देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मुलुक निर्माणका पाइलामा अवरोध गरेपछि ताजा जनादेश लिने निर्णय गरेँ : प्रधानमन्त्री

0

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक निर्माणका हरेक पाइलामा अवरोध गरेपछि ताजा जनादेश लिने निर्णय गरेको बताएका छन् ।

मुलुकको उन्नतिका लागि गरेका काममा अवरोधका कारण पार्टीको भविष्य जोगाउने अरु कुनै विकल्प नभएपछि आफूले ताजा जनादेश लिने निर्णय गरेको बताएका हुन् । विघटित प्रतिनिधिसभाका सदस्यहरुको सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित भेलालाई सम्बोधन गर्दै ओलीले पार्टीका एकथरी नेताले पार्टीलाई जनताले सुम्पेको जनादेश बिर्सेर सधैं सरकारका काममा अवरोध मात्रै गरेको बताए ।

विचार, संगठन र गन्तब्यमा स्पष्ट विशाल पार्टी बनाउने उद्देश्य सफल पार्न आफू सक्रिय रहेको तर अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल लगायत नेताहरु सरकारका मुलुकको काममा अवरोध गरी बिग्रहतिरको बाटोमा अग्रसर भएको उनले बताए ।

ओलीले भने, ‘हामी एकता एकीकरणका काम टुङ्ग्याएर सहमतिका साथ एकताको महाधिवेशन गर्ने, विचार, संगठन र गन्तब्यमा स्पष्ट पार्टी बनाउन सक्रिय थियौं । तर, उहाँहरु एकतामा भावनात्मक सम्मानका लागि गरिएको ब्यवस्थालाई दुरुपयोग गरेर पछाडी फर्कनै नसक्ने गरी समीकरणका आधारमा पार्टीलाई चिरा पार्ने र बिग्रह, बेमेलको वतावरण निर्माण गर्न अग्रसर हुनु भयो ।’

प्रधानमन्त्री ओलीले संसद् विघटन आफ्नो निजी रोजाई नभई पार्टीको आन्दोलन र भविष्य जोगाउन अरु कुनै विकल्प नभएपछि ताजा जनादेशका लागि जनतामा जाने निर्णय गर्नु परेको बताए । ओलीले जनताको मतबाट निर्णय लिने कदमलाई निरंकुश भनी कृतिम न्यारेटिभ खडा गर्ने प्रयास भएको समेत आरोप लगाए ।

‘अप्ठेरोमा जनता समक्ष जानुलाई निरंकुश कदम भन्ने न्यारेटिभ चलाइएको छ, त्यो गलत छ’ उनले भने, ‘जनताले जुन आदेश दिएर पठाएका थिए, त्यसलाई पूरा गर्न अवरोध खडा गरेपछि जनतामा जानु उच्च लोकतान्त्रिक कदम हो ।’ प्रधानमन्त्री ओलीले लामो समयदेखि लथालिङ्ग रहेको मुलुकको अवस्था सुधार्न गरिएका कामहरुलाई ओझेलल पार्न तिनै बेथितिका झिल्काहरु टिपेर मुलुक बर्बाद भएको भन्दै दुश्प्रचार भइरहेको बताए ।

उनले भने, ‘साढे दुई वर्षमा यतिधेरै अवरोधका बीच पनि विकास र समृद्धिका सुस्पष्ट योजनासाथ अघि बढ्यौं र यसमा सफलता पनि पाएका छौं । वर्षाैदेखि पछौटे रहेको देश एकै पटक बनिसकेको हुँदैन, त्यही क्रममा बेथितिका झिल्का देखाएर केही नगरेको भन्ने प्रचारबाजी भए ।’ सरकारले गरिरहेको कामलाई बदनाम गर्न के प्रचार भइरहेको छ भन्ने कुरा जनताले बुझेको ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधिसभाका सदस्यहरुलाई निर्वाचन क्षेत्रमा केन्द्रित रहेर चुनावी तयारी गर्न निर्देशन समेत दिए ।

‘तपाईंहरु अब निर्वाचन क्षेत्र जानुहोस्, हामीले गरेका अभूतपूर्व कामहरुलाई रोक्न भएका षडयन्त्रबारे जनतालाई बुझाउनुहोस्’ ओलीले भने, ‘कसले काम गर्‍यो, कसले काम गर्न अवरोध गरेर षड्यन्त्र तिकडम मात्र गर्‍यो, जनतालाई बुझाउनु पर्छ ।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार