देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए सोनाम ल्होसारको शुभकामना

0

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिएकी छिन्।

राष्ट्रपति भण्डारीले यस प्रकारका चाडपर्वले हाम्रो मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै मौलिक पहिचान अभिवृद्धि गर्नसमेत सहयोग पुर्‍याइरहेको बताइन्।

मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ-आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले तामाङ सेलो गीत तथा टुङ्ना र डम्फुको सङ्गीत नेपालका सम्पूर्ण जातजातिको लोक भाकाको अभिन्न अंग बनेको बताए। उनले भाषा, संस्कार र संस्कृतिमा तामाङ समुदाय समृद्ध रहेको बताए।

काठमाडौं उपत्यका आसपासका तामाङ समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रीतिरिवाज, वेशभूषासहितको छुट्टै पहिचान रहेको स्मरण गर्दै उनले सोनाम ल्होसारले सम्पूर्ण नेपालीका बीच आपासी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गरे।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष गरी तामाङ जातिले परापूर्वकालदेखि मान्दै आएको ‘सोनाम ल्होसार’ अर्थात् नयाँ वर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायका नागरिकमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरे।

प्रधानमन्त्री देउवाले सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नो विशिष्ट पहिचान रहेको उल्लेख गर्दै यी पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै आएको बताए।

उनले कोभिड-१९ नियन्त्रणका लागि अवलम्बन गरिएका रणनीति प्रभावकारी देखिए पनि कोभिड-१९ को जोखिम कायमै रहेकाले जनस्वास्थ्य मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार