देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मन्त्रीमण्डल पुनर्गठन हुन्छ, त्यसमा तामाङ समुदायबाट एक मन्त्री बन्छ

0

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले तामाङ समुदायका एक जनालाई मन्त्री बनाएर मन्त्रीमण्डल पुनर्गठन हुने बताएका छन।

प्रधानमन्त्री दाहालले मन्त्रीमण्डल पुनर्गठन हुने निश्चित भएको उल्लेख गर्दै त्यसमा तामाङ समुदायका एक जनालाई मन्त्री बनाउने घोषणा समेत गरेका हुन्।

सोनाम ल्होछारको अवसर पारेर शनिबार काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गत साल पनि आफूले सोनाम ल्होछारको अवसर पारेर घोषणा गरे अनुसार वागमती प्रदेशमा तामाङ समुदायबाट मन्त्री बनाएको पनि स्मरण गराए।

तामाङ सांस्कृतिक महोत्सवमा उनले पहिचान र अधिकारका पक्षधर वर्ग, जाति र समुदायको सहयोगमा मात्रै संघीयता कार्यान्वयनमा गुणात्मक फड्को मार्न सकिने बताए।

‘पहिचान र अधिकारको पक्षमा संघर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईंहरूले राम्रोसँग चिन्नूस्, यसको वरिपरि गोलबन्द हुनूस्’, प्रधानमन्त्रीले भने, ‘फेरि हामी शक्तिशाली हुनेछौँ,आन्दोलनका बाँकी कार्यभार पूरा हुनेछन्।’

उनले अहिले संघीयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको पनि स्पष्ट पारे। उनले भने, ‘संघीयताको सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखिएको छ,संघीय निजामती सेवा ऐन, संघीय शिक्षा ऐन, संघीय प्रहरी ऐनलगायत ऐन पारित गर्न उच्च महत्त्व दिएको छु। प्रहरी समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।’

पहिचान र अधिकार स्थापित गर्ने संविधान जारी गर्न दशौँ हजार योद्धाले बलिदान गरेका स्मरण गर्दै प्रधानमन्त्री दाहालले भने, ‘क्रान्तिकारी शक्ति, पार्टी र नेतृत्वलाई बलियो बनाएर मात्र संविधानको प्रगतिशील कार्यान्वयन र थप अधिकारको आधारशिला खडा हुन सक्छ भन्नेमा हामी सबै गम्भीर हुनैपर्छ।’

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार