देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भारतीय गुप्तचर संस्था र’अ को नाम बेचेर नेपाल प्रहरीमा बिचौलियाको चलखेल

0

(काठमाडौं) – नेपाल प्रहरीमा डीएसपीदेखि माथिल्ला पदमा सरुवा बढुवामा समेत भारतीय गुप्तचर संस्था ‘रअ’को नाम लिंदै हिंड्ने एक बिचौलियाका कारण भारतीय दूताबास समेत अनावश्यक विवादमा आउने गरेको छ । ‘रअ’ का नाममा प्रहरीमा चलखेल गर्ने ती विवादास्पद पात्र हुन्–कीर्ति पाण्डे ।

नक्सालस्थित बालमन्दिरको जग्गामा संचालित राई स्कुलका संचालक पाण्डे हरेक रात ‘रअ’को ठूलै मानिस हुँ भन्दै प्रहरीका उच्च अधिकारीसँग भेटघाटमा ब्यस्त हुने गर्दछन् । जब जब प्रहरीका सरुवा र बढुवा गर्ने समय हुन्छ, उनको दौडधूप झन् बढी हुने गर्दछ । ‘रअ’को नाम भजाउँदै उनले प्रहरीका अधिकृतहरुको सरुवा बढुवामा निकै चासो दिने गर्दछन् । प्रहरीका अधिकृत पनि नेपालको गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालय भन्दा पनि कीर्ति पाण्डेले बढुवा गरिदिने भ्रममा पर्दै उनको चाकडीमा धाउने गरेका छन् ।

पछिल्लो समयमा उनी दिनहुँ नेपाल प्रहरीको ‘आइजीपी बनाउने खेल’ मा लागेका छन् । आइजीपी ‘रअ’ कै सिफारिसमा मात्र हुने भन्दै उनले नेपालका शासकहरुले केही गर्न नसक्ने भ्रम प्रहरी अधिकृतलाई दिन पछि पर्दैनन् । ‘रअ’को आफू ठूलै पदमा भएजस्तो भ्रम छर्ने उनी ‘आइजीपी बनाउने मै हुँ’ भन्ने गर्दछन् । र, आइजीपीका दाबेदार एआइजी पनि यस्तै ‘रअ’का नाममा भ्रम पार्ने पाण्डेको भर पर्ने गरेका छन् ।

नेपाल प्रहरीका आइजीपी ठाकुरप्रसाद ज्ञवालीको कार्यकाल अब २७ दिनमात्र बाँकी छ । उनी २०७७ असार २४ मा अवकाश हुने भएकाले आइजीपीका दाबेदारहरुको चर्को प्रतिस्पर्धा चलेको छ । भावी आइजीपीका दाबेदार शैलेश थापा क्षेत्री र हरिबहादुर पाल हुन् । सरकारले उनीहरुमध्ये बरिष्ठता र कार्यसम्पादन मूल्यांकन हेरेर बढुवा गर्ने हो । ‘रअ’ले बढुवा गर्ने हुँदैहोइन । तर कीर्ति पाण्डे जस्ता बिचौलिया ‘रअ’ को नाम लिंदै आफैंले आइजीपी बनाउने जस्तो गरी रातदिन प्रहरीका उच्च अधिकारीसँग भेटघाट गर्ने गर्दछन् । र, उनीमार्फत् प्रहरीका गोप्य सूचना भारतीय दूताबासमा समेत पुग्ने गरेका छन् ।

प्रहरीका उच्च अधिकारीसँग पाण्डेको दिनरातको उठबसबारे आइजीपी सचिवालयले पनि निगरानी गरिरहेको स्रोतले बतायो । आइजीपी ज्ञवाली आफैं ३० बर्षे सेवावधि खारेज गरी आफ्नो पदावधि लम्ब्याउन नेताहरुकोमा धाइरहेका छन् । त्यही भएर पाण्डेको अस्वभाविक चलखेललाई उनले निगरानी गर्न लगाएको बताइन्छ ।

भारतले ‘रअ’को नेपाल चिफमा अभिजित हल्दरलाई खटाएको छ । तर कीर्ति पाण्डे ‘रअ’ को चिफ आफैं भएजस्तो प्रहरीका सरुवा बढुवादेखि आइजीपी नै नियुक्त गर्न लागेको भ्रम छर्न तल्लीन छन् । पाण्डेको यस्तो हर्कतले ‘रअ’ कै बदनाम गरेको छ । कुनै पनि देशका गुप्तचर निकायको काम गोप्य र सीमाभित्र हुनुपर्ने हो, तर कीर्ति पाण्डेले ‘रअ’का नाममा चोक चोकमा गरेको खुल्ला चलखेलले त्यो संस्थाकै अवमूल्यन गरेको छ ।

विगतमा तत्कालीन डीआइजी रमेश खरेल, सर्वेन्द्र खनाल र पुस्कर कार्कीलाई आफूले नै भारत लगेर सेटिङ मिलाएको हल्ला पाण्डेले चलाए । केही डीआइजीका सन्ततिलाई भारतमा अध्ययनका लागि पठाएको मैले नै हो भन्दै उनी नेपाल प्रहरीका उच्च अधिकारीको हुर्मत लिन समेत पछि पर्दैनन् । उनले ‘रअ’का नाममा गरेको अनावश्यक चलखेलले हल्दरसमेत दिक्क भएको भारतीय दूताबास निकट स्रोत बताउँछ ।

पाण्डेले नेकपाका नेता तथा ऊर्जामन्त्री बर्षमान पुन, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई आफूले जे भन्यो त्यही गराउन सक्ने भन्न समेत पछि पर्दैनन् । यसरी नेपालको प्रहरी संगठनदेखि नेताको बदनाम गर्ने कीर्ति पाण्डेले बालमन्दिरको सरकारी जग्गा कौडीको मूल्यमा सबलिजमा लिएर राई स्कुल संचालन गरेका छन् ।

बृहस्पति स्कुलले लिजमा लिएको उक्त जग्गा ऐन नियम विपरीत राई स्कुललाई सबलिजमा दिइएको छ । प्रजातन्त्रका लागि जीवनपर्यन्त संघर्षमा होमिएका सर्वोच्च नेता स्व.गणेशमान सिंहकी पुत्री रितासिंह बैद्यले बालसंगठन (बालमन्दिर) को जग्गा कौडीको मूल्यमा लिजमा दिएको बिषयमा सरोकारवाला निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत चुप छ । किनकि अख्तियारमा समेत कीर्ति पाण्डेले भ्रमको पर्दा हालेका छन् । जबकि एकै दिन अधिग्रहण भएको ललिता निवासको जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया सुरु भइसकेको छ । तर सीता भवन(बालमन्दिर)को जग्गामा कौडीको मूल्यमा कीर्ति पाण्डेको राई स्कुल र अशोक अग्रवालको विशाल ग्रुपले रजगज गरिरहेको छ ।(नेपालफेस बाट साभार)

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार