देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मजदुरका लागि अविलम्ब राहतको व्यवस्था गर : सभापति देउवा

0

(काठमाडौं) – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण श्रमिकले कष्टकर स्थिति भोग्नु परेको भन्दै उनीहरुलाई अविलम्ब राहतको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिंदै सभापति देउवाले समस्यामा परेका श्रमिकलाई अविलम्ब राहतको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका हुन् ।

अहिले पूरै विश्व कोरोना भाइरस (कोभिड १९) को महामारीबाट विश्वब्यापी रुपमै प्रताडित भएको छ । नेपाल पनि कोरोना भाइरस संक्रमणको जोखिमका कारण लकडाउनको अवस्थामा रहेकोले सम्पूर्ण नागरिकको जीवन सहज हुन सकेको छैन ।

यो बेला श्रम गरेर गुजारा गर्ने श्रमिकहरुको जीवन खाद्यान्न लगायत अन्य अत्यावश्यक वस्तुको अभावमा अझ बढी कष्टकर हुन पुगेको छ । श्रमिकको यो कष्टकर जीवनका सम्बन्धमा नेपाली कांग्रेसले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । आज दिन श्रमिक वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन भएको देउवाले बताएका छन् ।

सन्देशमा भनिएको छ, “वि.संं. २००३ सालमा नेपाली कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरहरुको पहिलो ऐतिहासिक आन्दोलन भएको थियो । सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दवाउने नीति अख्तियार गरेर जननायक बी.पी. कोइराला लगायत धेरै नेताहरुलाई पक्राउ गरेको थियो । नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन थियो । त्यसैले नेपाली कांग्रेस र मजदूरहरु सधैं एक अर्कामा आवद्ध भएर एक अर्काका अनन्य सहयोगी भएर रहिआएको कुरा सर्वविदितै छ ।”

सभापति देउवाले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण श्रमिक दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना प्रकट गरेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार