देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

यस्तो छ एमालेको स्थानीय तह निर्वाचन उम्मेदवारसम्बन्धी मापदण्ड

0

काठमाडौं  –  एमालेले स्थानीय तह निर्वाचनका लागि बन्ने उम्मेद्वारको मापदण्ड तय गरेको छ । साेमबार बसेको पोलिटब्युरो बैठकले स्थानीय तह निर्वाचनका लागि पार्टीको तर्फबाट बन्ने उम्मेदवारको मापदण्ड तय गरेको हो ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले आजकाे बैठकमा उम्मेदवारका मापदण्डको विषयमा छलफल भएको बताए । ‘आजको बैठकमा उम्मेदवार छान्दा अपनाइने मापदण्डका विषयमा छलफल भयो । त्यसमा हामीले विभिन्न आधार अघि सारेका छौं,’ उनले भने ।

पार्टीले अघि सारेको पहिलो मापदण्ड भनेको उम्मेदवारले पार्टीको नीति तथा कार्यक्रमप्रतिको प्रतिबद्धता हुनेछ । त्यस्तै जनप्रतिनिधिमा निर्वाचित भएर काम गरिरहेको हकमा भने उनीहरूको कामको मूल्यांकन नै प्रमुख मापदण्ड मानिनेछ ।

उम्मेदवार सिफारिस प्रक्रिया र विधिका बारेमा समेत छलफल भएको छ । गाउँपालिका र नगरपालिकाका वडाध्यक्ष र अन्य पदाधिकारीको हकमा वडा कमिटीको सिफारिसको आधारमा पालिका कमिटीले निर्णय गर्नेछ । त्यस्तै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको हकमा गाउँपालिका कमिटीको सुझावमा जिल्ला कमिटीले सिफारिस गर्ने र प्रदेश कमिटीले निर्णय गर्ने प्रमुख गुरूङले बताए ।

नगरपालिकाको मेयर र उपमेयरको हकमा पनि प्रदेश कमिटीले निर्णय गर्नेछ । महानगरपालिका र उपमहानगरपालिकाको मेयर उपमेयरको हकमा प्रदेश कमिटीको सिफारिसको आधारमा केन्द्रीय कमिटीले निर्णय गर्ने प्रमुख गुरूङले बताए । उम्मेदवार सिफारिस गर्दा कम्तीमा एकजना महिलासहित तीनजना लक्षित समूहको सिफारिस गर्नुपर्ने मापदण्ड रहेको उनले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार