देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राजस्व संकलनको लक्ष्य पूरा गर्न अर्थ मन्त्रीको निर्देशन

0

काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न निर्देशन दिएका छन् ।

सोमबार अर्थ मन्त्रालयका सचिव, आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक, भन्सार तथा आन्तरिक राजस्व कार्यालयका प्रमुख लगायतको उपस्थितिमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन् ।

कोभिड–१९ ले सिर्जना गरेका चूनौतीको सामना गर्दै राजस्व संकलनको लक्ष्य पूरा गर्न कुनै सम्झौता नगर्ने उनले बताए । नियतवश त्रुटि, कमजोरी गर्ने र असल मनसायबाट बिचलित हुने कर्मचारी लगायत जो कोहीलाई पनि नछोड्ने उनले बताए ।

चालू आर्थिक वर्षमा सरकारले १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । आइतबारसम्म २ खर्ब ४७ अर्ब राजस्व संकलन भएको छ ।

अर्थमन्त्री पौडेलले कोभिडका कारण ‘ब्याक गेयर’ लगाएर राजस्वको लक्ष्य निर्धारण गरिएको भन्दै चालू आर्थिक वर्ष सकिदा धेरैलाई सम्मान गर्ने वातावरण बनाउन निर्देशन दिए । अर्थमन्त्री पौडेलले परिणाम निकाल्ने गरी काम गर्नका लागि कर्मचारीको व्यक्तित्व विकास र क्षमता अभिवृद्धिमा विशेष जोड दिने उल्लेख गर्दै आपसी प्रतिष्पर्धा गरेर काम गर्न पनि अनुरोध गरे ।

कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुङ्नाले राम्रो काम गर्नेलाई मन्त्रालयले संरक्षण तथा पुरस्कृत गर्ने र कार्य सम्पादन कमजोर भए मन्त्रालय कठोर बन्ने बताए । राजस्व सचिव रामशरण पुडासैनीले चुहावट नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गर्दै लगानीलाई प्रोत्साहन गर्ने गरी काम गर्न अनुरोध गरे ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार