देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मापनको वैज्ञानिकता र आधिकारिकता थप पुष्टि गरेको छ : मन्त्री ज्ञवाली

0

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपालको आफ्नो स्रोत साधन, जनशक्तिबाट उचाई मापन गरी अन्तिम रुप दिइएको सगरमाथाको नयाँ उचाई घोषणा हुनु नेपाली प्राविधिक क्षमताको पनि नयाँ उचाईको घोषणा भएको बताएका छन् ।

सगरमाथाको उचाई घोषणा कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले सगरमाथाको बारेमा आधिकारिता, वैज्ञानिक तथ्य प्राप्तीसाग आम सहमती पनि भएको बताए । सगरमाथाको उत्तर भूभाग जनवादी गणतन्त्र चीनसँग सम्बद्ध रहेको भन्दै उनले विश्वसनीयताका लागि पनि संयुक्त रुपमा सगरमाथाको उचाई घोषणा गर्नु आवश्यक रहेको बताए ।

‘आज सगरमाथाको मात्र होइन नेपाली प्राविधिक क्षमताको पनि नयाँ उचाई घोषणा भएको छ । सगरमाथाको बारेमा आधिकारिक, वैज्ञानिक तथ्य मात्र प्राप्त भएको छैन । की त्यो तथ्यसँग आमसहमति पनि भएको छ’, परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘सगरमाथाको उत्तरी पाटो जनवादी गणतन्त्र चीनसँग सम्बद्ध छ । त्यसो भएकाले यसको विश्वसनीयताका लागि उचाई संयुक्त रुपमा घोषणा गरिनु आवश्यक पनि थियो ।’

नेपालको नापी विभागले उचाई मापन गरी गरेको तथ्यांक प्रशोधन गरेपछि आएको नतिजा चिनियाँ अधिकारीहरुले गरेको सर्भे र उनीहरुले निकालेको तथ्यांक मेल खानुले तथ्यहरुमा कुनै दुविधा वा भ्रमको अन्त्य भएको मन्त्री ज्ञवालीको भनाई थियो ।

‘नेपालको नापी विभागले सुरु गरेर तथ्यांकहरु प्रशोधन गर्दै जुन बिन्दुमा ल्याइपुर्‍याएको थियो । चिनियाँ मित्रहरुको सर्भे र उहाँहरुको तथ्यांक प्रशोधनमा पनि ठ्याक्कै त्यही नतिजा देखापरेका छन् । अब तथ्यहरुमा कुनै दुविधा, कुनै अन्यौल र कुनै भ्रमहरु बाँकी छैनन’, मन्त्री ज्ञवालीले भने, ‘यसले हाम्रो मापनको वैज्ञानिकता र यसको आधिकारिकता पनि थप पुष्टि गरेको छ । यसअर्थमा आज विशेष दिन, गौरव गर्न लायक र सम्झन लायक दिन हो ।’

मन्त्री ज्ञवालीले उचाई मापनका क्रममा सगरमाथाको आरोहण तथा तथ्यांकहरुको प्रशोधन गरी अन्तिम नतिजा निकाल्नमा आ आफ्नो ठाउँबाट योगदान गर्ने सबै टिमलाई बधाई तथा धन्यवाद समेत दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार