देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राप्रपा महाधिवेशन आजबाटः अध्यक्षका लागि थापा र लिङ्देन मैदानमा

0

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि आजबाट महाधिवेशन सुरु हुँदै छ । राप्रपाको एकता महाधिवेशन नाम दिइएको यस महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन मैदानमा उत्रिएका छन् ।

राप्रपाको संशोधित विधानअनुसार केन्द्रीय समिति १ सय ९९ सदस्यीय हुनेछ ।आजबाट तीन दिनसम्म चल्ने महाधिवेशनमार्फत भने राप्रपाले १ सय ४९ जनालाई मात्रै निर्वाचनमार्फत केन्द्रीय समितिमा चयन गर्नेछ ।

राप्रपा विधानमा ७५ प्रतिशत पदाधिकारी निर्वाचनबाट चुनिनेगरी विधान संशोधन गरिएको हो । राप्रपा नेता मोहन श्रेष्ठका अनुसार यसअघि अध्यक्ष चुन्न मात्रै मतदान हुने गरेकोमा यसपटकबाट भने अध्यक्षसहित तीन उपाध्यक्ष र तीन जना महामन्त्रीसहित १ सय ४९ जना चुन्न निर्वाचन हुन लागेको हो ।

राप्रपा विधानमा केन्द्रीय समितिमा अध्यक्ष, ६ जना उपाध्यक्ष, ६ महामन्त्री, एक जना कोषाध्यक्ष, प्रवक्ताहरू, सात जना सहमहामन्त्री, सात जना सहायक महामन्त्री र एक जना सहायक कोषाध्यक्षसहित १ सय ९९ सदस्यीय कार्यसमिति हुने उल्लेख छ । जसमध्ये अध्यक्ष, एक महिलासहित तीन जना उपाध्यक्ष, एक महिलासहित तीन महामन्त्री निर्वाचनबाट चयन हुने नेता श्रेष्ठले जानकारी दिएका हुन् ।

उनका अनुसार राप्रपाको इतिहासमा अध्यक्षबाहेकका पदाधिकारी चयनका लागि निर्वाचन हुन लागेको यो पहिलोपटक हो । निर्वाचनबाट चयन हुने केन्द्रीय सदस्यमध्ये ३३ प्रतिशत अर्थात् ४९ जना भने महिला रहनेछन् । बाँकी १ सय जना भने पुरुष हुनेछन् ।

राप्रपाले जाति र क्षेत्रका आधारमा पनि केन्द्रीय समितिमा आरक्षण दिएको छ । निर्वाचनबाट चयन हुने केन्द्रीय सदस्यमध्ये खुलातर्फ ५८ जना, आदिवासी जनजाति १४ जना (आठ पुरुष र ६ महिला), मधेसी ११ जना (६ पुरुष, ५ महिला), उत्पीडित तीन जना (दुई पुरुष एक महिला), कर्णाली तथा पिछडिएको क्षेत्र दुई जना (एक महिला एक पुरुष) मुस्लिम तीन जना (दुई पुरुष एक महिला), थारु दुई जना (एक पुरुष एक महिला) र प्रवासबाट दुई जना निर्वाचित हुनेछन् ।

संसोधित विधानलाई पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले पारित गरिसकेको छ भने महाधिवेशनबाट सो संशोधित विधान अनुमोदन गर्ने राप्रपाको तयारी छ ।

लोहनीको समर्थन लिङ्देनलाई
राप्रपाको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्षमध्येका एक अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजेन्द्र लिङ्देनलाई समर्थन गरेका छन् । महाधिवेशनको अघिल्लो दिन मंगलबार लोहनीले जमलस्थित एल्लो प्यागोडा होटलमा आयोजित कार्यक्रमार्फत नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन अध्यक्ष कमल थापा र पशुपतिशमशेर जबरालाई आग्रहसमेत गरे ।

‘अब नयाँ नेतृत्वलाई काम गर्न मौका दिऊँ, म अध्यक्षद्वय कमल थापा र पशुपतिशमशेर जबरालाई नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन पनि आग्रह गर्छु,’ लोहनीले भने । अध्यक्ष थापाले भने सोमबार मात्रै राष्टिय सभा गृहमा आयोजित कार्यक्रममार्फत उम्मेदवारी घोषणा गरेका थिए ।राजधानी दैनिक बाट ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार