देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मेलम्ची नगरपालिकाको बाह्रौँ नगरसभा  सम्पन्न

0

काठमाडौं – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका नगरसभाको बाह्रौं नगरसभा सम्पन्न भएको छ ।

नगर प्रमुख आइतमान तामाङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘आफ्नो गाउँ आफै बनाऔँ’ विशेष कार्यक्रमलाई नगरभित्रका सबै वडाहरुमा बिस्तार गरिने, बाहुनेपाटी बजारलाई व्यापारिक क्षेत्रको रुपमा र मेलम्ची बजार क्षेत्रलाई प्रशासनिक क्षेत्रको रुपमा विकास गरिने, नगरका मुख्य बजार केन्द्रहरुमा सार्वजनिक शौचालय र प्रतीक्षालय एवम् ग्रामीण क्षेत्रमा ‘एक वस्ती, एक सामुदायिक भवन’ निर्माण गर्ने, प्रशासनिक भवन, स्वास्थ्य चौकी, सामुदायिक विद्यालयहरुमा सूचना प्रविधिको पहुँच पुर्याउन आवश्यक पूर्वाधारको विकास गरिने उल्लेख गरिएको छ ।

शिक्षातर्फ गरिब तथा जेहेन्दार पाँच जना विद्यार्थीलाई नगरभित्रको प्राविधिक विद्यालयमा इन्जिनियरिङ धारतर्फ कक्षा १२ सम्म र दुई जना विद्यार्थीलाई कृषि प्राविधिक शिक्षा डिप्लोमासम्म अध्ययनका लागि नगर प्रमुख छात्रावृत्ति कोषमार्फत निःशुल्क शिक्षा प्रदान गर्ने, आमा बुबा गुमाएका विद्यार्थीहरुलाई अभिभावकत्व प्रदान गर्दै सहयोग गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यसैगरी नेपाल सरकारले कक्षा ६ सम्म उपलब्ध गराउँदै आएको दिवा खाजा कार्यक्रमलाई नगरपालिकाको आन्तरिक स्रोतबाट कक्षा ७ र ८ मा थप विस्तार गरिने, आधारभूत तहसम्मको अध्ययन पूरा गरी विद्यालय छाडेका १६ वर्षभन्दा माथिका बालबालिकाहरुसँग अन्तरक्रिया गरी जीविकोपार्जनका लागि आवश्यक तालिमको व्यवस्था गरिने उल्लेख छ ।

स्वास्थ्यतर्फ मेलम्ची नगर अस्पताललाई प्रदेशस्तरीय अस्पतालको रुपमा र नगरपालिकाभित्रका स्वास्थ्य इकाइहरुलाई क्रमशः स्वास्थ्य चौकीको रुपमा स्तरोन्नति गरिने, सबै नागरिकलाई अनिवार्य स्वास्थ्य बीमा गराउने मेलम्ची नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

मेलम्ची इन्द्रावती नदीमा आएको बाढीले प्रभावित उद्योग व्यवसाय पुनः सञ्चालन गर्न पहल गरिने, प्राकृतिक प्रकोपबाट क्षति भएका र उच्च जोखिममा रहेका व्यक्ति तथा संस्थाहरुको स्वामित्वमा रहेका जग्गा, जमिन र घर संरचनामा लाग्ने राजस्व एकीन गरी सहुलियत, छुट एवं मिनाहा दिने नीति लिइने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नगर उपप्रमुख उमा प्रधानले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को कुल बजेट रु १ अर्ब ३४ करोड ७५ लाख रहेको छ । यसमध्ये चालुु प्रकृतिका कार्यक्रम तथा प्रशासनिक खर्च शीर्षकमा ५२ करोड ४० लाख १० हजार रुपैयाँ र पुँजीगत खर्च शीर्षकमा ८२ करोड ३४ लाख ९५ हजार बजेट विनियोजन गरिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार