देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राजमार्गमा सीके राउतको उपद्रो

0

काठमाडौँ — शान्ति सम्झौता गरेर मूलधारको राजनीतिमा प्रवेश गरे पनि सीके राउत नेतृत्वको जनमत पार्टीले मधेसमा उपद्रो गर्दै आएको छ । कर्मचारीलाई मोसो दल्ने, सार्वजनिक तथा व्यक्तिका गाडी तोडफोड गर्ने र लाठा लिएर सडकमा प्रदर्शन गरेर अराजकता मच्चाउँदै आएको यो पार्टीले पछिल्लो समय किसान आन्दोलनका नाममा पूर्वपश्चिम राजमार्ग अस्तव्यस्त पारिरहेको छ ।

राउतको राजमार्ग केन्द्रित प्रदर्शन एक साता रोकिएर बिहीबार फेरि सुरु भएको छ । तर, किसानको मुद्दा सम्बोधन गर्ने तथा राउतको अराजकताबाट कर्मचारी तथा सर्वसाधारणको प्रतिष्ठा जोगाउने विषयमा मधेसी एवम् मूलधारका दल तथा राज्यले कुनै नीति बनाएका छैनन् ।

डेढ महिनादेखि राजमार्ग केन्द्रित आन्दोलन गर्दा पनि सरकारले नसुनेको भन्दै जनमत पार्टी फेरि राजमार्गमा उत्रिएको हो । किसानका मुद्दा र ब्यानर बोकेका जनमतका कार्यकर्ताले राजमार्गका ठाउँठाउँमा टेन्ट गाडेर प्रदर्शन गरिरहेका छन् । किसानका नाममा आन्दोलन गर्दै आएका कार्यकर्ताले पुस १९ मा सिरहामा उखु बोकेको ट्रकमा आगजनी गरे । त्यसअघि सप्तरी र सिरहामा पनि दुइटा ट्रकमा जनमतका कार्यकर्ताले आगो लगाएका थिए । प्रदर्शनकारीले अहिलेसम्म सर्वसाधारणका दर्जनजति सवारीसाधन तोडफोड गरेका छन् भने तीनवटा मालवाहक ट्रकमा आगजनी भएको छ । राजमार्गको अवरोध हटाउने क्रममा राउत कार्यकर्ता र प्रहरीबीच रौतहट, धनुषा, सिरहा र सप्तरीमा हिंसात्मक झडपसमेत हुँदै आएका छन् ।

गहुँ छर्ने सिजन भएकाले किसानहरू खेतमा मलजल गर्न व्यस्त हुँदा जनमत पार्टीले चर्काएको ‘किसान आन्दोलन’ का धेरैजसो सहभागी भने उपद्रो गर्ने र ध्यान खिच्ने उद्देश्यबाट प्रेरित देखिन्छन् । राज्यले उपेक्षा गरेकाले किसानका मुद्दा जायज भए पनि राउतले चुनावका लागि यो मुद्दा उठाएको बताउँछन् मधेस मामिलाका जानकार विजय मिश्र । ‘किसानले भोगिरहेको समस्यालाई राउतले मुद्दा बनाएका छन्, मुद्दा जायज छन् । किसानका नाममा उनले आफ्नो दलको प्रभाव तराई–मधेसमा बढाउन खोजेको देखिन्छ । यो चुनावी रणनीति हो भन्ने प्रस्ट झल्किन्छ,’

खासमा सिरहाको औरही गाउँपालिकाले किनेको गहुँको बीउको विषयलाई राउतले आफ्नो राजनीति जगाउने ‘बीउ’ बनाउन खोजेका छन् । गाउँपालिकाले किसानलाई वितरण गर्न ६ सय ५० बोरा गहुँको बीउ खरिद गरेको थियो । पुस ५ मा ४० किलोका दरले ३ सय २५ बोरा वितरण गरिएको थियो । वडा ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको बाँकी ३ सय २५ बोरा बीउ पुस ६ मा वडा नम्बर ३ का किसानलाई वितरण गरिने गाउँपालिकाले जनाएको थियो । तर, ११ बजेबाट बीउ वितरण गर्ने कार्यक्रम भए पनि स्थानीयको समूहले बिहानै बोरा उठाएर लगे ।

बीउ जबर्जस्ती लिएर गएको आरोपमा गाउँपालिकाले मिथिलेश यादव, तेजनारायण यादव, रामनाथ यादव र सुप्रविण यादवविरुद्ध सरकारी सम्पत्ति हिनामिना, लुटपाटसम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता गरायो । प्रहरीले मिथिलेश यादवलाई पक्राउसमेत गर्‍यो । यही निहुँमा जनमत पार्टीले सिरहा जिल्ला अनिश्चितकाल बन्द घोषणा गर्दै राजमार्ग केन्द्रित आन्दोलन थाल्यो । स्थिति नियन्त्रणमा लिन प्रशासनले निषेधाज्ञासमेत लगाउनुपरेको थियो ।

स्थानीय तह निर्वाचन सुरक्षा र बन्दोबस्ती व्यवस्थापनसम्बन्धी छलफलका लागि गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा बुधबार बसेको केन्द्रीय सुरक्षा समिति बैठकमा सुरक्षा निकाय प्रमुखहरूले जनमत पार्टी चुनौती बन्दै गएकाले बेलैमा सम्बोधन गर्नुपर्ने सुझाव दिएका थिए । स्रोतका अनुसार प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बैठकमा राउतका गतिविधि चुनौतीपूर्ण बन्न थालेको ब्रिफिङ गरेका थिए । हरेक साता बस्ने राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय बैठकमा पनि चारवटै सुरक्षा निकायका अधिकारीले जनमत पार्टीको गतिविधि गम्भीर रूपमा लिनुपर्ने बताउने गरेका छन् ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेल जनमत पार्टीका गतिविधिलाई सूक्ष्म रूपमा हेरिरहेको बताउँछन् । ‘शान्तिपूर्ण रूपमा गतिविधि गर्न सबैले पाउँछन्, जनमत पार्टीले कानुनले दिएका सीमाभित्र बसेर आफ्ना कार्यक्रम गर्न पाउँछ तर कानुन उल्लंघन गरेर कसैले हिंसा र तोडफोड गर्छ भने कानुनअनुसार कारबाही हुन्छ,’ उनी भन्छन् । कान्तिपुर दैनिक बाट ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार