देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भरिन थाले अस्पताल, कडाइ गर्दै सरकार

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – अस्पतालमा कोभिड–१९ का संक्रमितको भर्नादर बढेको छ। गत साताभन्दा दोब्बरले संक्रमित संख्या बढेका छन्। कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले पनि सरकारलाई प्रतिबन्धात्मक व्यवस्था गर्न सिफारिस गरेको छ।

सीसीएमसीसीको आइतबार बसेको बैठकले विद्यालय बन्दसहित विभिन्न प्रतिबन्धात्मक व्यवस्थाका लागि सरकारलाई सिफारिस गरेको हो। अब अर्को सूचना जारी नभएसम्मका लागि सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन पाइने छैन। भेला तथा महोत्सव आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालयमार्फत लेखी पठाउन सिफारिस गर्ने निर्णय बैठकले गरेको छ। केन्द्रकी प्रवक्ता सुनिता नेपालका अनुसार आगामी माघ १५ गतेसम्म मुलुकका आधारभूत तथा माध्यमिक विद्यालयहरूले बिदा दिन सिफारिस गर्ने निर्णयसमेत गरिएको छ। वार्षिक बिदामा मिलान हुने गरी बिदा दिनसमेत बैठकले निर्णय गरेको हो।

केन्द्रका सिफारिस सम्बन्धित मन्त्रालयको निर्णयपछि कार्यान्वयनमा आउने कानुनी व्यवस्था छ। बैठकले विद्यालय बन्दका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत सूचना जारी गर्न सिफारिस गर्ने निर्णय गरेको छ। बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षमाथिका सबै उमेरका पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकहरूलाई खोप उपलब्ध गराउन सरकारलाई भनेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक खोप आपूर्ति गर्नुपर्ने निर्णयसमेत बैठकले गरेको छ। यसका लागि जिल्ला खोप समन्वय समितिले प्राथमिकता साथ खोप अभियान सञ्चालन गर्न सहजीकरण गर्नुपर्ने देखिएको छ।

बैठकले सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने प्रशासनिक, सामाजिक एवं त्यहीँ प्रकृतिको कार्यक्रम नगर्न आह्वान गरेको छ। नगरी नहुने नियमित कामको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउन पनि बैठकले निर्णय गरेको छ। सार्वजनिक स्थानहरूमा (कार्यालय, होटल, रेस्टुराँ, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य कोभिडविरुद्धको भ्याक्सिन लगाएको कार्ड (मोबाइलमा भए पनि हुने) साथमा देखाउनुपर्ने छ। ती निकायहरूले आगामी माघ ७ गतेदेखि लागू हुने गरी खोपकार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउन गृह मन्त्रालयमार्फत सिफारिस गर्ने निर्णय गरेको छ।

सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड 
माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने निर्णय भएको छ। प्रदेश सरकारहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत सबै स्थानीय तहहरूलाई बिगतमा झैं आवश्यक सहयोग तथा सहजीकरण गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ।

नेपाल प्रवेश बिन्दुमा एन्टिजेन परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउने र परीक्षणका क्रममा पोजेटिभ देखिएकालाई तत्काल संस्थागत आइसोलेसन (होल्डिङ सेन्टर, होटल) आदिमा राख्न सम्बन्धित कोभिड–१९ संकट जिल्ला व्यवस्थापन समन्वय केन्द्रले समन्वय गर्नुपर्ने छ। विगतमा भएको अभ्यास अनुरूप भुक्तानी गर्ने स्रोत सुनिश्चितताका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ।

सार्वजनिक स्थलमा निःशुल्क एन्टिजेन बुथ
सार्वजनिक स्थानहरूमा निःशुल्क एन्टिजेन टेस्ट बुथहरू स्थापना गर्ने र नियमित खोप केन्द्रहरूलाई खोप अभियानकै रूपमा अगाडि बढाउने निर्णय गरिएको छ। विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित सेमेष्टर र वार्षिक परीक्षाहरू जनस्वास्थ्य सुरक्षा मापदण्ड पालना हुने गरी जेड आकारमा बसाई सञ्चालन गर्न निर्णय गरिएको छ। परीक्षा केन्द्रमा मास्क र स्यानिटाइजरको व्यवस्था अनिवार्य गर्न र भौतिक दूरीको प्रावधान कडाइका साथ गर्ने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरिएको छ।

पर्यटन मन्त्रालयले आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भीडभाड कम हुने गरी उडान तालिका मिलाउनुपर्ने छ। बैठकले माघ ७ गतेपछि आन्तरिक उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ।

सरकारले मंसिर १३ र पुस ८ गते जारी आदेशलाई अध्यागमन विभागबाट टाभल एड्भाइजरी जारी गर्दा थप कडाइ गरिएको छ। पूर्ण मात्रा खोप लगाएको र बोर्डिङ पास जारी हुनुभन्दा ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ भएको यात्रुलाई विदेशबाट नेपाल प्रवेशका लागि सम्बन्धित वायुसेवाले बोर्डिङ पास जारी गर्ने निर्णय गरेको छ।

त्यस्तै दक्षिण अफ्रिकालगायत ९ वटा मुलुकबाट नेपाल आउने वा ती मुलुकहरूबाट ट्रान्जिट बनाई नेपाल यात्रा गर्ने नेपाली नागरिक, कूटनीतिक तथा अफिसियल राहदानी बाहक वा आवासीय प्रवेशाज्ञा प्राप्त यात्रुको हकमा मात्र क्वारेन्टाइन तथा आइसोलेसनको व्यवस्था लागू गर्ने निर्णय गरेको छ। अध्यागमन विभागले ट्राभल एड्भाइजरी सूचना जारी गर्दा गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समन्वय गर्ने निर्णय भएको छ। त्यस्तो सूचना जारी भएको मिति, समय र अवधिपछि मात्र लागू गर्ने व्यवस्था मिलाउनु पर्नेछ।

कोभिड–१९ को स्थानीय अवस्था हेरी जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि, २०७८ र एकीकृत कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार कार्ययोजना, २०७८ कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमार्फत निर्देशित गर्ने निर्णय गरिएको छ। ओमिक्रोनलगायतका भेरियन्टको प्रभाव र ध्यान दिनुपर्ने विषयमा स्वास्थ्य क्षेत्रका विभिन्न व्यक्तित्वमार्फत नागरिक स्तरमा सकारात्मक सूचना जानकारी गराउने कार्यमा स्वास्थ्य मन्त्रालयले थप पहल गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ।

भर्नादर दोब्बर बढी
कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्रकुमार बस्नेतका अनुसार, एक साताअघि कोभिड अस्पतालहरूमा भन्दा अहिले भर्नादर बढेको छ। कोभिड–१९ केन्द्रीय वीर अस्पतालले समन्वय गरेका उपत्यकाका १३ वटा अस्पतालमा संक्रमितको भर्ना दर बढेको हो। त्यस्तै उपत्यका बाहिर प्रदेशका ७ वटा अस्पतालमा पनि बिरामीको भर्ना हुने दर बढेको डा. बस्नेतले जानकारी दिए।

केन्द्र र प्रदेशमा रहेका अस्पतालमा रहेका समस्याको पहिचान गरिएको पूर्तिका लागि कदम पनि अगाडि बढाइसकेको उनले बताए। ओमिक्रोन भेरियन्टका कारण हुन सक्ने बिरामीको चापलाई मध्यनजर गरी सबै अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशनसमेत दिइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले अस्पतालमा आईसीयू, अक्सिजन, भेन्टिलेटरलगायत अन्य सामग्रीको यथेष्ठ जोहो गरिएको बताइन्।

डा. मिश्राका अनुसार, ओमिक्रोन माथिल्लो श्वास–प्रश्वास प्रक्रियामा नै वृद्धि विकास भइरहेको पाइएको छ। कोरोना भाइरसको डेल्टालगायतका अन्य भेरियन्टहरू तल्लो श्वास–प्रश्वास नली अर्थात् फोक्सोमा वृद्धि हुने गरेका थिए। हालसम्म नेपालमा कुल २७ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भइसकेको मन्त्रालयले जनाएको छ। अहिले एसजीन नेगेटिभको संख्या बढिरहेकाले ओमिक्रोनको संक्रमणमा वृद्धि भइरहेको प्रवक्ता मिश्राले जानकारी दिइन्। ओमिक्रोनको पुष्टि गर्न एसजिन नेगेटिभ देखिएका नमुनाहरूको मात्र जिन सिक्वेन्सिङको लागि पठाइने गरेको छ।

अहिले मुलुकभर संक्रमण दर जसमध्ये ९ दशमलव ५ प्रतिशत छ। सक्रिय संक्रमितमध्ये होम आइसोलेसनमा ६ हजार १ सय २७ जना छन्। जसमध्ये संस्थागत आइसोलेसनमा ६ सय २८ जना गरी ६ हजार ७ सय ५५ जना आइसोलेसनमा छन्। अहिले आईसीयूमा ७० जना संक्रमित उपचाररत छन्। त्यस्तै भेन्टिलेटरमा १६ जना छन्। संस्थागत क्वारेन्टाइनमा १ सय १३ जना छन्। कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढ्दो क्रममा रहेको प्रवक्ता डा. मिश्राले बताइन्। पछिल्लो चौबीस घण्टामा १ हजार ६ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ। १२ हजार ६ सय ३२ वटाको नमुना परीक्षण गरिएको थियो। जसमध्ये ६ सय १५ जना काठमाडौं उपत्यकामा संक्रमित भएका छन्। अन्नपुर्णपोष्ट दैनिक बाट ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार