देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मधेसमा फेरि छ्यापछ्याप्ती पार्टी

0

काठमाडौं – जसपाका नेता मनीष सुमनले तराई–मधेस केन्द्रित गरी एउटा मात्र पार्टी अस्तित्वमा हुनुपर्नेमा जोड दिए। तर लोसपाका नेता केशव झाले भने एउटा कम्युनिस्ट विचारधारा र अर्को लोकतान्त्रिक विचारधारा भएका दुईवटा पार्टी तराई–मधेसमा चाहिने धारणा व्यक्त गरे।

तराई–मधेसलाई केन्द्रित गरी मधेसमा फेरि छ्यापछ्याप्ती पार्टी गठन हुन थालेका छन्। सिके राउतको जनमत पार्टीदेखि हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टीसम्म तराई–मधेसलाई केन्द्रित गरी गठन भएका छन्।

चुनाव नजिकिँदै जाँदा नेताहरूको व्यवस्थापन गर्न तराई–मधेसलाई केन्द्रित गरी नयाँनयाँ पार्टी घोषणा हुन थालेको हो। २०७७ वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकीकरण भई जनता समाजवादी पार्टी (जसपा) गठन भएपछि १६ महिनासम्म तराई–मधेस केन्द्रित एउटा मात्रै पार्टी सक्रिय रह्यो।

तर यो अवस्था लामो समय टिकेन। गठन भएको एक वर्षमै जसपामा चरम विवाद उत्पन्न भयो। त्यसको ६ महिनामै औपचारिक रूपमै जसपा विभाजित भयो। गत भदौ १ गते तराई–मधेसलाई केन्द्रित गरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएको छ। लोसपा फुटाएर अर्को पार्टी गठन गर्न केही शीर्ष नेता अहिले लागिपरेका छन्।

लोसपाका विर्खेशचन्द्र लाल, विजय सिंहलगायत नेताहरूले पुरानो तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ब्युताउन अभ्यास गरिरहेका छन्। निर्वाचन आयोगमा कसैले तमलोपा दर्ता नगरोस् भनेर उनीहरूले आफूनिकट एक नेतामार्फत तमलोपा दर्ता गराइसकेका छन्।

लालले आफूनिकट रविशंकर लाल कर्णलाई आयोगमा तमलोपा दर्ता गर्न लगाएका हुन्। लालले अब आफैं अगाडि देखिएर तमलोपाको अगुवाइ गर्ने तयारी थालेका छन्। फागुनको पहिलो साता उनले यसको औपचारिक घोषणा गर्दैछन्।

दुई महिनाअघि हृदयेश त्रिपाठीले जनता प्रगतिशील पार्टीको औपचारिक घोषणा गरेका थिए। उनी पनि तराई–मधेसलाई आधार बनाएर संगठन विस्तार गर्दैछन्। यता टीकापुर घटनामा कर्तव्य ज्यान मुद्दामा डिल्लीबजार कारागारमा रहेका निलम्बित सांसद रेशम चौधरीले पनि जेलबाटै नयाँ पार्टीको घोषणा गरेका छन्।

चौधरीकी पत्नीलाई उक्त पार्टीको अध्यक्ष बनाइएको छ। नागरिक उन्मुक्ति पार्टी नाम रहेको उक्त दलले पश्चिम तराई–मधेसलाई केन्द्रित गरेर संगठन विस्तार गरिरहेको छ। पछिल्लो समय सिके राउतको जनमत पार्टीले तराई मधेसमा उग्र गतिविधि गर्दै आएको छ। उक्त पार्टीका कार्यकर्ताहरूले अहिले तराई–मधेसमा पार्टीका नामबाट हिंसात्मक गतिविधि सुरु गरेका छन्।

खासगरी २०६४ सालको मधेस आन्दोलनपछि तराई–मधेसलाई केन्द्रित गरी नयाँ पार्टी खोल्ने होडबाजी सुरु भएको हो। एनजिओका रूपमा स्थापना भएको तत्कालीन मधेसी जनअधिकार फोरमलाई उपेन्द्र यादवले पार्टीका रूपमा आयोगमा दर्ता गराए। उक्त पार्टीले २०६४ सालको पहिलो संविधानसभाको चुनावमा समानुपातिकसहित ५२ सिट ल्यायो। त्यहीबेला महन्थ ठाकुरले पनि तमलोपा गठन गरेका थिए। त्यसयता तराई–मधेसमा पार्टी गठन गर्ने लहर नै चल्न थालेको हो।

त्यसो त यादवको तत्कालीन फोरम गठन हुनुअघि तराई–मधेसलाई केन्द्रित गरी नेपाल सद्भावना पार्टी अस्तित्वमा थियो। सो पार्टी २०४६ सालको आन्दोलनपछि गठन गरिएको थियो। २०४७ देखि २०६४ सालसम्म तराई–मधेस केन्द्रित भई सो पार्टी मात्र सक्रिय रह्यो। तर २०६४ सालको आन्दोलनपछि तराई–मधेसलाई केन्द्रित गरी छ्यापछ्याप्ती पार्टीहरू गठन भए।

२०७० सालको दोस्रो संविधानसभाको चुनावसम्म विजय गच्छदारको फोरम लोकतान्त्रिक, शरतसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा), अनिल झाको संघीय सद्भावना पार्टी, राजेन्द्र महतोको सद्भावना पार्टी, राजकिशोर यादवको फोरम गणतान्त्रिक, महेन्द्र यादवको तराई मधेस सद्भावना पार्टी (तमसपा) सक्रिय रहे। यीबाहेक यादवको फोरम पनि सक्रिय नै थियो।

२०७४ वैशाख ७ गते तराई–मधेस केन्द्रित तत्कालीन ६ दल तमलोपा, सद्भावा पार्टी, संघीय सद्भावना, रामसपा, तमसपा, फोरम गणतान्त्रिकले एकीकरण भई राजपा गठन भयो। ६ वटै दलका अध्यक्ष चक्रीय प्रणालीअनुसार दुईदुई महिनामा अध्यक्ष मण्डलको संयोजक फेरिने व्यवस्था पनि गरियो।

त्यसपछि मधेसमा दुई मात्र दल सक्रिय भए। त्यतिबेला तराई–मधेसमा राजपा र समाजवादी पार्टीको मात्र बाहुल्य रह्यो। यी दुई पार्टीबीच एकीकरण भई जसपा गठन भयो तर यो अवस्था लामो समय रहेन। जसपा विभाजित भयो। अहिले फेरि तराई–मधेसलाई केन्द्रित गरी नयाँ पार्टी गठन गर्न होडबाजी सुरु भएको छ।

जसपाका नेता मनीष सुमनले तराई–मधेस केन्द्रित गरी एउटा मात्र पार्टी अस्तित्वमा हुनुपर्नेमा जोड दिए। चुनाव नहुँदा मधेसमा धेरै पार्टी जन्मने तर चुनावपछि पार्टीको संख्या ह्वात्तै घट्ने उनको विश्लेषण छ। ‘३ प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्ने व्यवस्थाले चुनावपछि मधेसमा पार्टीको संख्या ह्वात्तै घट्छ,’ झाले भने, ‘त्यसैले यो अवस्था चुनावसम्म मात्र हो।’ जनाधार नभएका नेताहरूमा पनि पार्टी अध्यक्ष हुने लोभले तराई–मधेसलाई केन्द्रित गरी नयाँ नयाँ पार्टी गठन गर्ने क्रम बढेको उनको भनाइ छ। उनले भने, ‘तर चुनावमा उसको हैसियत थाहा हुन्छ। त्यसैले यो अवस्था चुनावसम्म मात्र हो।’

अबको चुनावपछि मधेसमा फेरि एउटै पार्टी हुने उनले दाबी गरे। तर लोसपाका नेता केशव झाले भने मधेसमा दुईवटा पार्टी चाहिने धारणा व्यक्त गरे। ‘एउटा कम्युनिस्ट विचारधारा र अर्को लोकतान्त्रिक विचारधारा भएको दुईवटा पार्टी तराई–मधेसमा चाहिन्छ,’ उनले भने। नागरिक दैनिक बाट ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार