभियानले गति लिन सकेको छैन । भण्डारण अभावकै कारण गत असारमा चीनबाट खरिद गरिएको पहिलो चरणको १० लाख डोज भेरोसेल खोप त्रिभुवन विमानस्थलबाट सिधै वाग्मती र गण्डकी प्रदेशको भण्डारण केन्द्रमा पठाइएको थियो ।

प्रदेश १ को विराटनगरमा ९ हजार ७ सय लिटर क्षमताको भण्डार कक्ष छ । अहिले ७ हजार लिटर नियमित खोपले ओगटेकाले अब २ हजार ७ सय लिटर मात्रै राख्न सकिन्छ । कर्णालीमा आफ्नै चिस्यानयुक्त भण्डार छैन । आवश्यक खोप नेपालगन्जबाट आपूर्ति हुँदै आएको छ । नेपालगन्जमा ७ हजार ५ सय लिटर क्षमताको भण्डारण छ ।

प्रदेश २ मा पनि भण्डारण स्थान नै छैन । सिरहा र सप्तरीमा विराटनगरबाट र अरू ६ जिल्लामा हेटौंडाबाट आपूर्ति हुन्छ । विराटनगर, नेपालगन्जमा सञ्चालित प्रदेशस्तरका भण्डार कक्ष पनि दुई दशक पुराना हुन् । राजधानीमै भण्डार कक्ष समयमा निर्माण नहुनुमा ठेकेदार कम्पनी र कर्मचारी जिम्मेवार देखिन्छन् । ठेक्का अवधिभित्र विभागमा तीन जना महानिर्देशक परिवर्तन भइसकेका छन् । ‘काम सुरु गर्न २/३ फिट जग खनेपछि कालोमाटो, बालुवा मिसिएको माटो र पानी भेटियो । डिजाइनअनुसार हात्तीपाइले मात्र उठाएर संरचना बनाउँदा पछि भासिने डर भयो । यही कुरा उल्लेख गरेर माटो परीक्षण गराउन विभागमा निवेदन दियौं,’ ठेकेदार कम्पनी कौशल बस्नेतका कार्यकारी निर्देशक भक्तबहादुर बस्नेत भन्छन्, ‘तर, माटो परीक्षणको रिपोर्ट आउन मात्रै महिनौं लाग्यो । रिपोर्टले पनि हात्तीपाइलेले मात्र संरचना बनाउँदा पछि भासिने सम्भावना रहेको प्रतिवेदन दियो ।’

डिजाइन परिवर्तन गर्न मात्रै कर्मचारीले तीन महिना लगाएको उनको आरोप छ । अहिले फाइल विभागमा विचाराधीन रहेकाले स्वीकृति भएको भोलिपल्टबाट काम थाल्ने उनी बताउँछन् । ‘निजी काम भए फाइल स्वीकृत गर्न ७ दिनमा सकिन्थ्यो । तर, यहाँ ७ महिना लाग्यो,’ उनले भने, ‘बैंक धरौटी र बिमा मात्र नवीकरण गर्न वार्षिक ९ लाख रुपैयाँ खर्च लाग्छ । काम गर्न दिनुपर्‍यो कि ठेक्का रद्द गरेर क्षतिपूर्ति दिनुपर्‍यो ।’ उनले नयाँ डिजाइनअनुसार बजेट स्वीकृत भएमा नौ महिनाभित्रै ठेक्का पूरा गर्ने दाबी गरे ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले भने आफू भर्खरै आएकाले यसबारे जानकारी नभएको बताए । विभागका आपूर्ति व्यवस्थापन शाखा प्रमुख उपेन्द्र ढुंगानाले फाइल स्वीकृति गर्ने क्रममा रहेको प्रतिक्रिया दिए । ‘छलफलमा छौं,’ उनले भने ।

केन्द्रीय भण्डारण कक्ष अहिले टहरामा छ । यहाँ कोभिडबाहेक गर्भवती महिला र शिशुलाई दिनुपर्नेर् बीसीजी, डीपीटी, हेपाटाइटिस बी, पोलियो, दादुरा, रुबेला, जेई, टिटानस, टीडी खोप भण्डारका लागि कोचाकोच गर्नुपर्ने अवस्था छ । प्रत्येक वर्ष यी खोप एक करोड ९३ लाख ७५ हजार डोज आउँछन् । सरकारले निःशुल्क लगाउने यस्ता खोप समयमा नलगाए क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, निमोनिया जस्ता रोगको जोखिम बढ्छ । यी ९ थरी खोप भण्डारणको समस्या कोभिडअघि नै थियो । भण्डार कक्ष अभाव हुँदा नियमित खोपसमेत पर्याप्त मात्रामा भण्डारण हुन सकेको छैन ।

विश्व स्वास्थ्य संगठनले प्राकृतिक विपत्तिलगायत व्यवस्थापन कमजोरीका कारण समयमा खोप ल्याउन नसकिने भन्दै ६ देखि ११ महिनासम्मको स्टक राख्नुपर्ने मापदण्ड तोकेको छ । तर, भण्डारण अभावका कारण मुस्किलले ३ महिनाका लागि मात्र खोप राख्दै आएको विभागको कोल्ड चेन एन्ड भ्याक्सिन व्यवस्थापन शाखा प्रमुख बडेबाबु थापाले बताए । ‘पोलियो खोप माइनस १५ देखि २५ डिग्री सेल्सियस तापक्रममा राख्नुपर्छ । अन्य खोप २ देखि ८ डिग्री सेल्सियसमा भण्डार गर्नुपर्छ,’ उनी भन्छन्, ‘तापक्रम मिलाउन नसके खोप बिग्रिन्छ । त्यसैले तत्काल आधुनिक खोप भण्डार केन्द्र जरुरी छ ।’

प्रदेशतिर पनि समस्या उस्तै छ । प्रदेश १ स्वास्थ्य आपूर्ति व्यवस्थापन शाखा निमित्त प्रमुख शम्भु साहका अनुसार नियमित खोप भण्डार जेनतेन गर्दै आइरहेकामा कोभिड खोपसँगै रोटा र टाइफाइड खोपले भण्डारमा समस्या थपिएको छ । ‘नयाँ भण्डार कक्षमा कोल्ड रुम चाँडै जडान गर्न पाए खोप बिग्रिने थिएन,’ उनी भन्छन् ।

उता, धनगढीमा खोप ओसारपसार गर्ने रेफ्रिजेरेटर भ्यान डेढ वर्षदेखि थन्किएको छ । नयाँ खरिदका लागि विभागलाई पटकपटक आग्रह गर्दा पनि बेवास्ता गर्दै आइरहेको धनगढीका कर्मचारीको गुनासो छ । भ्यान नहुँदा सुदूरपश्चिम प्रदेशअन्तर्गत बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेलधुरालगायत दुर्गम जिल्लामा खोप ‘कोल्ड बक्स’ मा राखेर ओसारपसार हुने गरेको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन शाखा प्रमुख पद्म बिष्टले जसरी भए पनि ७२ घण्टाभित्र सम्बन्धित जिल्लाको कोल्ड रुममा पुर्‍याउनुपर्ने अन्यथा बिग्रिने समस्या रहेको बताए । ‘धेरै टाढा पुर्‍याउनुपर्ने जिल्लामा तापक्रम सन्तुलन बनाउन आइस बक्सले समेत भ्याउन गाह्रो छ,’ उनी भन्छन्, ‘यसले केन्द्रबाट भ्याक्सिन ल्याइसकेपछि पुनः प्याकिङ गर्नॅपर्ने अर्को समस्या छ ।’ बुटवल, विराटनगर र हेटौंडामा भने कोल्ड रुम सञ्चालनमा ल्याउन थ्री फेज लाइन जडान गर्न बाँकी छ । खोप विज्ञ श्यामराज उप्रेती भन्छन्, ‘फाइजर खोप माइनस ७० डिग्री सेल्सियसमा राख्नुपर्छ । प्रदेशस्तरमा यस्तो भण्डार कक्ष बनेको छैन । केन्द्रमा पनि एक लाख डोज अट्ने सानो मात्र तयार भएको छ ।’

उप्रेतीका अनुसार फाइजर खोप माइनस ७० डिग्रीमा राख्न सके ६ महिनासम्म बिग्रिँदैन । माइनस २ देखि माइनस ८ डिग्रीमा राखेमा एक महिना मात्र टिक्छ । केन्द्रमा माइनस ७० डिग्री र प्रदेशस्तरमा माइनस २ देखि ८ डिग्रीको भण्डार कक्ष बनाउन सकिने उनको सुझाव छ । स्वास्थ्य विभाग कोल्ड चेन एन्ड भ्याक्सिन व्यवस्थापन शाखा प्रमुख थापाले कोल्ड रुम भन्सार कार्यालयमा रहेको र चाँडै ल्याउने क्रममा रहेको बताउँछन् । कान्तिपुर दैनिक बाट ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार