देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मैत्रीपूर्ण खेल खेल्न नेपाली फुटबल टोली ढाका जाँदै

0

काठमाडौं – बंगलादेशसंगको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज (बिहीबार) ढाका जाँदैछ । २ वटा मैत्रीपूर्ण खेलका लागि २५ खेलाडी र ९ अफिसियल गरी ३४ सदस्सीय नेपाली टोली बिहान ९ बजे ढाका जाने अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए ।

ढाका जाने ३४ सदस्यीय नेपाली टोलीलाई बिहीबार एक कार्यक्रमबाबीच राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश सिलवाल, अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ लगायतले बिदाई गरे ।

टोलीलाई बिदाई गर्दै नेपालको राष्ट्रिय झन्डा सदस्यसचिव सिलवालले फरवार्ड भरत खवास र गोलरक्षक किरण चेम्जोङलाई संयुक्त रुपमा हस्तान्तरण गरे । बंगलादेश जाने टोलीमा २५ खेलाडी र ९ जना अफिसियल तथा पदाधिकारी छन् ।

मिडफिल्डर रोहित चन्द सहित ८ जना खेलाडीले बंगलादेश विरुद्धको मैत्रीपूर्ण फुटबल गुमाउने भएका छन् । प्रशिक्षणका क्रममा चोट बोकेपछि चन्द मैदान बाहिर रहने प्रशिक्षक बालगोपाल महर्जनले बताए ।

टोलीका मुख्य सदस्य रोहित चन्द चोटका कारण टोलीमा समावेश छैनन् । यस्तै, अन्य ७ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएका कारण टोलीमा रहने छैनन् । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले १२ कार्तिकबाट प्रशिक्षण थालेको थियो ।

मुख्य प्रशिक्षक योहान कालिनको अनुपस्थितिमा टोलीको प्रशिक्षणको जिम्मेवारी बालगोपाल महर्जनले सम्हालेका छन् । प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपिङ प्रशिक्षकमा बिकास मल्ल रहेका छन् । टिम व्यवस्थापकमा कृष्णभक्त मानन्धर छन् । फिजियोमा आविस्कार पुडासैनी र सहायक फिजियोमा रोशन पुडासैनी छन् । टिम डक्टरमा प्रविन श्रेष्ठ र एन्फा मिडिया अफिसरमा विवेक सुवेदी र अर्का एक पत्रकार मुक्तिबाबु रेग्मी पनि टोलीसँगै रहनेछन् ।

टोलीमा अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, बिमल राना, बिशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्ताम, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपकोटी, रन्जित धिमाल, रवि पासवान, सरोज दाहाल, सेसेहाङ आङदेम्बे, सुभास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार