देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भिड थेग्न नसकेर एनओसी प्रमुख पौडेलले राजीनामा दिएपछी मन्त्री एक्सनमा

0

काठमाडौं – वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) प्रमुख शान्तिराम पौडेलले पदबाट राजीनामा दिएका छन् ।

सेवा प्रवाह असहज बनेको र शिक्षा मन्त्रालयले माग तथा गुनासा सुनुवाइ नगरेको भन्दै पौडेलले बुधबार शिक्षा मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

आफूले एनओसीको सेवा प्रवाह सुधार गर्न खोजे पनि मन्त्रालयले जनशक्तिको व्यवस्था नगरिदिएको र सेवा सुधार गर्न नसकिएको भन्दै राजीनामा दिएको पौडेलले बताए ।

पौडेलले राजीनामा दिएपछि शिक्षामन्त्री सुमना श्रेष्ठ बिहीबार सानोठिमीस्थित एनओसी कार्यालय पुगेकी थिइन् । पौडेलले राजीनामा दिएपछि सेवा प्रवाह जटिल बनेको जानकारी आएपछि श्रेष्ठ एनओसी कार्यालयको वस्तुस्थिति र सेवा प्रवाहबारे बुझ्न त्यहाँ पुगेकी हुन् । उनी त्यहाँ पुग्दा बिहानैदेखि नै सेवाग्राही लामबद्ध थिए भने कर्मचारीले झ्यालबाट सेवा प्रवाह थालिसकेका थिए । 

पौडेलले राजीनामा दिएलगत्तै मन्त्रालयले वासु वस्तीलाई एनओसी कार्यालय पठाएको छ । मन्त्री श्रेष्ठले केहीबेर कार्यालयको सेवा प्रवाह नियालेपछि एनओसी कार्यालय प्रमुख वस्तीसँग कुराकानी गरिन् ।

मन्त्री श्रेष्ठले एनओसी सेवा चुस्त र प्रभावकारी बनाउन निर्देशन दिँदै कर्मचारी थप्न परे पनि मन्त्रालय तयार भएको बताएकी थिइन् । ‘यदि सेवा प्रवाहमा समस्या भएको हो भने कर्मचारी थप गर्न सक्छौँ, तर यसरी सेवा प्रवाहमा सास्ती हुनुभएन,’ उनले भनिन् ।

पछिल्लो तीन महिनायता सेवाग्राहीको भिडका कारण एनओसी कार्यालयका कर्मचारीलाई सेवा दिन हम्मेहम्मे हुने गरेको छ । कार्यालयको तथ्यांकअनुसार जापान जाने विद्यार्थीको संख्या धेरै हुँदा एनओसी कार्यालयलाई भिड थेग्न कठिन हुने गरेको हो । हिजोआज दैनिक एक हजार पाँच सयभन्दा बढी निवेदन आउँछन् । तर, बिहानैदेखि बेलुकी अबेरसम्म सेवा दिँदा जम्मा एक हजारहाराहारी सेवाग्राहीले सेवा लिन पाउँछन् । अन्य सेवाग्राहीको निवेदन पेन्डिङमा राख्ने गरिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार