देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मुलुकको व्यापार घाटामा सामान्य सुधार

0

काठमाडौं – आयातमा आएको कमी र निर्यात वृद्धिले मुलुकको व्यापार घाटामा सामान्य सुधार देखिएको छ । चालू आर्थिक वर्षको पहिलो पाँच महिना (साउन-मंसिर) सम्ममा नेपालको व्यापार घाटामा करीब ११ प्रतिशतले कमी आएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा व्यापार घाटा ४ खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँ बराबरको भएको छ । यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.९१ प्रतिशतले कम हो ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ५ खर्ब ३३ अर्ब ६४ करोड रुपैयाँ व्यापार घाटा थियो । व्यापार घाटा कम गर्न बढ्दो निर्यातको तुलनामा घट्दो आयातको हिस्सा बढी देखिन्छ ।

चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि भएको छ । विभागको तथ्याङ्कअनुसार १० प्रतिशत आयातमा कमी आउँदा पाँच प्रतिशतले निर्यातमा वृद्धि भएको हो ।

विभागको तथ्याङ्क अनुसार चालू आवको पाँच महिनाको अवधिमा पाँच खर्ब २५ अर्ब ४९ करोड रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ९ दशमलव ५९ प्रतिशतले कमी हो । गत आवमा पाँच खर्ब ८१ अर्ब २५ करोड रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको थियो ।

यसैगरी पाँच महिनाको अवधिमा ५० अर्ब पाँच करोड ५६ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । गत आवको तुलनामा ५ दशमलव १२ प्रतिशतले निर्यातमा वृद्धि भएको हो । गत आवमा सोही अवधिको तुलनामा ४७ अर्ब ६१ करोड ६८ लाख रुपैयाँ बराबरको स्वदेशी वस्तु निर्यात भएको थियो ।

५९ अर्ब ६९ करोडको इन्धन आयात

५ महिनामा भारतबाट मात्र ५९ अर्ब ६९ करोड रुपैयाँ बराबरको खनिज इन्धन आयात भएको छ । विभिन्न प्रकारका पेट्रोलियम पदार्थ यस भित्र पर्छन् । यसअवधिमा ११ अर्ब ३३ करोड रुपैयाँ बराबरको औषधिहरु आयात भएको छ । यो वर्ष आयात बढी हुने वस्तुमा इलेक्टि्रकल मेसिन तथा उपकरण लगायत छन् ।

मोवाइल फोन, टेलिभिजनजस्ता वस्तुसमेत सोही भित्र पर्छ । यस्ता उपकरण आयातमा नेपालले ५ महिनामै ४४ अर्ब ५३ करोड ९ लाख रुपैयाँ खर्च गरिसकेको छ । सवारी साधन र त्यसको पार्टपूर्जा आयातमा ३६ अर्ब ५ करोड रुपैयाँ बराबर रकम बाहिरिएको छ ।

यसमा मंसिर महिनामा उच्च आयात भएको देखिएको छ । यो महिनामा मात्र १ खर्ब २३ अर्ब रुपैयाँ बराबरको वस्तु विदेशबाट नेपालमा आयात भएको छ । कात्तिक र मंसिर महिनामा आयातमा उच्च वृद्धि भएको छ । कात्तिक महिनामा समेत १ खर्ब १२ अर्ब रुपैयाँ हाराहारीको वस्तु आयात भएको थियो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आयात पुरानै अवस्थामा फर्कने संकेत गरेपनि निर्यातमा भने उत्साहजनक वृद्धि छैन । पहिलो पाँच महिनामा मात्र ५० अर्ब ५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार