देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

यातायात व्यवसायीले उपत्यकामा जोरबिजोर प्रणाली नमान्ने

0

काठमाडौँ – यातायात व्यवसायीले शुक्रबारबाट उपत्यकामा जोरबिजोर प्रणाली नमान्ने निर्णय गरेका छन् । उपत्यकामा मात्र असोज १ बाट लागू भएको जोरबिजोर प्रणाली यात्रुको चाप बढ्दा पनि कायमै रहेको भन्दै व्यवसायी सबै सवारी सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले मंगलबार संयुक्त रूपमा अपिल जारी गर्दै जोरबिजोर प्रणाली नमान्ने निर्णय गरिएको व्यवसायीहरुको भनाइ छ । जोरबिजोर प्रणालीमा सवारी सञ्चालन हुँदा सवारी संख्यामा कमी भएको र यात्रुको चाप बढी देखिएपछि कोरोनाको संक्रमण जोखिम बढ्न सक्ने भएकाले जोरबिजोर हटाउनुको विकल्प नभएको व्यवसायीको भनाइ छ ।

चैत ११ देखि बन्द रहेका फिल्म हल पनि सरकारले अहिलेसम्म खोल्न दिएको छैन । पटकपटक सरकारको ध्यानाकर्षण गराउँदा पनि वास्ता नगरेको भन्दै नेपाल चलचित्र संघले पुस १० बाट देशभरका फिल्म हल सञ्चालन गर्ने निर्णय गरेको छ । ‘सरकारलाई धेरै पटक फिल्म हल खोल्न माग गर्दै ज्ञापन बुझायौं तर सुनुवाइ भएन,’ संघका उपमहासचिव गोपालकाजी कायस्थले भने, ‘सबै क्षेत्र खुलिसके, हाम्रो क्षेत्रलाई मात्र किन बन्द गरेर राखिराख्नुपर्ने ? अब स्वास्थ्य मापदण्ड अपनाएर फिल्म हल खोल्छौं ।’ हल बन्द भए पनि विद्युत् महसुल, कर र जरिवाना तिरिरहेकाले ती शुल्क मिनाहा गर्नुपर्ने माग पनि आफूहरूको रहेको उनले बताए ।

सरकारले निर्णय नगरे पनि पार्टी प्यालेस र जिम हल भने प्रायः खुलिसकेका छन् । बुधबारबाट सबै मठमन्दिर खुला भएकाले पार्टी प्यालेस पनि खुल्ने नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका अध्यक्ष लीलाबहादुर जीसीले बताए । ‘सरकारले औपचारिक रूपमा निर्णय गरेको छैन,’ उनले भने, ‘तर हामी अब ब्याक हुँदैनौं, स्वास्थ्य सावधानी अपनाएर सबै पार्टी प्यालेस खोल्ने निर्णयमा पुगेका छौं ।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार