देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मत थुनेर महाधिवेशन

0

चितवन – शुक्रबार नारायणी तीरमा भव्य समारोहबीच उद्घाटन भएको महाधिवेशनको बन्दसत्र कार्यतालिकाअनुसार शनिबार र आइतबार दिनभर अघि बढ्न सकेन । आइतबार दिनभर महाधिवेशन प्रतिनिधि बन्दसत्रमा व्यग्र प्रतीक्षामा थिए भने अध्यक्ष ओली भने आफ्नो ‘कोर टिम’ सँग होटलमा बसेर नामावली बनाइरहेका थिए ।

को–को के–के पदमा बस्ने भन्ने टुंगो लगाएर मात्र ओली बन्दसत्रमा प्रवेश गरेका थिए । बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र राति १० बजे मात्र सुरु भएको थियो । निर्धारित समयभन्दा १२ घण्टा ढिलो आएका अध्यक्ष ओलीले करिब दुई घण्टा अध्यक्षमण्डलका नेताहरूसँग छलफल गरेका थिए । उनले निर्वाचनमा जाँदा प्रतिस्पर्धा हुने र त्यसले पार्टीभित्र वैमनस्यता हुने भन्दै सर्वसम्मत नेतृत्व चयन गर्ने बताएका थिए ।

ओलीको अध्यक्षतामा ११ सदस्यीय अध्यक्षमण्डलको बैठक बसिरहेका बेला विजय सुब्बा नेतृत्वको निर्वाचन आयोगले राति नै कार्यतालिका सार्वजनिक गरेको थियो । राति ११ बजेदेखि सुरु हुने कार्यतालिका सार्वजनिक भने ११:३० मा गरिएको थियो । मतदाता नामावलीमा दाबी विरोध गर्न १५ मिनेट, छानबिन गर्न ५ मिनेट र अन्तिम नामावली प्रकाशन गर्न ५ मिनेट मात्रै छुट्याइएको थियो । त्यस्तै, उम्मेदवारको विरोधमा उजुरी दिन १५ मिनेट र छानबिन गर्न १० मिनेट मात्र छुट्याइएको थियो ।

त्योबीचमा पनि आकांक्षीहरूले आयोगबाट फारम लिएर भरिरहेका थिए । फारम भर्ने म्याद १२.३० सम्म थियो । तर, त्यो समय नसकिँदै आयोगले निर्वाचनका सबै प्रक्रिया स्थगन गर्‍यो । योबीचमा अन्य उम्मेदवारसहित अध्यक्षमा भीम रावल र उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा टंक कार्कीले मनोनयनपत्र भरिसकेका थिए । तर निर्वाचन कार्यक्रम बिहान ८ बजे मात्र सुरु हुने भनिएपछि उनीहरूले फारम बुझाउन पाएनन् । आयोग अध्यक्ष सुब्बाले रातिको समयमा उम्मेदवारी दर्तालगायतका काम नगर्ने भनेर स्थगित गरिएको बताए । ‘यो काम राति नगरौं भन्ने भयो । अहिले निर्वाचनका सबै प्रक्रिया स्थगित गरिएको छ । सोमबार बिहान ८ बजेदेखि सुरु हुन्छ,’ सुब्बाले कान्तिपुरसँग भने ।

निर्वाचन कार्यक्रम स्थगित भएसँगै उम्मेदवार र प्रतिनिधिहरू अलमल परेका थिए । एकाएक ओली बन्दसत्रमा आएर प्रस्तावित केन्द्रीय कमिटीका सदस्यहरूको नामावली पढ्न थाले । करिब १७ मिनेटमा ३ सय जनाको नाम पढेपछि उनले अन्त्यमा आफ्नो नाम पढौं कि नपढौं बनेर सोधे । सबैले तालीले स्वागत गरेपछि उनले आफ्नोसमेत घोषणा गरे । त्यसपछि बन्दसत्र केही समयका लागि स्थगित भयो । १९ सदस्यीय केन्द्रीय पदाधिकारीको नाम घोषणा गर्न बाँकी नै थियो । दिनभर पनि नेताहरूबीच समझदारी हुन नसकेकाले अन्तिम छलफलका लागि ओली अध्यक्षमण्डलका सदस्यहरूसँग बसे ।

ओलीनिकट नेताहरूले छिनछिनमा भनिरहेका थिए– अब १५ मिनेटमा पदाधिकारीको पनि नामावली प्रस्ताव हुन्छ । तर, राति २:३५ सम्म पनि ओली अध्यक्षमण्डलसँग छलफलमा थिए । रावल र भुसालले भने सर्वसम्मतिका नाममा व्यक्तिले कमिटी घोषणा गर्न नपाइने भन्दै निर्वाचन प्रक्रिया सुरु गर्न माग गरिरहेका थिए । निर्वाचन प्रक्रियाबिना नाम घोषणा गरेर केन्द्रीय कमिटी बनाए । महाधिवेशनको वैधानिकतालाई चुनौती दिन आफू अदालतसमेत जाने भनेर नेता रावलले चुनौती दिएपछि संस्थापन पक्ष केही हच्किएको थियो ।

उता सूचीमा नाम परेका केन्द्रीय सदस्य उत्साही छन् भने नाम छुटेकाहरू भने आक्रोशित भएका छन् । ‘सहमतिका लागि नाम प्रस्ताव गरें, सहमत नहुनेहरूले चुनाव लड्न पाइन्छ, यद्यपि हामीलाई भोलि सोमबार बस्ने ठाउँ छैन, समस्या छ,’ उनले भने ।

अध्यक्षमण्डलमा लामो छलफलपछि नामावली घोषणा गरेको ओलीले बताए । तर अध्यक्षमण्डलमै रहेका रावलले ओलीलाई सर्वसम्मत गराउने प्रस्ताव अस्वीकार गरेका थिए । ‘अध्यक्षमा उठ्ने राजनीतिक घोषणा गरिसकेको छु र मनोनयनपत्र भरिसकेको छु । आयोगले जहिले भन्छ तहिले मनोनयनपत्र दाखिला गर्छॅ । अध्यक्षमा उम्मेदवारी दिन्छु भनेर मैले अध्यक्षमण्डलको बैठकमा पनि भनेको छु,’ उनले बन्दसत्रमा भने । केन्द्रीय सदस्यको सूचीमा पनि अध्यक्षमण्डलमा सहमति नभएको रावलको भनाइ छ । ‘यो सूचीबारे कुनै सहमति भएको छैन, यो सम्पूर्ण प्रक्रियामा मेरो असहमति छ,’ उनले भने ।

उपाध्यक्षमा उम्मेदवारी दर्ता गर्न लागेका नेता घनश्याम भुसालले आफू पछि नहटेको बताएका छन् । ‘अध्यक्षले नाम सुनाउनुभयो, चित्त नबुझेका साथीहरूले फारम भर्नुहोस् भन्नुभएको छ, मैले पनि फारम भर्छु,’ उनले कान्तिपुरसँग भने । पार्टीको नीति र लोकतान्त्रिक मान्यताअनुसार आफूले प्रतिस्पर्धा गर्ने उनको अडान छ । कान्तिपुर दैनिक बाट ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार