देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

माओवादी ८ औँ महाधिवेशन-सिद्धान्त र व्यवहारको बेमेल

0

काठमाडौं – माओवादीले पथप्रदर्शक सिद्धान्तका रूपमा मान्दै आएको मार्क्सवाद, लेनिनवादले भन्छ– व्यवहारमा नउतारिएको सिद्धान्त काम लाग्दैन । माओवादीले लिएका नीति निम्नवर्गको हितमा भनिएको छ तर सरकारमा सामेल भइसकेपछि उसले निम्नवर्गका लागि नीतिलाई व्यवहारमा प्रयोग गर्न सकेन । जसका कारण माओवादीप्रति निम्न र मध्यमवर्गको विश्वास घट्दै गयो ।

खासगरी ग्रामीण क्षेत्रका भुइँमान्छेका लागि शिक्षा, स्वास्थ्य, रोजगारसम्बन्धी कार्यक्रम लागू गर्न सरकारमा भएका बेला पहल गरेको भए ती मान्छे माओवादीप्रति सकारात्मक हुने थिए । माओवादी नेताहरूको वरिपरि देखिने समूह निम्न वर्गीय धरातलबाट माथि उक्लिइसकेको छ । त्यो वर्ग श्रमबाट टाढिएको छ र श्रम नगरी कमाउने धन्दामा लागेको छ । आफ्ना सिद्धान्त, मूल्य, मान्यतालाई व्यवहारमा उतार्न माओवादी चुक्यो । नेताहरू पारदर्शी भएनन्, कार्यकर्ता अपारदर्शी ढंगबाट कमाउने बाटोमा लागे । उनीहरू निम्नवर्गबाट टाढा हुँदै गए । यसको अर्थ हो, माओवादीले आफ्नो वर्गलाई भुल्यो ।

क्रान्तिकारी माओवादीका महासचिव वैद्यले सिद्धान्तलाई व्यवहारमा उतार्न सजिलो नभएको बताए । ‘माओवादी केन्द्रका नेताहरू क्रान्तिकारी कुरा गर्नुहुन्छ, यही संसदीय व्यवस्थालाई बचाएर जाने भन्नुहुन्छ,’ वैद्यले भने, ‘सिद्धान्तलाई व्यवहारमा उतार्न ठूलो मिहिनेत गर्नुपर्छ ।’ उनले माओवादी केन्द्रको राजनीतिक लाइन गलत दिशामा गएकाले ‘क्रान्तिकारी’ बाटोमा फर्कन नसक्ने बताए ।

माओवादी अध्यक्ष दाहालले बेलाबेला भन्दै आएका छन्, ‘माओवादी अर्कै धातुले बनेको पार्टी हो ।’ सशस्त्र युद्धको बलमा स्थापित पार्टी भएको हुनाले माओवादी अरूभन्दा फरक भयो । उसको पहिचान नै पूर्वविद्रोही शक्ति हो । त्यो विद्रोही शक्तिलाई संविधानसभा र संघ, प्रदेश र स्थानीय तहको निर्वाचनले अनुमोदन गर्‍यो । अरू पार्टीजस्तै देखिनु र आममानिसलाई त्यस्तै लाग्नु माओवादीका लागि घातक छ । विद्रोहको रूपान्तरण समाज परिवर्तनमा देखिनुपर्ने हो, खासगरी सामान्य नागरिकको जीवनमा । अध्यक्ष दाहाल माओवादी अरू पार्टीजस्तै भएको स्वीकार गर्छन् । ‘आज यो पार्टी र अरू पार्टीको भिन्नता देखिन छोड्यो, सबै उस्तै हुन् भन्याजस्तो जो बन्न गयो,’ दाहालले कान्तिपुरसँग भने, ‘सबैभन्दा मुख्य कुरा विचार, राजनीतिक उद्देश्य र मिसनमा स्पष्टता हुनुपर्छ,’ उनले भने, ‘हामी जाने कहाँ हो, गर्ने के हो भन्ने कुराको एउटा वैचारिक राजनीतिक कार्यदिशामा अस्पष्टताका कारणले यो भएको भन्ने हाम्रो ठहर छ ।’

पूर्वमाओवादी नेता एवं विश्लेषक मुमाराम खनाल माओवादी सैद्धान्तिक र व्यावहारिक विरोधाभासमा फसेकाले पहिचानमा संकट आएको बताए । ‘माओवादीको दस्ताबेजमा वामपन्थी लफ्फाजी बाँकी छ,’ उनले भने, ‘क्रान्तिकारी कुरा गर्नु तर व्यवहारमा उतार्न नसक्नु आफैंभित्रको अन्तरविरोधका कारण हो ।’ उनले माओवादी ‘प्रचण्डपथ’ जस्ता स्थगित भइसकेका विषय बहसमा ल्याएर पछाडि फर्कन खोजेको बताए । ‘माओवादीले यस्ता पुराना बहस ल्याएर पछाडि जान खोज्दै छ, अगाडि जाने ठोस योजना देखिएन,’ उनले भने, ‘संविधानलाई सुदृढीकरण गरेर अघि जानुपर्ने हो ।’ कान्तिपुर दैनिक बाट ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार