देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भदौ १० देखि कांग्रेसले चुनावी अभियान

0

काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन केन्द्रित भएर भदौ २ देखि सुरु गर्ने भनेको अभियान आठ दिन पर सारेको छ। कार्यसम्पादन समितिको शनिबार बिहान बसेको बैठकले भदौ १० देखि २४ सम्म निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

बैठकले अभियानलाई प्रभावकारी बनाउन सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ। बैठकमा साउन ३० र ३१ गते काठमाडौंमा स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेलाको तयारीका विषयमा समेत छलफल भएको थियो।

बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयनको अधिकार सभापति शेरबहादुर देउवालाई दिएको छ। विधानको व्यवस्थाबमोजिम प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीबाट उम्मेदवार हुनेलाई सभापति देउवाले उम्मेदवारी मनोनयनको औपचारिक पत्र दिनेछन्।

बैठकपछि कांग्रेसद्वारा जारी विज्ञप्तिमा छ, ‘२०७९ मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२(८) (क)(ख) र (ग) बमोजिम तथा प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२(७)(क)(ख)(ग) र (घ) बमोजिमको प्रक्रिया पुर्‍याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीका सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फत निर्देश गर्ने।’

बैठकले आगामी चुनावका लागि निर्वाचन आयोगमा ऐनबमोजिम दल दर्ता गराउने निर्णय गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेललाई आयोगमा दल दर्ता गर्ने अख्तियारी बैठकले दिएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार