देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मन्त्रिपरिषद्को तीन बैठकका १७ निर्णय सार्वजनिक (सूचीसहित)

0

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्को फरकफरक तिन दिनमा बसेको बैठकले १७ वटा निर्णय गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएकी हुन्।

मन्त्री शर्माले चैत १०, १४ र २० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय मंगलबार सार्वजनिक गरेकी  हुन्।

यस्ता छन् ३ बैठकका १७ निर्णय –

१. मिटरब्याजी समस्या सम्बन्धमा सिफारिस गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन। आयोगका सदस्यहरुमा पूर्वनायब महान्यायाधिवक्ता गणेशबाबु अर्याल र पूर्वप्रहरी नायब महानिरीक्षक उत्तमबाबु सुवेदी।

२. विदेशी लगानी तथा प्रविधि हस्तान्तरण (पहिलो संशोधन) नियमावली, २०७९ स्वीकृत।

३. शान्तिसुरक्षासम्बन्धी कार्यमा हुने खर्चको मापदण्ड, २०७८ खारेज।

४. नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १५ औँ बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन।

५. सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ मा हेरफेर गर्न स्वीकृति।

६. पूर्व–पश्चिम लोकमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्डमा पर्ने राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति।

७. पूर्वी पहाडी क्षेत्रमा रहेका वन, भूमि तथा जैविक विविधताको दिगो व्यवस्थापनको लागि विश्व वातावरण सुविधा (जीईएफ)बाट करिब ५५ करोड रुपैयाँ अनुदान सहायता स्वीकार।

८. विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा नेपालको सहभागिताका लागि अर्थ मन्त्रालयका सचिवको नेतृत्वको प्रतिनिधिमण्डल गठन।

९. ग्रामीण सडकको स्तरोन्नतिको लागि एसियाली विकास बैंकसँग सम्झौता वार्ता गर्नका लागि वार्ता टोली गठन।

१०. नेपाल चाइना बोर्डर इपिडेमिक प्रिभेन्सन एन्ड कन्ट्रोल मेकानिजमको दुई पक्षीय बैठकमा सहभागी हुन स्वीकृति।

११. बंगलादेशमा आयोजना हुने नेपाल–बंगलादेश संयुक्त सञ्चालक समिति तथा संयुक्त कार्यसमूहको पाँचौँ बैठकमा सहभागी हुन ऊर्जासचिव दिनेशकुमार घिमिरे नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति।

१२. जुरे पहिरो पीडितका लागि जनस्तरबाट संकलित रकम जिल्ला विपद् व्यवस्थापन समितिबाटै स्थानीय तहको समन्वयमा स्पष्ट खाका र मापदण्ड बनाई पीडितलाई नगद राहत उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकलाई निर्देशन।

१३. देवघाट क्षेत्र विकास समितिको अध्यक्ष पदमा देवघाट गाउँपालिका– ३ तनहुँका भीमबहादुर राना तोकिए।

१४. चौरजहारी नगरपालिका रुकुम पश्चिमलाई कर्णाली प्रदेश स्तरीय फुटबल रंगशाला स्थापना गर्ने र सभाहल निर्माण गर्ने प्रयोजनका लागि जग्गा प्राप्ति गर्न स्वीकृति।

१५. स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. शैलेन्द्रराज उप्रेतीले पेस गरेको राजीनामा स्वीकृत।

१६. भरतपुर अस्पताल तथा भेरी अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको आंगिक अस्पतालका रूपमा सञ्चालन गर्ने गरी शैक्षिक कार्यक्रम विस्तार गरिने।

१७. नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रार पदमा लीलानाथ भण्डारी नियुक्त।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार