देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मन्त्री रेणु यादवविरुद्ध कांग्रेस नेता रञ्जित कर्णको उजुरी

0

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवविरुद्ध उजुरी परेको छ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतलाई सार्वजनिक ठाउँमा ज्यान मार्ने धम्की दिएकी मन्त्री यादवविरुद्ध हुलाकमार्फत रौतहट प्रहरी समक्ष जाहेरि दिइएको हो।

नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य रञ्जित कर्णले मन्त्री यादवलाई कारबाही गर्नुपर्ने माग गर्दै हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी पठाएका हुन् ।

कर्णले भने, ‘जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिन गएको थिएँ,’ उनले थपे, ‘तर प्रहरीले घटना रौतहटको रहेकाले यहाँ दर्ता नहुने भनेपछि हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी पठाएको छु ।’

कर्णले मन्त्री यादवलाई पदमुक्त गर्न सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत ज्ञापनपत्र पठाएका छन् । मन्त्री यादवलाई पदमुक्त गर्दै कानुनबमोजिम कारबाही गर्न कर्णले अनुरोध गरेका छन् ।

मन्त्री यादवको अभिव्यक्ति मानव अधिकारको दृष्टिकोणले अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी मान्यताको खिल्ली उडाएकोले सो अभिव्यक्तिलाई नेपालको संविधानले अपराधी देख्ने भएको हुँदा तत्काल मन्त्री पदबाट बर्खास्त गर्दै कानुनबमोजिम कारबाही गर्न ज्ञापन पत्रमार्फत अनुरोध गरिएको छ ।

मन्त्री यादवले माघ ५ गते बलिदानी दिवसको अवसरमा रौतहटको गौरमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा। सीके राउतलाई ज्यान मार्ने धम्की दिएकी थिइन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार