देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘मैले जितेमा भनेको काम गर्न सकिन भने राजनीति नै छाडिदिन्छु’ – मोहन बस्नेत

0

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सिन्धुपाल्चोक–२ का उम्मेदवार मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा विकट गाउँ जोड्ने कम्तीमा १५ वटा सडक निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

सिन्धुपाल्चोकका प्रेस युनियनकर्मीहरु सँगको भेटघाटमा उनले सिंगो सिन्धुपाल्चोकलाई ‘वाइफाइ फ्रि जोन’ बनाउनेसमेत योजना अघि सारेका छन् ।

यसअघि उनी सञ्चारमन्त्री हुँदा स्वयम्भू, पद्यकन्या क्याम्पसलगायतका क्षेत्र फ्रि वाइफाइ जोन  बनाएका थिए । ‘यो कामले त्यतिबेला निकै चर्चा पायो, विदेशमा समेत चर्चा भएको थियो,’ उनले भने, ‘बजेटको व्यवस्था र काम कसरी गर्ने भन्नेबारे मलाई जानकार छ, यो काम तत्काल गर्छु ।’ यो योजना उनले नेपालमै फड्को मार्ने महत्वपूर्ण कार्यक्रम रहेको बताए ।

‘यस क्षेत्रमा कांग्रेसले जित्न नसकिरहेको अवस्थामा एकपटक जितेमा कांग्रेसका उम्मेदवारले कहिल्यै नहार्ने गरि काम गर्छु,’ नेता बस्नेतले भने, ‘म भनेको कुरा गर्ने नेता हुँ, मैले जितेमा भनेको काम गर्न सकिन भने राजनीति नै छाडिदिन्छु ।’

अमेरिका र अष्ट्रेलियाको उदाहरण दिदैं नेता बस्नेतले हिमाली आलु ब्रान्डिङ गर्नेसमेत सुनाए । ‘सिन्धुपाल्चोकमा हिमाली आलुको उत्पादन बढाएर त्यसलाई नामसहित ट्यागिङ गर्नुपर्छ,’ उनले भने, ‘त्यो विदेश निर्यात गरेर हजारौंलाई राजेगारी दिन सकिन्छ ।’ यो काम सिन्धुपाल्चोकबाट सुरु गर्ने योजना रहेको उनले बताए ।

त्यसैगरी बस्नेतले आफूले जितेमा क्षेत्र नम्बर २ मा मेलम्ची बाढीले भत्काएका पुल निर्माण गर्ने बताए । ‘इतिहास बोकेको रातो पुल मैले नै पहल लिएर बनेको हो,’ उनले भने, ‘दुई वर्षभित्रै चार वटा पुल बनाउँछु ।’

उनले आफू स्वास्थ्य राज्यमन्त्री हुँदा मेलम्ची अस्पताल बनाएको र चौतारा अस्पतालमा डाक्टरको दरबन्दी बढाएकोसमेत जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार