देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने दाहाल-नेपाल समूहको निर्णय

0

काठमाडौं – दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाउने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गर्दै सो बैठकले नेता नेपाललाई अध्यक्ष चुनेको हो ।

काठमाडौंको बबरमहलमा मंगलबार बसेको बैठकमा वरिष्ठ नेता झलनाथ खनालले स्थायी कमिटीको निर्णय अनुसार नेता नेपालको नाम अध्यक्षका रुपमा प्रस्ताव गरेका थिए । बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले ऐतिहासिक राजनीतिक परिवर्तन, संविधान, लोकतन्त्र, पार्टी एकताको विरुद्धमा कार्य गरेकाले पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेकाले पार्टीको अन्तरिम विधान अनुसार अनुशासनको कारबाही गरी पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ ।

रिक्त हुन पुगेको एक जना अध्यक्ष पदमा नेता माधवकुमार नेपाललाई चयन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । अर्को बैठक बिहीबार साढे ११ बजे बोलाइएको पनि उनले बताए । मंगलबारको बैठकले नेता कृष्णबहादुर महरालाई स्थायी कमिटी बैठकमा मनोनीत गर्ने स्थायी कमिटीको प्रस्तावलाई पनि अनुमोदन गरेको छ ।

यस्तै, बैठकले प्रतिनिधिसभा विघटन गर्ने सरकारी निर्णयविरुद्ध आन्दोलन गर्ने गरेको प्रवक्ता श्रेष्ठले बताए । आन्दोलनका स्वरुप भने कांग्रेस, राजपासँग छलफल गरेर तय गर्ने र पर्सिको बैठकपछि आन्दोलनका कार्यक्रम घोषणा गर्ने प्रवक्ता श्रेष्ठले बताए । सो समूहले भोलि १ बजे संसदीय दलको बैठक र केन्द्रिय कमिटीको अर्को बैठक पर्सिका लागि बोलाएको छ ।

बैठकले सुदूरपश्चिम प्रदेश सांसद तथा कैलालीका नेता दीर्घ सोडारीको कारबाही फुकुवा गर्ने निर्णय पनि गरेको छ । आजको बैठकमा ४४७ मध्ये ३१५ जना केन्ऽीय सदस्य सहभागी रहेको उक्त समूहको दाबी छ ।

यसैबीच दाहाल–नेपाल समुहले नेता कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने प्रस्ताव पारित गरेको छ । २०७४ फागुन २६ गते सभामुखमा निर्वाचित भएपछि महराले तात्कालिन माओवादी केन्द्रको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका थिए । संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेपछि सभामुखबाट राजीनामा दिएका महरा आरोपमुक्त भएको १० महिनापछि पार्टीको जिम्मेवारीमा फर्किएका हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार