देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

म यसपटक कोरोना मुक्त भएँ !

0

भवनाथ आचार्य 

करिब तीन हप्ताको गुप्तबास अर्थात रुम आइसोलेसन पश्चात् बाहिरी फेरोमा घुम्ने अनुमति प्राप्त भएको छ । गुप्तबास बस्ने अनि बाहिर फेरो निस्किने अनुमति पनि अस्पतालको पेटिमा बसेर लामो लाइनको प्रतीक्षा पछि खरिद गरिएको हो, दुइचोटीको रू ४ हजार ८ सयमा । होम हुनेहरु त होम आइसोलेसनमा बसे होलान्,हामी जस्ता डेरावाललाई रुम आइसोलेसनको विकल्प के थियो र रु त्यसमाथि पनि आफ्नो लगायत वरपरका समेत घरवाला महाशयहरुको गिद्देनजर कम्ती पिडादायी थिएनन् ति दिन ।

जब म कोरोना संक्रमित भएँ स्वभाविक रूपमा शारीरिक तथा मानसिक प्रेसर त सामान्य अवस्था भन्दा बढी हुने नै भयो यसका अलावा मैले यो १७ दिनको गुप्तबासको समयलाई उपलब्धिमुलक बनाउन पनि भगिरथ प्रयत्न गरिरहें र लाग्छ केही हद सम्म सफल पनि भएँ सायद । जसका लागि सरसफाइ, खानपिन, अध्ययन र सम्पर्क विशेषगरि यश अवधिभर प्राथमिकतामा परे । यसका साथै सरकारले जारी गरेका स्वास्थ मापदण्ड तथा आयुर्वेदिक तातो अनि झोलिला खानेकुरा हरु सामान्यतया भन्दा अलि बढिनै प्रयोग गरियो ।

सरकारले अपनाएका सबै मापदण्ड त पालन गर्न विविध कारणले असमर्थ भैयो जून उत्तिकै महत्त्वपूर्ण थिए त्यसमा पनि सामाजिक दुरिको कुरा अझै महत्त्वपूर्ण लाग्यो । म एक छोरा र दुई छोरी सहित संयुक्त रूपमा बस्थें । मलाई सुरुमा हल्का ज्वरो आउने बित्तिकै नानिबाबुहरुलाई सकेसम्म अलग्गै राख्ने प्रयत्न गरें । तीन जना मध्ये स्वभाविक रूपमा कान्छी छोरीसँग अलि बढी सामिप्यता रह्यो । म संक्रमित भएपछि तिनैजनाको परिक्षण गर्दा कान्छी छोरीलाई पनि संक्रमण देखियो बाँकी दुई लाई देखिएन यसबाट प्रमाणित भयो कि कोरोना रोकथामको लागि सामाजिक दुरी महत्त्वपूर्ण हो ।

आम मानिसको बुझाइ जस्तै सामान्य रुघाखोकी, ज्वरो, टाउको दुखाइ तथा शारीरिक आलस्यपन नै मेरो अनुभवबाट प्राप्त परिभाषामा कोरोना हो १ यद्यपि डाक्टरी परिभाषा त छँदै छ ।अर्ती र ओखती अरुलाई दिन मात्रै सजिलो हुन्छ भनेजस्तै कोरोनाको संक्रमित भए पश्चात् कोरोनाप्रतिको मेरो धारणामा आमूल परिवर्तन आएको छ । परिवर्तन यस अर्थमा कि बाहिर हल्ला भएजस्तो केहि होईन कोरोना अथवा कालनै हो कोरोना यी दुबै तर्कसँग म अब सहमत हुन सकिन । अरु रोग जस्तै संक्रामक भाइरस त हो नै अनि मानिसको आत्मबल र शारीरिक स्वस्थतामा भरपर्ने भएकोले यो यस्तै हो भन्न सकिने अवस्था रहेन ।

अनि अर्को कुरा म कोरोना पचाउँछु परिक्षण गर्दिन भन्ने सोचाइ जुन छ त्यो मुर्खता रहेछ भन्ने लाग्यो मलाई । उदाहरणका लागि म त कोरोना पचाउँछु ठिकै छ अनि म सँग सम्पर्कमा आएका परिवारका सदस्य लगायत सबैले पचाउँछ्न भन्ने कुराको ग्यारेन्टी कस्ले गर्न सक्छ र ? त्यसैले मेरो अनुभवमा शंका लाग्ने बित्तिकै परिक्षण गरेर आफू अलग्गै बस्नु मानवोचित कार्य हुनेछ ।

यो त शारीरिक लक्षण भयो यो भन्दा पिडादायी त मानसिक र सामाजिक लक्षण पो हुँदोरहेछ । जस्तै सहानुभूतिकै लागि सहि, फेसबुकमा हेरेर र टिभी रेडियोमा समाचार सुनेर कोरोना जानेका विज्ञ महानुभावहरुको उपचार विधि पद्धति अनि कोरोना क्लासको त्यो कर्कस आवाजले पनि तनाव त कहाँ नदिएको हो र ? तथापि यसलाई बाध्यात्मक रूपमा भएपनि सहानुभूति र सद्भावको रूपमा ग्रहण गर्नुको विकल्प पो के थियो र ?

संक्रमित भएर सुरक्षीत रुम आइसोलेसनमा बसे पश्चात् राज्यको खुब खोजी गरियो तर स्थानीय सरकार, स्वास्थ संस्था,सुरक्षा अथवा राज्यको तर्फबाट प्रतिनिधित्व हुनेगरी केही अनुभुती नहुनु यस अर्थमा दुख लाग्यो कि ? के कोरोना संक्रमित सबै सुरक्षीत रूपमा होम अथवा रुम आइसोलेसनमा बसेका छन् ? तिनीहरुको स्वास्थ अवस्था ठिक छ ? अनि तिनीहरुको दैनिक गुजारा कसरी चलेको छ ? संबैधानिक ब्यबस्था अनुसार स्वास्थ त नागरिकको नैसर्गिक अधिकार क्षेत्र भित्रको कुरा होइन र ? अनि संक्रमित व्यक्ति कसैको निगरानिमा नहुँदा संक्रमण झन अनियंत्रित हुने सम्भावना हुन्न र ?

यदि राज्य छ भने यसो गरे कसो होला ?

अहिले समग्र विश्वलाईनै आक्रान्त पारेको कोरोना भाइरसको संक्रमण पछिलादिनमा नेपालमा पनि क्रमशः अनियंत्रित हुँदै गएको कुरा छर्लङ्ग छ । यस्तो अवस्थामा राज्य आफ्नो दायित्वबाट पन्छिनु भन्दापनी आफ्नो उपस्थिति आम नागरिकमा पुर्‍याउने तर्फ लाग्नुपर्ने हुन्छ । यो कोरोनाको सन्दर्भमा राज्यले चाहने यदि हो भने सहजै नागरिकका सामु अभिभावकिय भुमिका निभाउन सक्नेछ जसका लागि –

१, यो कोरोना अपवाद बाहेक परिक्षण मात्र गरे हुने रोग भएकोले यसको परिक्षण राज्यको तल्लो निकाय सम्म पुर्याउनका लागि स्वास्थ क्षेत्रका अनुभवी व्यक्तित्वहरुको एक अधिकार सम्पन्न विज्ञ समुह गठन गर्ने ।

२, उक्त समुहमा स्वास्थ र अर्थ मन्त्रालयका सचीवहरुको प्रतिनिधित्व गराइ बजेट व्यबस्थापन गर्ने ।

३, यसको सञ्जाल सबै स्थानीय तहमा पुर्याएर केही लक्षण देखिएका नागरिकको निशुल्क कोरोना परिक्षण गर्ने ।

४, लक्षण र अवस्थाका आधारमा स्थानीय तहदेखिनै संक्रमितको ब्यबस्थापन गर्दै जाने जसका कारण अस्पतालमा अनियंत्रित चाप नबढोस ।

५, अत्यावश्यक बाहेक बिकासको बजेटनै कटौती गरेर भएपनि केन्द्रिय तहबाट स्थानीय तहमा आवस्यक बजेट बिनियोजन गर्ने ।

सुरुकै चरणमा पहिचान हुँदा सुरक्षा सावधानी अपनाउँदा र स्वास्थ्य मापदण्ड पालना गरेर अनुशासनमा बस्ने जस्ता यो रोगमा अपनाइने उपचार पद्धति भएकोले यसको जरैमा पुगेर उपायहरू अपनाउँदा नियन्त्रणमा आउने र खर्चको हिसाबले पनि त्यति भार नपर्ने कुरा सर्वविदितै छ । यसकारण पनि राज्यले निशुल्क रूपमा कोरोना परिक्षणको पहुँच स्थानीय तहसम्म पुर्याउनु आजको आवस्यकता हो ।

…. र अन्त्यमा रुम आइसोलेसनमा बसेका समयमा फोन,म्यासेज लगायतका माध्यमबाट मेरो स्वास्थप्रति चासो र चिन्ता प्रकट गर्नुहुने तथा असजिलो अवस्थामा खानपिन तथा दैनिक अपरिहार्य आवस्यकताको सहजीकरण गर्नुहुने सबैमा साधुवाद ! अनि म एकपटकका लागि कोरोना मुक्त भएँ सधैंका लागि होईन यो हेक्का हुनु जरुरी छ । यसका साथै मानिस सामाजिक प्राणी हुनकालागी चाहिने आवश्यक तत्व र असल मित्र चिन्ने अवसर समेत कोरोनाको कहरमा सहजै प्राप्त गरीयो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार