देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्ताव

0

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरलाई नयाँ बन्ने सरकारको नेतृत्व गर्ने सम्मको प्रस्ताव गरेका छन् । तर यसबारेमा जसपामा नेताहरू औपचारिक रूपमा बोल्न चाहन्नन् । जसपाका एक पदाधिकारीले प्रधानमन्त्री ओलीबाट ठाकुरलाई यस्तो प्रस्ताव आएको दाबी गरे । केही दिन यता, नयाँ समीकरण बनाउन प्रधानमन्त्रीले जसपालाई मनाउन प्रयास गरिरहेका छन् ।

बिहीबार अपराह्न जसपाका ५ शीर्ष नेताहरूले प्रधानमन्त्रीसँग कुराकानी गरेका छन् । यसअघि, ठाकुरले पार्टीलाई समेत थाहा नदिई नयाँ समीकरण बनाउन प्रधानमन्त्री पक्षसँग कार्यदल गठन गरेका छन् । कार्यदलमा ठाकुरले आफू निकट दुई नेता सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई राखेका छन् ।

जसपा स्रोतका अनुसार जसपाले राख्दै आएको मागमा प्रधानमन्त्री सकारात्मक र लचिलो छन् । रेसम चौधरीलाई रिहाइ गर्न वातावरण बनाउनुपर्ने, लाल आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने, मधेस आन्दोलनको क्रममा लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, घाइतेहरूको उपचार गर्नुपर्ने लगायतका मुद्दा जसपाले उठाउँदै आएको छ ।

जसपा अर्का एक नेताले दाबी गर्दै भने, ‘प्रधानमन्त्री निकट पक्ष र जसपाबीच बनेको संयुक्त कार्यदलले यतीसम्म गृहकार्य गरेको छ कि, संविधान संशोधन कोलागि मस्यौदा समेत तयार गरेको छ ।’ तर उनलाई पार्टीभित्रै असहयोग हुने सम्भावना छ । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई कुनै पनि अवस्थामा ओलीसँग मिलेर जाने पक्षमा छैनन् । यती हुँदाहुँदै पनि भट्टराई  र यादव बिहीबार साँझ प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका छन् ।

पार्टी स्रोत भन्छ, पार्टीभित्र दुई लाइनको विवाद बढ्दै गएमा पार्टी फुट्ने अवस्था पनि आउन सक्छ । महन्थ र महतोले चाहे भने संसदीय दल र कार्यकारिणी समितिमा ४० प्रतिशत  सजिलैसँग पुर्याउन सक्ने अवस्था रहेको स्रोतको भनाइ छ । ‘त्यसमा पनि उपेन्द्र निकट केही नेताहरू उनीसँग चिढिएका छन् । यो अवस्थामा ठाकुर र महतो सुविधाजनक बहुमतमा पुग्नेछन्’ स्रोतले भन्यो । पूर्व राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादव र शरत्सिंह भण्डारीले भने उपेन्द्रलाई साथ दिएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार