देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

माओवादीमा ३३ वर्षदेखि दाहालकै एकछत्र

0

काठमाडौं – अरूले जे अनुमान गरे, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले त्यही गरे। अर्थात्, पार्टीको आठौं महाधिवेशनमा केन्द्रीय सदस्यको ‘लिस्ट’ पढेर सुनाए। त्यही केन्द्रीय समितिको बैठकले सोमबार आफ्नो ‘सर्वोच्च कमान्डर’ दाहाललाई घोषणा गरेको छ। यससँगै पार्टीको नेतृत्व अब पाँच वर्ष ‘औपचारिक’ रूपमा दाहालकै काँधमा आएको छ।

झन्डै ३३ वर्षदेखि एकल नेतृत्व हावी भइरहेको भन्दै ‘नेतृत्व र पुस्ता हस्तान्तरण’को बहस चल्यो। लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्ने भनेर चुनावी कार्यक्रमसमेत घोषणा गरियो। तर, अर्को निर्देशन जारी भयो– ‘केन्द्रीय सदस्यमा मात्र चुनाव हुन्छ। पदाधिकारी सबै केन्द्रीय कमिटीले निर्वाचित गर्ने।’

केन्द्रीय सदस्यको चुनावी कार्यक्रम सार्वजनिक भयो। तर, मनोनयन दर्ता नगर्दै ‘सहमतिको लिस्ट’ भन्दै दाहालले केन्द्रीय सदस्यको नाम बन्दसत्रमा घोषणा गरे। महाधिवेशन प्रतिनिधिहरूले ताली पड्काएर त्यही सूचीलाई अनुमोदन गरे। त्यसरी घोषित केन्द्रीय कमिटीको बैठकले दाहाललाई अध्यक्षमा निर्वाचित गरेको घोषणा गरेको हो। दाहालले यसलाई ‘लोकतान्त्रिक र जनवादी विधि’ भनेका छन्। अब पाँच वर्ष पार्टी नेतृत्व हाँक्दा दाहाललाई कसैले वैधानिकताको प्रश्न गर्ने ठाउँ रहेन।

उनी २०११ मंसिर २६ गते कास्कीको साविक ढिकुरपोखरी गाविस–२ लेवाडेमा जन्मिएका हुन्। २०४५ सालमा नेकपा मशालको महामन्त्री बनेयता एकल नेतृत्वमा छन्। त्यही बेलादेखि माओवादलाई पार्टीको प्रमुख सिद्धान्त मान्ने निर्णय भएको थियो। ०५२ सालमा सशस्त्र द्वन्द्वमा होमिएपछि नेतृत्व झन् ‘केन्द्रीकृत’ गर्दै पार्टीले ‘प्रचण्डपथ’को अभ्यास गरेको थियो।

दाहालले यसपटक आठौं महाधिवेशनबाट ‘सामूहिक नेतृत्व’ प्रणाली विकास गर्ने भन्दै पदाधिकारीको व्यवस्था गर्न लगाएका थिए। तर, अध्यक्षबाहेक अरू कोही पनि पदाधिकारीमा छनोट हुन सकेका छैनन्। आगामी बैठकले १४ पदाधिकारी छनोट गर्ने जनाइएको छ।

मुक्तिराम र भवानीका जेठो छोरा दाहालले प्रारम्भिक शिक्षा कास्कीको ढिकुर पोखरीमै लिएका थिए। न्वारानको नाम छविलाल भएकाले उनलाई परिवारमा छवि भन्थे। घरको प्यारो नाम ‘बाबु’ थियो। कक्षा १० मा पढ्दा छविलाल नाम परिवर्तन गरी पुष्पकमल राखे। भूमिगतकालमा उनले नाम परिवर्तन गरी ‘प्रचण्ड’ राखेका थिए। १० वर्षे सशस्त्र द्वन्द्वदेखि यही उपनामले बढी परिचित छन्। विसं २०३८ देखि २०६३ सम्म कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम थियो।

कुनै बेला उनी पार्टीभित्र ‘अल्पमत’मा पनि परेका थिए। २०६९ सालमा हेटौंडामा भएको सातौं राष्ट्रिय महाधिवेशनअघि उनीविरुद्ध ‘धोबीघाट गठबन्धन’ बनेको थियो। त्यो महाधिवेशनबाट दाहाललाई नेतृत्वबाट विस्थापित गर्ने आंकलनसमेत गरिएको थियो। तर, त्यसअघि नै गठबन्धनमा पहिरो गयो। महाधिवेशन नहुँदै नेता मोहन वैद्य, सीपी गजुरेल, नेत्रविक्रम चन्दलगायत नेताले पार्टी फुटाए। डा. बाबुराम भट्टराईले महाधिवेशनमा उम्मेदवार हुने ‘साहस’ गरेनन्। महाधिवेशनले दाहाल अध्यक्षमा निर्विरोध भएको घोषणा गर्‍यो। यसपटक त नेतृत्वमा चुनौती दिने नेता नै पार्टीमा कोही देखिएनन्। चुनौती दिने नेताहरू सबै बाहिरिएपछि दाहाल ‘निर्विकल्प’ नेताका रूपमा प्रस्तुत भए।

उनले चाहेजसरी नै महाधिवेशन अघि बढ्यो। एक दिनअघि मात्र राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरियो। केन्द्रीय सदस्यको नाम घोषणा गरे। दाहाल नै अध्यक्ष बने। अरू पदाधिकारी पनि उनकै चाहनाअनुसार मात्र छनोट हुने संकेत आएको छ।

ढिकुर पोखरीबाट २०१९ सालमा चितवन भरतपुरको तत्कालीन शिवनगर गाविसमा बसाई सरे। उनले झन्डै १३ वर्ष भूमिगत जीवन बिताए। उनी २०६२–६३ को जनआन्दोलनपछि खुला राजनीतिमा आएका हुन्।

घरनजिक धनबहादुर विक कम्युनिस्ट कार्यकर्ता थिए। विकमार्फत नै उनले कम्युनिस्ट बन्ने प्रेरणा पाए। विकले नै रूपलाल विश्वकर्मासँग चिनजान गराए। त्यसपछि उनको सम्पर्क पुष्पलाल श्रेष्ठसँग भयो। चौथो महाधिवेशनपछि भक्तबहादुर श्रेष्ठसँग घनिष्ठ सम्बन्ध कायम भयो। उनको राजनीतिक जीवनको आरम्भ तत्कालीन पुष्पलाल समूहमा २०२८ सालमा प्रवेश गरेपछि मानिन्छ। भक्तबहादुर पार्टीका महामन्त्री हुने बेला दाहाल क्षेत्रीय ब्युरो सदस्य पदमा कार्यरत थिए। ०३९ सालतिर निर्मल लामा र मोहनविक्रम सिंहबीच विवाद आएपछि उनी मोहनविक्रमतिर लागे।

पार्टीलाई सशस्त्र द्वन्द्वमा होम्नेदेखि विस्तृत शान्ति सम्झौता हुँदै शान्तिपूर्ण राजनीतिमा डोर्‍याउने यात्राको नेतृत्व दाहालले नै गरे। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी दुई ठाउँबाट निर्वाचित भए। ०६५ मा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बने। तर, प्रधानसेनापति रुक्मांगद कटवाल प्रकरणमा तत्कालीन संविधानसभाको ठूलो पार्टी माओवादीको हातबाट प्रधानमन्त्री पद गुम्यो। उनी २०७३ साउन १९ गते दोस्रो पटक प्रधानमन्त्री नियुक्त भए।

उनले २०२६ सालमा चितवनको नारायणी विद्यामन्दिर मावि शिवनगरबाट एसएलसी गरे। २०२७ देखि २०२९ सम्म पाटन बहुमुखी क्याम्पसबाट आईएस्सी पूरा गरे। २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बीएस्सी गरेर एमपीएसम्मको अध्ययन गरे।

राजनीतिमा आउनुअघि उनले शिक्षण पेसा अँगालेका थिए। उनले २०२९ मा चितवनको नारायणी विद्यामन्दिर मावि शिवनगर, डण्डा मावि नवलपरासीमा पढाए। यस्तै,  २०३३–०३५ मा भीमोदय मावि आरुघाट गोरखामा शिक्षण गरे। २०३२ सालमा यूएसएडमा पनि काम गरे। २०२६ वैशाखमा सीता पौडेलसँग उनको विवाह भएको हो।

उनले २०२८ सालमा नेकपाको पुष्पलाल समूहबाट पार्टी सदस्यता लिएका थिए। रामबहादुर थापा, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलसँग मिलेर २०३१ सालमा माक्र्सवादी अध्ययन समूह गठन गरे। उनी २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ मा पूर्णकालीन कार्यकर्ता र २०३६ मा चितवन जिल्ला समिति सदस्य बने। २०३८ मा क्षेत्रीय ब्युरो सदस्य एवं अखिल नेपाल युवक संघका महासचिव भई २०४० मा अध्यक्ष निर्वाचित भए।

२०४१ मा नेकपा (मशाल)को पाँचौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भए। २०४२ मा पोलिटब्युरो सदस्य बने। २०४५ मा महामन्त्री बनेपछि उनी पार्टी नेतृत्वमा पुगेका थिए।

२०४८ मा पार्टीको नाम फेरेर नेकपा (एकताकेन्द्र)का महामन्त्री भए। २०५१ मा तत्कालीन नेकपा एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछिको तेस्रो विस्तारित बैठकले पार्टीको नाम फेरेर नेकपा (माओवादी) राख्यो। दाहाल नै महामन्त्री रहे। उनले २०५२ सालमा सुरु भएको सशस्त्र ‘जनयुद्ध’को नेतृत्व गरे। २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीका अध्यक्ष भए।

२०५८ मा पार्टीले गठन गरेको ‘जनमुक्ति सेना’को सर्वोच्च कमान्डर भए। ०६२÷६३ सालको दोस्रो जनआन्दोलनपछि २०६३ असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी उनी सार्वजनिक भए। शान्तिपूर्ण राजनीतिमा प्रवेशसँगै माओवादीले २०६४ को संविधानसभा निर्वाचनमा भाग लियो। सबैभन्दा ठूलो पार्टी बन्यो। २०६५ साउनमा मधेसी जनअधिकार फोरमको सहयोगमा दाहाल प्रधानमन्त्री बने। तर, कांग्रेस र एमालेसँगको सहकार्य तोड्दै अघि बढ्न खोजेपछि उक्त सरकार ‘दुर्घटना’मा पर्‍यो। त्यसबीच दाहाल सरकारको नेतृत्व गर्नेभन्दा ‘अरूलाई प्रधानमन्त्री बनाउने’ भूमिकामा देखापरे।

दोस्रो संविधानसभामा माओवादी निकै खुम्चियो। कांग्रेस, एमाले र माओवादी केन्द्र मिलेर संविधानसभाबाट संविधान घोषणा गरियो। संविधानसभाबाट संविधान बनाएर आफ्ना एजेन्डा लागू गर्न सकिने धारको नेतृत्व दाहालले नै गरे। पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले पार्टी छोडे। भट्टराईले नयाँ शक्ति पार्टीको घोषणा गरेका थिए।

दाहाललाई नेताले छोड्ने र जोडिने क्रम भने चलिरह्यो। ०६५ मा नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकताकेन्द्र र माओवादीबीच एकता भयो। पार्टीको नामको अघि (एकीकृत) शब्द झुन्ड्याइयो। ०६९ मा दाहाललाई छोडेका रामबहादुर थापालगायत नेता ०७३ मा एकतामा आए। पार्टीको नाम नेकपा माओवादी केन्द्र रह्यो।

एमाले र माओवादीबीच ३ जेठ २०७५ मा एकता भयो। त्यसपछि उनी नेकपा अध्यक्ष बने। अर्का अध्यक्ष केपी शर्मा ओलीले कहिले समानान्तर त कहिले दोस्रो अध्यक्ष भन्दै दाहालको भूमिकामाथि प्रश्न गरिरहे। दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकता प्रक्रिया सहज रूपमा अघि बढ्न सकेन। दाहालसहित माधवकुमार नेपाल, झलनाथ खनाललगायत नेता र ओलीबीच शक्तिसंघर्ष चलिरह्यो। कहिले कुन पक्षले त कहिले कुन पक्षले एकअर्कामाथि कारबाहीको शृंखला चलाए। पार्टीमा यस्तै विवादबीच सर्वोच्च अदालतले २०७७ फागुन २३ गते एकता भंग गरिदियो। दाहालले पूर्ववत् माओवादी केन्द्रको नेतृत्व सम्हाले। राष्ट्रिय सम्मेलन भनेर बोलाइएकोमा एक दिनअघि मात्र राष्ट्रिय महाधिवेशनमा रूपान्तरण गराए।

दाहालले थुप्रै पुस्तक लेखेका छन्। नेपाली क्रान्तिका समस्या (भाग १, २ र ३), सांस्कृतिक, कला र सौन्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरू (खण्ड १ र २) तथा प्रचण्डका छानिएका सैन्य रचनाहरूलगायत पुस्तक प्रकाशित छन्। उनका राजनीतिक गुरु मोहनविक्रम सिंहले भन्ने गरेको स्मरण गर्दै माओवादी नेता दीनानाथ शर्मा भन्छन्, ‘क्रान्ति र पार्टी दुवै हाँक्ने जोश छ, प्रचण्डमा छ। तर, धेरै नै महत्वकांक्षी भएकाले सजग पनि हुनुपर्छ।’ अन्नपुर्णपोष्ट दैनिक बाट ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार