देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेसले भन्याे, ‘महामारीमा नगर्ने भए उपचार किन चाहियो सरकार ?’

0

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमितको निशुल्क उपचार गर्न सरकारसँग माग गरेको छ ।

महामारीको बेलामा नै जनतालाई सरकार आवश्यक पर्ने भन्दै संक्रमित आफैंले उपचार गर्नुपर्ने भन्ने सरकारको निर्णय फिर्ता गर्न कांग्रेसले सरकारसँग आग्रह गरेको छ । कांग्रेसका विश्व प्रकाश प्रवक्ता शर्माले सोमबार विज्ञप्ति जारी गरेर सरकारलाई जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरेका छन् ।

सरकार कोरोना परीक्षण र उपचारको दायित्वबाट पन्छिन खोजेर गैह्रजिम्मेवार बनेको उनको भनाइ छ । प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोरोना महामारीबाट जनतालाई जोगाउन असफल प्रमाणित भइरहेको वर्तमान सरकारले परिक्षण र उपचारको दायित्वबाट पन्छिन गरेको निर्णयलाई नेपाली कांग्रेसले अत्यन्तै गैह्र जिम्मेवार ब्यवहारका रूपमा लिएको छ ।’

कोरोनाले जनताको आर्थिक जिवनमा परेको असर दृष्टिगत गरेर सबैको दायित्व सम्हाल्ने कर्तव्य सरकारको भएको भन्दै संक्रामक रोग उपचारको कानूनी ब्यवस्था अनुरुप पनि सरकार जिम्मेवारीबाट पन्छिन नहुने कांग्रेसको भनाई छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतले केही अघि नि:शुल्क रूपमा प्रबन्ध मिलाउन दिएको आदेशसम्म सरकारले पालना नगर्नुले जनता, मिडिया, प्रतिपक्ष, अदालत कसैको पनि नसुन्ने सरकार कसको सुन्छ ? भन्ने प्रश्न उब्जिएको छ ।’

कोभिड अस्पतालको अनिश्चितता, सामुदायिक आइसोलेसनहरु तयार गर्न ढिलाइ, भेन्टिलेटर अभाव, रेमडिसिभरको कालोबजारी, अव्यवस्थित क्वारेन्टाइन र शव ब्यवस्थापनमा सम्म लहडको नीतिले ‘सरकारको बौद्धिक र भौतिक दुवै अस्तित्वमा भयानक प्रश्न चिन्ह’ खडा भएको कांग्रेसको भनाई छ ।

उपचारको दायित्वबाट पन्छिए पश्चात् त ‘देशमा सरकार छ’ भन्ने बचेखुचेको भ्रमको अन्त्य गर्न सरकार आफै उद्दत रहेको पुष्टि भएको कांग्रेसले जनाएको छ । सांसद विकास कोष, दशैं भत्ता लगायत खारेज गरेर जनताको जीवन जोगाउन लगानी बढाउनु सरकारको कर्तव्य भएको विज्ञप्तिमा उल्लेख छ ।

कर्तव्य आत्मसात गरेर कार्य गर्न चेतावनी दिंदै कांग्रेस कोरोना परीक्षण र उपचार नि:शुल्क रूपमा गरेर महामारीबाट जनतालाई जोगाउन विशेष संवेदनशीलताका लागि प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार