देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राउटेसँग मन्त्री झाँक्रीको मितेरी साइनो

0

काठमाडौं – पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–४ स्थित भेरी नदी किनारको कालीखोलामा बस्दै आएका राउटे समुदायको बस्तीमा शुक्रबार छुट्टै चहलपहल थियो। अन्य बेला भन्दा बस्ती केही सफा थियो। राउटे युवाहरू सिमलको रुख ढालेर काठका भाँडा बनाउँदै थिए।

केही बेरमै सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको टोली राउटे बस्ती पुग्यो। राउटे समुदायका लागि घर बनाउने विषयमा छलफलका लागि आएकी मन्त्री झाँक्रीले गाजलु र सहरी तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले लोकेन्द्र र नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले राउटे युवक प्रकाश शाहीसँग मित लगाउने तयारी थियो।

मित लगाउनका लागि मन्त्री झाँक्री र महानिर्देशक मैनालीले काठमाडौंबाट कोशेली बोकेर आएका थिए। मितलाई गाजलु, लोकेन्द्र र प्रकाशले पनि काठका भाँडा तयार गरेका थिए। राउटे समुदायले मित साइनोलाई धेरै महत्व दिन्छ। यो समुदायसँग छिट्टटै घुलमिल हुनका लागि पनि धेरैले मितेरी साइनो गास्ने गर्छन्। मन्त्री झाँक्रीले गाजलुलाई फुलको मालासँगै श्रृंगारका सामग्री र केही खाने कुरा कोशेली दिइन्। गाजलुले सिमलको काठबाट बनाइएको कोसी दिइन्। ‘अब काठमाडौं गएका बेला पनि मितिनीसँग भेट हुने भयो,’ गाजलुले भनिन्, ‘मन्त्रीको मितिनी हुन पाउँदा धेरै खुसी लागेको छ।’

मित लगाएपछि मन्त्री झाँक्रीसँग गाजलुले छुट्टै कुराकानी गरिन्। फोन नम्बर समेत मागिन्। बेलाबेलामा भेट्न आउन आग्रह गरिन्। ‘राउटे समुदायमा मितेरी साइनोलाई धेरै महत्व मानिदो रहेछ,’ मन्त्री झाँक्रीले भनिन्, ‘साइनोअनुसारको भूमिका निभाउने प्रतिबद्धता जनाएकी छु।’ लोकेन्द्रले पनि विभागका महानिर्देशक मैनालीलाई कोसी र काठकै डाडु दिए। ‘यो मितको चिनो हो, नभुल्नु होला, मितिनीलाई भेट गराउन ल्याउनु होला,’ उनले भने, ‘रगतको नाताभन्दा पनि मितको नातालाई ठूलो मान्नुहोला।’

एकीकृत समाजवादीका उपमहासचिव ज्वालाले आफ्नै नाम मिल्ने प्रकाश शाहीसँग मितेरी साइनो गासे। उनले आफूले लगाएको उनको टोपी मितलाई लगाइदिए, मितले लगाएको ढाकाकोे टोपी आफूले लगाए। ज्वालाको घर र निर्वाचन क्षेत्र राउटे बस्दै आएको अहिलको ठाउँभन्दा भेरी पारी हो। उनले राउटे समुदायलाई आफ्नो जिल्लामा आएर बस्न आग्रह समेत गरेको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार