देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भारतको लोकसभा निर्वाचन, कसको कति सिट ?

0

काठमाडौँ – भारतीय जनता पार्टी भाजपा नेतृत्वमा रहेको नेशनल डेमोक्रेटिक अलाइन्स (एनडीए) को गठबन्धनले बहुमत ल्याएपछि नरेन्द्र मोदी भारतमा लगातार तेस्रोपटक प्रधानमन्त्री बन्दैछन् । 

मंगलबार साँझ भाजपा मुख्यालयमा आयोजित सभामा उनले विकसित भारत निर्माणको सपनालाई साकार गरेरै छाड्ने उद्घोष गरे । ३४ मिनेटको सम्बोधनमा उनले आगामी पाँच वर्षमा सरकार सबै प्रकारका भ्रष्टाचारहरुविरुद्ध लाग्ने उद्घोषसमेत गरेका हुन् । 

भारतमा अप्रिल १९ देखि जुन १ सम्म सात चरणमा ४२ दिन लगाएर ५४३ सिटका लागि भएको निर्वाचनको मतगणना मंगलबार भएको थियो ।

भाजपा नेतृत्वको एनडीए गठबन्धनले २९२ सिट प्राप्त गर्दा इन्डियन नेशनल कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनले २३४ सिट प्राप्त गरेको छ । बाँकी १७ सिट भने कुनै पनि गठबन्धन आबद्ध नभएका दलहरुको छ ।

लोकसभामा २७२ सिट प्राप्त गर्ने दल वा गठबन्धनले तोकेको व्यक्ति प्रधानमन्त्री बन्न सक्ने अवस्था हुन्छ । नियुक्त भएका प्रधानमन्त्रीको सिफारिसमा २ जना राष्ट्रिपतिले नियुक्त गर्ने चलन छ । 

कुन गठबन्धनमा कुन पार्टीको कति सिट ?
अहिले एनडीए गठबन्धनको २ सय ९२ सिट छ । त्यसमध्ये निर्वाचनमा सबैभन्दा ठूलो दल भारतीय जनता पार्टीले २४० सिट प्राप्त गरेको छ । यो पार्टीको नेतृत्वमा रहेको एनडीएमा चन्द्रबाबु नाइडु नेतृत्वमा रहेको तेलगु डेसम पार्टी (टीडीपी) को १६ सिट र विहारका नितिश कुमारको नेतृत्वमा रहेको जनता दल युनाइटेड (जेडीयू) को १२ सिट छ । 

त्यस्तै, शिवसेनाको ७, लोक जनशक्ति पार्टी (रामविलास) को ५, जनता दल (सेकुलर) र जनसेना पार्टी, राष्ट्रिय लोक दलको दुई–दुई गरी ६ सिट तथा असम जनपरिषद्, युनाइटेड पिपुल्स पार्टी लिबरल, राष्ट्रवादी काँग्रेस पार्टी, अपना दल (सोनियालाल), अखिल झारखण्ड विद्यार्थी युनियन, हिन्दुस्तानी आवाम मोर्चाको एक–एक गरी ६ सिट प्राप्त गरेको छ । 

उता कांग्रेसको नेतृत्वमा रहेको इन्डिया गठबन्धनसँग २३४ सिट रहेको छ । जसमध्ये इन्डियन नेशनल काँग्रेसको ९९ सिट, उत्तर प्रदेशका अखिलेश यादवको समाजवादी पार्टीको ३७ सिट, पश्चिम बंगालकी ममता बनर्जीको २९ सिट, द्रविड मुन्नेत्र कजगम (डीएमके) को २२ सिट, उद्दव ठाकरे नेतृत्वको शिवसेनाको ९ सिट, राष्ट्रवादी कांग्रेस पार्टी (शरदचन्द्र पवार) को ८ सिट, भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीको ४ सिट, लालुप्रसाद यादवको राष्ट्रिय जनता दल (आरजेडी) को ४ सिट, आईएसआर कांग्रेस पार्टी ४ सिट, आम आदमी पार्टीको ३ सिट, इन्डियन युनियन मुस्लिम लिग ३ सिट, झारखण्ड मुक्ति मोर्चा ३ सिट रहेका छन् । 

त्यस्तै, जम्मू एण्ड कश्मीर नेशनल कांग्रेसको, विदुतलै चिरुतैगल कच्ची (भीसीके), भारतीय कम्युनिष्ट पार्टी (सीपीआई, भारतीय कम्युनिष्ट पार्टी (माले) लिबरेसनको दुई–दुई गरी ८ सिट र अन्य पाँच दलको एक–एक गरी ५ सिट छन् । 

कुल ५४३ मध्ये सिटमध्ये बाँकी १७ सिट कुनै पक्षमा छैनन् । त्यसमध्ये बाईएसआर कम्युनिष्ट पार्टी ५ सिट, स्वतन्त्र ७ जना र अन्य एक–एक सिटका पाँच वटा दलहरुको ५ सिट रहेका छन् ।  एजेन्सी

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार