देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

याक एन्ड यति होटलको पाँचतारे वर्गीकरण र क्यासिनो लाइसेन्स रद्द

0

काठमाडौं – धेरैपटक ताकेता गर्दा पनि ४२ करोड रुपैयाँभन्दा बढी क्यासिनो रोयल्टी बक्यौता नबुझाएको भन्दै सरकारले काठमाडौंको दरबारमार्गस्थित याक एन्ड यति होटलको पाँचतारे दर्जा र क्यासिनो लाइसेन्स रद्द गरिदिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धेरैपटक ताकेता गर्दा पनि अटेर गरी याक एन्ड यति होटलले क्यासिनो सञ्चालनबापत सरकारलाई बुझाउनुपर्ने ४२ करोड २५ लाख ६८ हजार २ सय ५२ रुपैयाँभन्दा बढी बक्यौता राजस्व रोयल्टी नतिरेको भन्दै सो होटलको पाँचतारे दर्जा र क्यासिनोको लाइसेन्स रद्द गर्ने निणर्य गरिदिएका हुन् । मन्त्री आलेको सोही निणर्य तथा निर्देशनअनुसार बुधबार पर्यटन विभागले यस्तो निणर्य गरेको हो ।

मन्त्रिस्तरीय निर्णयबाट याक एन्ड यति होटलको पाँचतारेस्तरको वर्गीकरण प्रमाणपत्रसमेत रद्द गर्ने निर्णय भएको पर्यटन विभागले जनाएको छ । यसैगरी, सो होटलको नाममा रहेको सम्पूर्ण अलच सम्पत्ति रोक्का राख्ने र बैंक तथा वित्तीय संस्थामा रहेका सबै खाता तथा कारोबारसमेत रोक्का राख्ने निर्णय भएको विभागले जनाएको छ ।

यसअघि पनि पर्यटनमन्त्री आलेले क्यासिनो सञ्चालन गरेबापत सरकारलाई तिर्न बाँकी रोयल्टी नबुझाउने विभिन्न क्यासिनो सञ्चालकहरूको तीनपुस्ते विवरणसहितको सूचना निकालेर अन्तिम मौका दिन लगाएका थिए । सो मौकालाई समेत बेवास्ता गरी सरकारको नियम पालना नगरेको भन्दै कारबाहीस्वरूप यस्तो निणर्य गरिएको विभागले जनाएको छ । पछिल्लो समय क्यासिनो सञ्चालन गरेबापतको बक्यौता रोयल्टी नबुझाउने याक एन्ड यति होटललगायत विभिन्न क्यासिनो सञ्चालक तथा सम्बन्धित होटलहरूमा सरकारले अन्तिम मौका दिएर बक्यौता बुझाउन समय दिए पनि अझै अटेर गरेका कारण अहिले यस्तो कारबाही गरिएको विभागले जनाएको छ ।

सरकारले तोकता गरेको अवस्थाकैबीचमा यति धेरै बक्यौता रोयल्टी नतिरी फरार हुन लागेका सो होटलका क्यासिनो सञ्चालक माइक बोल्सोभरलाई केही साताअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनबाटै रोक्न लगाएका थिए । उनलाई विमानस्थलबाट समातेपछि भने केही क्यासिनोले धमाधम सरकारलाई तिर्न बाँकी बक्यौता राजस्व बुझाएका छन् भने नबुझाउनेको लाइसेन्स रद्द गर्ने तयारीमा विभाग अघि बढेको छ । पर्यटन विभागका निर्देशक मोहनबहादुर जिसीले यो होटललाई मात्र नभएर अझै अटेर गरि बक्यौता नबुझाउने अन्य क्यासिनोमाथि पनि कारबाही हुने बताए । राजधानी दैनिक बाट ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार