देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रपति बाइडनद्वारा कैयन् कार्यकारी आदेशमा हस्ताक्षर

0

काठमाडौं – अमेरिकाका राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्ध युद्धस्तरमा काम गर्न कैयन् कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

कोरोना भाइरसको महामारीले आक्रान्त बनेको अमेरिकामा कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यमा तीव्रता ल्याउने, परीक्षण बढाउने तथा आवश्यक सामग्रीको उत्पादन वृद्धि गराउने घोषणा राष्ट्रपति बाइडनले गरेका छन् ।

अमेरिकाको ४६ औँ राष्ट्रपति नियुक्त भएको भोलिपल्ट बाइडनले यी घोषणा गरेका हुन् । उनले द्वितीय विश्वयुद्धमा भन्दा धेरै अमेरिकी नागरिकको ज्यान कोभिडले लिइसकेको उल्लेख गरेका थिए ।

मास्क जस्ता अत्यावश्यक सामग्रीको उत्पादन बढाउन आपतकालीन कानुनहरू ल्याइने बताइएको छ । यसक्रममा १० वटा उपायहरूको घोषणा गर्दै बाइडनले महामारी नियन्त्रण गर्न महिनौँ लाग्ने तर यदि मानिसहरू एकताबद्ध भए अमेरिकाले यसलाई परास्त गर्ने बताए ।

ट्रम्प प्रशासनले महामारी नियन्त्रणमा बेवास्ता गरेको आरोपहरू लागेका थिए । सो प्रशासनको नीतिभन्दा बेग्लै बाइडन प्रशासनले महामारीसँग जुझ्न राज्यहरूमा भर पर्नु भन्दा एउटा राष्ट्रियस्तरको रणनीति अख्तियार गर्ने देखिएको छ ।

बाइडनले घोषणा गरेका कैयौँ उपायहरू कार्यान्वयन गर्न आवश्यक स्रोतको व्यवस्था उनले गत साता सार्वजनिक गरेको १.९ ट्रिलियन डलरको राहत प्याकेजमा राखिएको छ । सो प्याकेज पारित गर्न उनलाई सिनेट तथा प्रतिनिधिसभाको सहयोग आवश्यक पर्छ ।

उनको पछिल्लो घोषणामा अबको १०० दिनमा स्कूलहरू सुरक्षित खोल्ने, अनि रङ्गशाला तथा सामुदायिक संरचनाहरूमा खोप केन्द्र स्थापना गर्नुपनि रहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार