देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रपति भण्डारीद्वारा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

0

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त अध्यादेश जारी गरेको जनाकारी गराएका हुन् ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहनेछन् ।

प्रधानमन्त्रीले सोमबार बोलाएको संवैधानिक परिषदको बैठक कोरम नपुगेर स्थगित भएको थियो । त्यसपछि मंगलबार बिहान बोलाएको बैठक पनि सभामुख अग्नि प्रसाद सापकोटा अनुपस्थित भएपछि कोरम नपुगेकै कारण स्थगित भएको थियो ।

प्रधानमन्त्री ओलीले आजै साँझ ५ बजेका लागि पुन: परिषद्को बैठक राखेका छन् । दोस्रो पटक बोलाएको बैठक कोरम नपुगेर स्थगित भएकै दिन बसेको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषद सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

संवैधानिक परिषद् बैठक बस्न अध्यक्ष र अन्य ४ जना उपस्थित हुनुपर्ने व्यवस्था छ । हाल उपसभामुख पद रिक्त छ भने सभामुख अग्नि सापकोटा बैठकमा अनुपस्थित रहँदै आएका छन् ।

गणपुरक संख्या पुर्‍याउन नसकेपछि प्रधानमन्त्री ओलीले अध्यादेशबाट बाटो फुकाएका हुन सक्ने अनुमान गरिएको छ । अध्यादेशमा के छ भन्ने विषय सार्वजनिक भइसकेको छैन ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार