देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

“राजनीतिले खोजेको युवा र अपेक्षा” – दिपेश राज खनाल

0

नेपाली राजनीतिमा निकै प्रचलित शब्द हो युवा ! युवाले नेतृत्व गर्नुपर्छ भन्ने आवाज पनि मुखरित भइरहेका छन् । युवा भनेको विवेक, बुद्धि, जोस, जाँगर र परिवर्तनको तागतिलो ऊर्जा पनि भएकाले  समाज र राष्ट्रले आशा र विश्वास गरेको बलियो र भरपर्दो आधार पनि हो । आम जनताको भविष्यको मार्ग कोर्ने बिषय हो ।

युवा चुनौती खोज्छ, स्वीकार्छ र चुनौतीसँग लड्न सक्छ । सुनेका र देखेका विषयलाई निष्पक्ष रुपमा हेर्छ । उत्सुकता, उत्कण्ठा, इच्छा आकाङ्क्षा र उच्चताको भावमा आत्माको आवाज सुन्छ, मूल्याङ्कन गर्छ र आफू भएर बाँच्छ । प्रश्न गर्ने आँट गर्ने हैसियत र क्षमता राख्ने भएकाले पनि नेपाली राजनीतिले युवा नेतृत्व खोजेको छ ।

भर्खरै सम्पन्न निर्वाचनको परिणाम हेर्दा युवालाई मतपेटिकामार्फत नै स्वीकार गरिएको देखिन्छ । यो उहाँहरूका लागि परिवर्तनको आवाज उठाउने अवसर हो । परिवर्तन युवाकै सहभागिताबाट हुनुपर्छ भन्ने सङ्केत पनि हो ।
परिवर्तनका लागि कसैको खुट्टा तानिरहनु पर्दैन, सबैका हात समाउन सिके पुग्छ । हात समाउनका लागि उत्कृष्ट विचार, सफल योजना, दूरगामी  महत्त्वको लक्ष्य र जनताको दर्बिलो साथ र विश्वासका साथै स्रोतसाधन, विकासका मुद्दा र विकसित ज्ञान, प्रविधि र सहयोगी भावना अनिवार्य छ ।

आज परिवर्तन र सिर्जनाको जग युवामै भेटिन्छ । विडम्बना भनौं , परिवर्तनका संवाहक मानिने शिक्षित होनाहार युवा बिदेसिन बाध्य छन् । अध्येता भन्छन्, “मानिसको औसत दिमागले दैनिक ५० हजार विचार उत्पादन गर्दछ तर त्यसमा ७० प्रतिशत नकारात्मक हुन्छन् ।” बेरोजगार बनेका धेरै युवा यही नकारात्मक विचारमा फसेका छन् । उनीहरूको त्यो विचारलाई सही मार्गमा ल्याउन सक्ने कामको थालनी भएन । शारीरिक तथा वैचारिक प्रतिस्पर्धाको म्याराथनमा दौडाउने कुनै कार्यक्रम भएको छैन । आफ्नो इतिहास, भूगोल, सम्पदा, सामाजिक मनोविज्ञान र श्रम राम्रोसँग चिनेर पनि सोचमा भएको गरिबी हटेको जस्तो देखिदैन  ।

यहाँ जातीय एकता र धार्मिक सद्भाव छ । सार्वभौम जनताले चुनेका जनप्रतिनिधिले शासन चलाएका छन् । देश–विदेश घुमेका र पढेका प्रतिनिधि छन्  यति भएर पनि हामी किन खुसी र सुखी हुन सकेनौँ ? हामीले हाम्रो माटो, भूमि, श्रम, आफैँलाई चिन्न सकेनौँ । भएका स्रोतसाधन तथा ज्ञान  विज्ञान र प्रविधिलाई उन्नत बनाउन सकेनौँ ।
सिर्जनशील सामर्थ्य र प्रचुर सम्भावना भएका युवा विचार विनिमयका अथक साधक हुन् । युवाले नै बाहुबल र सत्ताभक्तिको आम संस्कृतिलाई बदल्न सक्छन् । दिमागदेखि आचारणसम्म परिवर्तन ल्याउन सक्छन् । विवेकमाथि पैसा र शक्तिको छाया हाबी हुन्छ । त्यसलाई निर्मम भएर प्रहार गर्न सक्छन् ।

अहिलेका युवा अन्धभक्त बन्नु हुदैन । आफ्नै ज्ञानले आफैँमा बुद्ध जन्माउन अग्रसर हुनुपर्छ । अवसर र सूर्योदय सँगै आउँछन् । तिनीहरूलाई हातमा लिएर सँगसँगै हिँड्नुपर्छ । तथ्यहरूलाई आधार मानेर परीक्षण गरी सत्य बाहिर निकाल्नुपर्छ । हजारौँ अवसर सिर्जना गरी गरिबीका पर्खाल भत्काउन अग्रसर हुनु पर्दछ। युवा नेतृत्व बाट यहीँ अपेक्षा गरिएको छ ।

लेखक खनाल नेपाल बिद्यार्थी संघ सिन्धुपाल्चोक सचिव  एवं नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार